close

फोनमा उपलब्ध सेन्सरबाट चल्ने उपयोगी यी ५ एन्ड्रोइड एप

टेकपाना टेकपाना

साउन २६, २०७९ ११:३९

फोनमा उपलब्ध सेन्सरबाट चल्ने उपयोगी यी ५ एन्ड्रोइड एप

काठमाडौं । फोनमा भएका सेन्सरले स्मार्टफोनलाई विभिन्न काममा सघाई रहेका हुन्छन् । फोन कल उठाएर कानमा पुर्‍याउँदा स्क्रिन स्वतः बन्द हुने ‘प्रोक्सिमिटी’ सेन्सरदेखि तपाईंको औंलाले छुनासाथ लक खुल्ने ‘फिङ्गरप्रिन्ट’ सेन्सरसम्म अनेकौं सेन्सर समावेश हुन्छन् ।

मोबाइल प्रयोगलाई प्रभावकारी बनाउने त्यस्ता सेन्सरलाई लक्षित गरेर  कतिपय एप उपलब्ध छन् । त्यसैले आज हामी यहाँ तपाईंहरूलाई फोनमा हुने विभिन्न सेन्सर उपयोग हुने एन्ड्रोइड एपको बारेमा जानकारी दिँदैछौं ।

सेन्सर टुलबक्स

सेन्सर टुलबक्समा थुप्रै टुलहरू हुन्छन् जसले डिभाइसमा भएका सेन्सर जाँच गर्न सघाउँछन् । यदि तपाईं कुनै पनि सेकेन्ड ह्याण्ड फोन खरिद गर्दै हुनुहुन्छ भने सेन्सर टुलबक्स तपाईंका लागि बढी उपयोगी हुन्छ । यसले कुन सेन्सरले कस्तो काम गरिरहेको छ भन्ने जानकारी दिन्छ ।

सेन्सर टुलबक्सले चार्ट मार्फत विभिन्न सेन्सरको डेटा देखाउँछ । जस्तै क्यामेरा, जिपिएस, माइक्रोफोन, अटो रोटेसन, लाइट, गाइरोस्कोपको कार्यक्षमता यसैबाट हेर्न सकिन्छ ।

यो एप डाउनलोड गर्नका लागि यहाँ क्लिक गर्नुहोस् वा प्लेस्टोरमा गई ‘सेन्सर टुलबक्स’ सर्च गरेर इन्स्टल गर्न सकिन्छ।

एल्टिमिटर

एल्टिमिटर एउटा त्यस्तो एप हो जसले तपाईंले बोकी रहेको फोन कति उचाइमा छ भन्ने कुराको जानकारी दिन्छ । यो कुनै ठाउँमा यात्रा गर्दा उपयोगी हुने एप हो । यो एपले जीपीएस प्रयोग गरी समुन्द्र सतहभन्दा कति उचाइ माथि हुनुहुन्छ भन्ने कुराको जानकारी दिन्छ । यो एपको विड्जेट तपाईंले मोबाइलको होम स्क्रिनमा राख्न सक्नुहुन्छ ।

यो एप डाउनलोड गर्नका लागि यहाँ क्लिक गरेर वा प्ले स्टोरमा ‘एल्टिममिटर’ सर्च गरेर इन्स्टल गर्न सक्नुहुन्छ ।

जीपीएस स्पीडोमिटर

जीपीएस स्पीडोमिटरले तपाईं कति दूरी कति समयमा पार गर्नुभयो भन्ने कुराको जानकारी दिन्छ । यदि तपाईंको कार वा बाइकको स्पीडोमिटर बिग्रेको छ भने यो एप तपाईंकालागि उपयोगी हुन्छ । यो एपले फोनमा भएको जीपीएस सेन्सर प्रयोग गरी रियल टाइममा कति दूरी कति समयमा पार भयो देखाउँछ ।

यो एपमा तपाईंले तय गरेको सर्वाधिक गति हेर्न मिल्नुका साथै तपाईंले तय गरेको कूल दूरी पनि हेर्न सक्नुहुन्छ । यो एपको विड्जेट पनि रहेको छ । जसलाई फोनको होम स्क्रिनमा राखेर प्रयोग गर्न सकिन्छ ।

‘जीपीएस स्पीडोमिटर’ डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्, वा प्ले स्टोरमा गइ ‘जीपीएस स्पीडोमिटर’ सर्च गर्न सक्नुहुन्छ ।

कम्पास

कम्पास अहिलेको समयमा निकै उपयोगी एप हो । पछिल्लो समय बजारमा आएका प्रायः स्मार्टफोनमा कम्पास एप प्रि-इन्स्टल भएर आएको हुन्छ ।

यो एपले विशेषगरी विभिन्न दिशा पहिचान गर्न सघाउँछ । कम्पासले जीपीएस, म्याग्नेटिक र विभिन्न सेन्सर प्रयोग गरी निर्देशांकमा दिशा देखाउँछ । तपाईंको डिभाइसमा भएको जीपीएस लोकेसन र सेन्सर प्रयोग गरी यो एपले निर्देशांकको विवरण (जस्तै उचाई, दूरी र दिशा) दिन्छ ।

यस्ता एपको माध्यबाट तपाईंले विभिन्न शहर तथा स्थानबारे जानकारी लिन सक्नुहुन्छ । कम्पास एप कतिपय डिभाइसमा पहिले नै इन्स्टल भएर आएको हुन्छ भने कतिपयका लागि पुनः इन्सटल गर्नुपर्ने हुन्छ । कम्पास एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

लक्स लाइट मिटर प्रो

तपाईंको एन्ड्रोइड फोनमा लाइट इन्टेन्सिटी मापन गर्न सक्ने सेन्सर रहेको हुन्छ । ‘लक्स लाइट मिटर प्रो’ ले सो सेन्सर प्रयोग गरी तपाईंको वरपर भएको प्रकाशको स्थिति मापन गर्छ । त्यस्तै तपाईंले यो एपको माध्यमबाट आफ्नो फोनमा उच्चतम् ब्राइटनेस र न्यूनतम ब्राइटनेस मापन गर्न सक्नुहुन्छ ।

यदि तपाईंको फोनमा भएको अटो ब्राइटनेसको फिचरले काम गरेको छैन भने तपाईँका लागि यो एप सहयोगी हुन्छ । यो एप प्ले स्टोरबाट इन्सटल गर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३