close

थन्क्याएर राखिएका विद्युतीय बस दशैँअगावै सञ्चालनमा आउने

टेकपाना टेकपाना

साउन २६, २०७९ ७:५८

थन्क्याएर राखिएका विद्युतीय बस दशैँअगावै सञ्चालनमा आउने

काठमाडौं । वर्षौंदेखि लुम्बिनीमा थन्काएर राखिएका विद्युतीय बस दशैँअगावै सञ्चालनमा आउने भएका छन् । लुम्बिनी विकास कोषका अनुसार दशैँअघि नै विद्युतीय गाडी सञ्चालन गर्ने गरी आवश्यक तयारी भइरहेको छ ।

विद्युतीय बस सञ्चालन गर्न बनेको कार्यदलले अहिले आफ्नो कामलाई तीव्रता दिएसँगै बस सञ्चालनको आशा पलाएको हो ।

कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई (सिद्धिचरण)को संयोजकत्वमा विद्युतीय गाडी सञ्चालनसम्बन्धी कार्यविधि बनाउने र यसबारे प्रतिवेदनसमेत पेस गर्ने गरी जेठ १९ गते कार्यदल बनाइएको कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए ।

अहिले बौद्ध परिपथमा विद्युतीय बस कसरी सञ्चालन गर्ने, चार्जिङ स्टेसन कहाँ राख्ने, कुन मोडेलमा सञ्चालन गर्नेलगायतका विषयमा छलफल भइरहेको उनले बताए ।

विद्युतीय बस कोषलाई हस्तान्तरण भए पनि अहिले पनि पर्यटन मन्त्रालयकै नाममा रहेको र यसलाई कोषको नाममा नामसारी गराउने प्रक्रिया पनि अगाडि बढाइएको छ ।

“अहिले बसको नम्बर प्लेटको विषयमा अन्योल छ,” शाक्यले भने, “बसमा हरियो नम्बर प्लेट, कालो नम्बर प्लेट अथवा अन्य राख्ने विषयमा छलफल भइरहेको छ ।”

त्यस्तै बस कोषले आफैँ सञ्चालन गर्ने कि तेस्रो पक्षलाई सञ्चालन गर्न दिने भन्ने विषय पनि छलफलकै क्रममा रहेको उनले बताए ।

कार्यदलका संयोजकसमेत रहेका कोषका कोषाध्यक्ष भट्टराईले कार्यदलले यी सबै विषयमा कार्यविधि बनाई प्रतिवेदन पेस गर्ने बताए ।

उनले जिम्मेवारी प्राप्त गरेदेखि नै समितिले काम सुरु गरेको बताउँदै भदौको पहिलो सातासम्म प्रतिवेदन र कार्यविधि बोर्डलाई बुझाउने जानकारी दिए ।

“कार्यदलले विद्युतीय बसको अवस्था बुझ्ने काम गरेको छ,” उनले भने, “पाँचवटा भ्यान र पाँचवटा बस समयसमयमा सञ्चालन भएकाले ठीक अवस्थामा छन्, बाँकी नौवटा भ्यानको ब्याट्री डाउन भएको छ ।”

समस्या रहेका बसको विषयमा आपूर्तिकर्तालाई मर्मतका लागि जानकारी गराएको उनले बताए ।

कार्यदलले विद्युतीय बस बौद्ध परिपथमा र भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलदेखि लुम्बिनीसम्म बस सञ्चालन गरिन सक्ने सम्भावना देखेको छ ।

त्यसैअनुसार भदौ पहिलो हप्ता प्रतिवेदन बुझाउने र ढिलोमा घटस्थापनाको दिनमा सञ्चालनमा ल्याउने तयारी रहेको भट्टराईले जानकारी दिए ।

एसियाली विकास बैङ्क (एडीबी)को सहयोगमा लुम्बिनी आउने पर्यटकको सुविधाका लागि कोषलाई १४ वटा विद्युतीय भ्यान र पाँचवटा विद्युतीय बस प्राप्त भएको थियो ।

एडीबीको अनुदान सहयोगमा क्लिन इनर्जी प्रोजेक्टअन्तर्गत १३ करोड लागतमा बस र ट्याक्सी लुम्बिनी ल्याइएको हो । नेपाल सरकारले साढे तीन करोड रुपियाँ भन्सार शुल्क बेहोरेको छ ।

लुम्बिनीलाई विभिन्न बुद्धस्थल तिलौराकोट, रामग्राम र देवदहसँग जोड्न र त्यहाँ आवतजावतका लागि सजिलो बनाउन यी बस र भ्यान ल्याइएका हुन् ।

अत्याधुनिक बसमा १९ सिट छन् भने उभिएर यात्रा गर्दा ३५ जना अटाउँछन् । ट्याक्सीमा भने पाँच सिट छन् । पूर्ण वातानुकूलित बस अपाङ्गमैत्री छ भने स्वचालित ढोका छन् । एक पटक फुल चार्ज गरे चार सय किलोमिटरसम्म गुड्छ ।

-गाेरखापत्र

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३