close

सामसङले ल्यायो फेसनयुक्त नयाँ फ्लिप फोन, केके छन् फिचर अनि कति छ मूल्य ?

टेकपाना टेकपाना

साउन २५, २०७९ २१:२१

सामसङले ल्यायो फेसनयुक्त नयाँ फ्लिप फोन, केके छन् फिचर अनि कति छ मूल्य ?

काठमाडौं । सामसङले फेसनेबल प्रयोगकर्तालाई लक्षित गर्दै आधा आकारमा खुम्च्याउने मिल्ने नयाँ स्मार्टफोन बजारमा ल्याएको छ । कम्पनीले बुधबारको अनप्याक्ड इभेन्टमार्फत ग्यालेक्सी फ्लिप फोर स्मार्टफोन सार्वजनिक गरेको हो ।

पछिल्लो फोल्डेबल फोनमा अघिल्लो भन्दा ठूलो ब्याट्री, अपग्रेड गरिएको क्यामेरा हार्डवेयर र थप मजबुत डिस्प्ले जस्ता परिवर्तन देख्न सकिन्छ । यसका साथै हाल केही नयाँ कलर भेरियन्ट समेत थपिएका छन् ।

तर यदि तपाईँले फ्लिप फोनको मूल्य केही सस्तो हुने अपेक्षा गर्नु भएको छ भने नराम्रो खबर छः अहिलेको फोनका लागि तपाईँले कम्तिमा ९९९ अमेरिकी डलर तिर्नुपर्नेछ । फोल्डेबल फोन मध्येमा केही सस्तो भए पनि सामान्य स्मार्टफोनको मूल्यको दाँजोमा भने यो महँगो नै हो ।

फ्लिप फोरमा आठ जीबी र्‍यामसँगै जोडिएको स्न्यापड्रागन ८ प्लस जेन वन राखिएको छ । जुन चाहिँ तपाईँले यसै बर्ष बजारमा आएका प्रायः हरेकजसो स्मार्टफोनमा देख्न सक्नुहुन्छ ।

हिन्ज केही पातलो भएको छ र यस अघिभन्दा घुमाउरो किनारामा सुधार देख्न सकिन्छ, जसले दुई मिलिमिटर जति उचाइ र चौडाइ जोगाउँछ । तर दुई डिस्प्ले जोडिने स्थानको मोटाइ भने उस्तै १७.१ एमएमकै छ । त्यसैगरी फोन फोल्ड गर्दा बीचमा देखिने खाली भाग पनि पहिलेकै जस्तो समान आकारकै छ ।

फोनको मुख्य स्क्रिन अधिकतम १२० हर्ज रिफ्रेश रेटसहित ६.७ इन्च आधारको छ भने अल्ट्रा थिन ग्लासले गर्दा ४५ प्रतिशत मजबुत बनेको दाबी गरिएको छ । फोनमा आईपीएक्स ८ को वाटर रेसिस्टेन्स पाउन सकिन्छ ।

यसका साथै फोनको कभरमा १.९ इन्चको अर्को डिस्प्ले छ, जुन सानै महसुस हुन्छ । यद्यपि कभर स्क्रिनमा प्रयोग गर्न सकिने सुविधा भने थपिएका छन् । जसमा तपाईँले स्मार्ट होम कन्ट्रोल, मेसेजको रिप्लाई, सामसङ वालेटमा पहुँच लगायत पाउन सक्नुहुनेछ ।

यसका साथै कभर स्क्रिनमा सेल्फीको प्रिभ्यु समेत हेर्न सकिनेछ । गत वर्ष ३३०० एमएएच क्षमताको ब्याट्री राखिएकोमा यस पटक भने ३७०० एमएएचमा विस्तार भएको छ । जुन दिनभरका लागि पर्याप्त हो ।

फोनमा १५ देखि २५ वाटको फास्ट चार्जर र १० वाटको वायरलेस चार्जिङ सपोर्ट दिइएको छ । फोनको मेन क्यामेरा हार्डवेयरमा समेत केही अपग्रेड देख्न सकिन्छ । फोनमा १२ मेगापिक्सेलकै चिप भए पनि सेन्सर  भने ठूलो छ ।

साथै पिक्सेल समेत बढी नै छ । फोनमा तपाईँले अप्टिकल स्टेबलाइजेसन समेत पाउन सक्नुहुन्छ । फोनमा १२ मेगापिक्सेलको अल्ट्रा वाइड र १० मेगापिक्सेलको सेल्फी क्यामेरा दिइएको छ ।

आजदेखि प्रि-अर्डर सुरु भएको यो फोन २६ अगस्ट देखि बजारमा उपलब्ध हुनेछ । बोरा पर्पल, ग्रेफाइट, पिङ्क-गोल्ड र ब्लु कलर भेरियन्टमा आएको यो फोनको मूल्य ९९९ अमेरिकी डलर (करिब एक लाख २७ हजार रुपैयाँ) माथि छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३