close

चार्जरमा युरोपलाई पछ्याउँदै भारत, सबै डिभाइसमा टाइप–सी पोर्ट अनिवार्य गरिँदै

टेकपाना टेकपाना

साउन २६, २०७९ १२:३४

चार्जरमा युरोपलाई पछ्याउँदै भारत, सबै डिभाइसमा टाइप–सी पोर्ट अनिवार्य गरिँदै

काठमाडौं । भारत सरकारले सबै डिभाइसमा एउटै चार्जर प्रयोगमा ल्याउने विषय अघि बढाएको छ । त्यसका लागि आउँदो बुधबार भारतको उपभोक्ता मामिला मन्त्रालयले मोबाइल निर्माता कम्पनी तथा सम्बन्धित संस्थाहरूसँग छलफल गर्ने भएको हो ।

हाल बजारमा स्मार्टफोन, ट्यावलेट तथा अन्य इलेक्ट्रिक डिभाइसमा ब्राण्ड अनुसार फरक–फरक चार्जर उपलब्ध छन् । यस्तोमा विद्युतीय फोहोर (ई–वेस्ट) लाई व्यवस्थापन गर्ने तथा सबै डिभाइसमा प्रयोगकर्ताको पहुँचलाई सहज बनाउन मद्दत पुग्ने भन्दै भारतले सबै डिभाइसमा यूएसबी–सी पोर्ट अनिवार्य गर्न सकिन्छ की भनेर छलफल गर्ने भएको हो ।

यसअघि युरोपेली संघ (ईयू) ले सदस्य देशहरूमा बिक्री हुने सबै प्रकारका फोनमा यूएसबी–सी पोर्ट अनिवार्य गरेको थियो । ईयुको सोही कदमलाई पछ्याउँदै भारतले पनि सेवा सम्बन्धित निकायसँग छलफल गर्न लागिएको उल्लेख छ ।

ईयुले संघका सदस्य राष्ट्रहरूले संघभित्र बिक्री हुने सबै प्रकारका स्मार्टफोनमा सन् २०२४ भित्र अनिवार्य यूएसबी–सी पोर्ट प्रयोगमा ल्याउनुपर्ने नियम लागू गरेको छ । त्यो सँगै लाइटनिङ पोर्ट उपलब्ध गराउँदै आएको एप्पलले समेत आफ्ना आईफोनमा टाइप–सी पोर्ट प्रयोग गर्नुपर्ने भएको छ ।

ईयुको यो नियम स्मार्टफोनहरूलाई मात्र नभई अन्य विद्युतीय उपकरण ट्याब्लेट, डिजिटल क्यामेरा, हेडफोन, ई–रिडर लगायतले चार्जिङ पोर्टका रूपमा यूएसबी टाइप–सी पोर्ट अनिवार्य गरिएको छ ।

त्यतिमात्र नभई युरोपेली संघका देशमा बिक्री हुने हरेक ब्राण्डका ल्यापटपमा त्यसभन्दा पछिका दिनहरूमा यूएसबी–सी पोर्ट अनिवार्य हुनेछ ।

यस विषयमा संघले करिब एक दशकदेखि आवश्यक छलफल तथा अध्ययन गरिरहेको थियो । उपभोक्तालाई विभिन्न डिभाइसका लागि फरकफरक चार्जर प्रयोग गर्न असहज भएका कारण सबै डिभाइसमा एउटै चार्जर प्रयोग गर्नुपर्ने नियम संघले बनाएको थियो ।

यदि भारतले पनि ईयुलाई पछ्याएको खण्डमा भारतमा पनि सबै मोबाइल, ल्यापटप लगायतका इलेक्ट्रिक डिभाइसमा टाइप-सी अनिवार्य हुनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३