close

टिकाउ ब्याट्री भएका नयाँ ग्यालेक्सी स्मार्टवाच सार्वजनिक, ईसीजीदेखि ज्वरो नाप्नेसम्मका फिचर

टेकपाना टेकपाना

साउन २५, २०७९ २०:४६

टिकाउ ब्याट्री भएका नयाँ ग्यालेक्सी स्मार्टवाच सार्वजनिक, ईसीजीदेखि ज्वरो नाप्नेसम्मका फिचर

सामसङले २७९.९९ अमेरिकी डलर मूल्य पर्ने ग्यालेक्सी वाच फाइभ र ४४९.९९ अमेरिकी डलर मूल्यको ग्यालेक्सी वाच फाइभ प्रो सार्वजनिक गरेको छ । कम्पनीले बुधबारको अनप्याक्ड इभेन्टमार्फत यी स्मार्टवाच बजारमा ल्याएको हो ।

ग्यालेक्सी वाच फोरमा कम टिकाउ ब्याट्री राखेको भन्दै आलोचना व्यक्त भएपछि कम्पनीले त्यसलाई मध्यनजर गर्दै ठूलो ब्याट्री, फास्ट चार्जिङ र थप मजबुत डिजाइनका साथ यो नयाँ स्मार्टवाच तयार पारेको छ । जसमा इन्ट्री लेभलको फ्ल्यागशिप स्मार्ट वाच ग्यालेक्सी फाइभ र प्रिमियम भर्सनको रूपमा ग्यालेक्सी वाच फाइभ प्रो रहेको छ ।

ग्यालेक्सी वाच फाइभ ४० एमएम र ४४ एमएम रहेको छ भने प्रो मोडेल ४५ एमएम आकारमा छ । सबै घडीमा १.१८ गिगाहर्ज एक्सिनस डब्लू ९२० प्रोसेसर, १.५ जीबी र्‍याम र १६ जीबी स्टोरेज रहेको छ । ग्यालेक्सी वाच फाइभ लाइनअपमा सुधारिएको ‘थ्री-इन-वन बायो एक्टिभ सेन्सर’ राखिएको छ ।

जसले ईसीजी, मुटुको चाल, शरीर संयोजनको विश्लेषण सम्भव तुल्याएको छ । सामसङका अनुसार सुधारिएको सेन्सरमा निन्द्रा ट्र्याक गर्ने फिचरलाई थप उन्नत बनाएको छ । साथै यसबाट ‘कन्ट्याक्टलेस पेमेन्ट’ (सम्पर्क रहित भुक्तानी), वैकल्पिक एलटीई, ब्लुटुथ ५.२ र वाई-फाई समेत प्राप्त  गर्न सकिन्छ ।

दुवै घडीमा ५ एटीएम र आईपी ६८ धुलो तथा पानी प्रतिरोधात्मक फिचर रहेको छ । यस पटक सामसङको स्मार्ट वाचमा शरीरको तापक्रम नाप्न सकिने सेन्सर समेत उपलब्ध छ । जसबाट निन्द्रा ट्र्याक गर्न अतिरिक्त डेटा प्राप्त हुने बताइएको छ ।

साथै यो सेन्सरले डेभलपरका लागि स्वास्थ्य तथा तन्दुरुस्तका नयाँ फिचरमा काम गर्न थप विकल्प समेत प्रदान गर्नेछ । ४० एमएमको वाच फाइभमा १८ प्रतिशत ठूलो २८४ एमएएच क्षमताको ब्याट्री र ४४ एमएममा ४१० एमएएचको ब्याट्री छ ।

जसबाट एक पटकको चार्जमा घडी करिब ४० घण्टासम्म चल्न सक्छ । प्रो भर्सनमा अझै ठूलो ५९० एमएएचको ब्याट्री राखिएको छ । जसबाट एक पटकको चार्जमा ८० घण्टा वा नियमित जीपीएस प्रयोग गर्दा २० घण्टाको ब्याकअप प्राप्त हुनेछ ।

ब्याट्री क्षमतासँगै सामसङले चार्ज हुन लाग्ने समयमा समेत सुधार गरेको छ । कम्पनीको दाबी अनुसार केवल ३० मिनेटमा ४५ प्रतिशत चार्ज गर्न सकिनेछ । साथै केवल ८ मिनेटमा ८ घण्टा टिक्ने गरी ब्याट्री चार्ज हुने बताइएको छ ।

यद्यपि लगातार डिस्प्ले चालु अवस्थामा राख्दा र गुगल असिस्टेन्स सक्रिय अवस्थामा रहँदा ब्याट्री कति समयसम्म टिक्न सक्छ भन्ने कुरा हेर्न बाँकी छ । त्यस्तै डिजाइन तर्फ थप डिकाउ नीलमणि क्रिस्टल डिस्प्ले र पछाडि तर्फको घुमाउरो भागमा ‘थ्रि-इन-वन’ (एउटैमा तीन ओटा) सेन्सर दिइएको छ, जसले नाडीको छालासँग थप राम्रोसँग सम्पर्क कायम गर्दछ ।

वाच फाइभ सिरिजमा वन यूआई वाच ४.५ सहित उपलब्ध हुनेछ । जसले गर्दा अझ राम्रो टाइपिङ गर्न सकिने सतह, दुई ओटासम्म सिम प्रयोग गर्न मिल्ने सुविधा रहनेछ । वेयर ओएस थ्रीमा आउने साउन्ड क्लाउड र डिजर जस्ता एपका साथै यसमा गुगल म्यापका लागि भ्वाइस नेभिगेसन समेत प्रयोग गर्न सकिनेछ ।

ग्यालेक्सी वाच फाइभ र वाच फाइभ प्रो दुवैका लागि आजदेखि नै प्रि-अर्डर सुरु भइसकेको छ भने २६ अगस्टदेखि त्यसको वितरण थालिनेछ । मूल्यको कुरा गर्ने हो भने वाच फाइभ २७९.९९ अमेरिकी डलरबाट सुरु हुन्छ भने प्रोको मूल्य ४४९.९९ अमेरिकी डलरमाथि रहेको छ ।

यसका साथै एलटीई भर्सनका लागि थप ५० अमेरिकी डलर तिर्नुपर्नेछ । दुवै घडीहरूका लागि ‘ब्लुटुथ-अन्ली गल्फ एडिसन’ समेत रहेका छन्, जसको मूल्य ३२९.९९ अमेरिकी डलरबाट सुरु हुन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३