close

घुम्दाघुम्दै हराएपछि जन्मिएको ‘विशट्रिप’, पुरै यात्रा नै रेकर्ड गर्न मिल्ने

हिक्मत आचार्य हिक्मत आचार्य

साउन २६, २०७९ १४:४९

घुम्दाघुम्दै हराएपछि जन्मिएको ‘विशट्रिप’, पुरै यात्रा नै रेकर्ड गर्न मिल्ने

काठमाडौं । घुम्न मन नलाग्ने सायदै कोही होला । घुम्नेका पनि आफ्नै रुचि हुन्छन् । कोही समूहमा घुमफिरमा निस्कन्छन् त कोही ‘सोलो ट्राभलर’ बनेर ।

सोलो ट्राभलरहरु एक्लै नयाँ-नयाँ ठाउँ घुम्न बढी रुचि राख्छन् । तर एक्लै घुम्नु समूहमा घुम्नुको तुलनामा अलि असुरक्षित मानिन्छ । तर पनि प्रविधिले एकल यात्रालाई सहज बनाइरहेको छ ।

एकल यात्रीलाई नै लक्षित गरेर कतिपय एप बनेका छन्, जसको प्रयोग यात्राका लागि साथीजस्तै बनिदिन सक्छ ।

खासगरी विकट ठाउँमा जाँदा त्यहाँको यादगार पलहरू सुरक्षित राख्न सघाउने एप बनेको छ ‘विशट्रिप’ । इजरायलका डेभलपरले यो एप निर्माण गरेका हुन् । यसको निर्माणको पछाडि एउटा रोचक कथा पनि जोडिएको छ ।

विशट्रिपका संस्थापक याकोभ स्लुशट्ज एकपटक श्रीमतीसँग अपरिचित ठाउँमा घुम्न गएका थिए । घुम्दै जाँदा उनीहरू बीचमा बाटो भुलेर हराए ।

उनीहरूलाई कहाँ जाने के गर्ने सकस पर्न थाल्यो । आफ्नो फोन झिकेर त्यसबाट लोकेसन पत्ता लगाउन खोजे । तर, परम्परागत जीपीएस प्रविधिले विकट ठाउँमा काम गर्दैनथ्यो ।

लामो समयको खोजपछि उनीहरूले छोटो बाटो पत्ता लगाए । घर पुगेपछि यसका संस्थापकलाई यात्री (ट्राभलर) का लागि किन बाटो पत्ता लगाउने विधि छैन भन्ने प्रश्नले सतायो । त्यही कौतूहलताको परिणाम हो, विशट्रिप ।

विशट्रिप सोलो ट्राभलरलाई नै लक्षित गरेर बनाइएको हो । एक्लै यात्रा गर्न विकट ठाउँमा जानेहरूका लागि यादगार पल कैद गर्न यो एप उपयुक्त हुन्छ ।

टेकपानासँगको कुराकानी यो एपको नेपालका लागि देशीय प्रतिनिधि अमन परियार भन्छन्, ‘आफ्नो गन्तव्यलाई डिजिटलाइज गर्न यो एप उपयुक्त हुन्छ । यसलाई कुनै पनि जिल्ला वा स्थानीय तहले आफ्नो क्षेत्रमा पर्यटन प्रवर्द्धनका लागि उपयोग गर्न सक्छन् ।’

विशट्रिपमा कुनै पनि यात्रीले एक ठाउँबाट अर्को ठाउँमा जाँदा त्यसबीचमा भएका विभिन्न पलहरू भिडिओ, फोटो, आवाज, तथा लेखका रूपमा एउटा ट्रेल (बाटो) बनाएर राख्न सक्छन् ।

आफूले यात्रा गरेको ठाउँको बाटोको नक्सा बनाउने सुविधा भएको यो एपमा सो यात्रा गर्दा कति समय लाग्यो भन्ने नोट गर्न सकिन्छ ।

विशेषगरी कुनै नौलो ठाउँमा एक्लै घुम्न जाँदा बाटोको बारेमा थाहा हुँदैन । कुन बाटो जाँदा कहाँ पुगिन्छ भन्ने कुराको जानकारी पाउन सकिँदैन । त्यस्तो समस्या समाधान गर्न विशट्रिप उपयुक्त विकल्प हुनसक्छ ।

यसमा विभिन्न संस्थाले आफ्नो ठाउँ प्रवर्द्धन गर्न बाटो, त्यहाँ भएका राम्रा ठाउँ, होटेल आदि लिस्ट गरेका हुन्छन् । त्यसैले घुम्न गएका व्यक्तिलाई कहाँ जाने, कताबाट जाने भन्ने कुराको द्विविधा हुँदैन ।

आफूले घुमेका ठाउँको बारेमा कसैलाई जानकारी दिनुपर्‍यो भने पनि यो एपले सघाउँछ । यसमा आफूले यात्रा गरेको बाटो शेयर गर्न सकिने भएकाले आफूले भोगेका पल अरूलाई पठाउन सकिन्छ ।

तर, याद गर्नुहोस् कुनै ट्रेल बनाइसकेपछि त्यसलाई सार्वजनिक (पब्लिस) गरेको खण्डमा मात्र शेयर गर्न सकिन्छ । त्यसपछि तपाईंलाई नचिन्ने वा तपाईँले लिङ्क सेयर नगरेकाले पनि हेर्न सक्छन् ।

यदि तपाईंलाई सो कन्टेन्ट कसैले नदेखोस् भन्ने लाग्छ भने सेभ मात्र गरेर राख्नुपर्ने हुन्छ । विशट्रिपमा कुनै पनि बाटोको ट्रेल बनाउनु परे सबैभन्दा पहिले एप इन्स्टल गर्नुपर्ने हुन्छ ।

एन्ड्रोइड प्रयोगकर्ताले यहाँबाट र एप्पल प्रयोगकर्ताले यहाँबाट एप डाउनलोड गर्न सक्छन् ।

एप डाउनलोड गरिसकेपछि दर्ता (रजिष्टर) गर्नुपर्ने हुन्छ । फेसबुक वा ईमेल एड्रेस प्रयोग गरेर दर्ता गरिसेकपछि त्यहाँ बीचमा रहेको रेकर्डको अप्सनमा गएर बाटो रेकर्ड गर्न सकिन्छ ।

बाटोमा यात्रा गर्दा कुन ठाउँमा के भयो भन्ने फोटो, भिडिओ, आवाज र लेख लेख्न सकिन्छ । आफूले चाहेको यात्रा पूरा गरिसकेपछि पब्लिस गरेर सो ट्रेलको लिङ्क शेयर गर्न सकिन्छ । त्यस्तै तपाईं आफूले यात्रा गर्दा यात्रालाई लाइभ शेयर पनि गर्न सक्नुहुन्छ ।

त्यस्तै कुनै पनि संस्था वा स्थानीय तहले आफ्नो क्षेत्र प्रवर्द्धन गर्न विशट्रिपको प्रयोग गर्न सक्छन् ।

पर्यटकका रूपमा आउने आगन्तुकलाई कुन ठाउँमा कस्तो सुविधा रहेको छ, घुम्नका लागि कुन ठाउँ उपयुक्त, बस्नका लागि कुन ठाउँ उपयुक्त भनेर लिस्टिङ गर्न सक्नेछन् । यसबापत संस्था वा स्थानीय निकायले शुल्क तिर्नुपर्ने हुन्छ ।

हाललाई नेपालमा यो सेवा परीक्षण भइरहेकाले स्थानीय तह वा संस्थाले विना कुनै शुल्क आफ्नो ठाउँ दर्ता गर्नसक्ने परियारको भनाइ छ ।

उनी भन्छन्, ‘परीक्षण सकिएपछि संस्थाहरूले सस्तोमा ठाउँ वा रूट दर्ता गर्न सक्छन् ।’ यात्रीले भने विशट्रिपका कुनै पनि फिचर प्रयोग गर्न शुल्क तिर्नुपर्दैन ।

नेपालमा पनि विशट्रिपले आफ्नो आधिकारिक कार्यलय स्थापना गरेको छ ।

परियारले प्रतिनिधित्व गरेको यस कार्यालयमा अन्य दुई जना नेपाली कार्यरत छन् । यसमा जोडिन अथवा आफ्नो यात्रालाई सहज बनाउन चाहनुहुन्छ भने (९८४०४६६६८६) मा सम्पर्क गर्न सकिने परियार बताउँछन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३