close

तपाईँको फेसबुकमा फलो गर्न, पोस्ट हेर्न र कमेन्ट गर्न ककसलाई दिने ?

टेकपाना टेकपाना

साउन २६, २०७९ १९:२०

तपाईँको फेसबुकमा फलो गर्न, पोस्ट हेर्न र कमेन्ट गर्न ककसलाई दिने ?

काठमाडौं । सामाजिक सञ्जाल लगायत अनलाइन माध्यममा अभ्यस्त नहुने मान्छे अहिले विरलै भेटिन्छन् । सामाजिक सञ्जालका विभिन्न माध्यममा फेसबुक प्रयोगकर्ताको पहिलो रोजाइमा पर्ने गर्छ । अर्बौं प्रयोगकर्ता रहेको फेसबुकसँग तपाईँ हामी पनि कुनै न कुनै रूपमा जोडिएका हुन्छौँ ।

अर्बौँ प्रयोगकर्ताको पहुँच हुने फेसबुकमा कहिलेकाहीँ आफ्नो गोपनीयताको विषयलाई लिएर धेरैले चिन्ता समेत लिइरहेका हुन्छन् । आज हामी फेसबुकमा तपाईँलाई ककसले फलो गरेका छन् भन्ने विषयमा चर्चा गर्दै छौँ ।

तपाईँलाई फेसबुकमा कसले फलो गर्न सक्छ ?

विस्टलब्लोअरको प्रतिवेदनमा फेसबुकले प्रयोगकर्ताको गोपनीयताको सवाललाई बढी प्राथमिकतामा राखेको दाबी गरिएको छ । यसमा ककसले तपाईँका व्यक्तिगत जानकारी हेर्न सक्छन् भन्ने कुरा निकै महत्त्वपूर्ण हुन्छ । यस्तोमा तपाईँलाई कसले फलो गर्न सक्छ, अनि कसले सक्दैन त ? 

यो कुरा थाहा पाउन सबैभन्दा पहिले आफ्नो फोनमा वा ब्राउजरमा फेसबुक खोल्नुहोस् । त्यसपछि माथि दायाँपट्टि रहेको तीन ओटा धर्सा भएको बारमा क्लिक गर्नुहोस् ।

त्यसपछि सेटिङ एण्ड प्राइभेसीमा गएर सेटिङमा जानुहोस् ।

त्यसपछि अडियन्स एण्ड भिजिबिलिटीमा रहेको फलोअर एण्ड पब्लिक कन्टेन्टको अप्सनमा दबाउनु होस् ।

त्यसपछि तपाईँलाई कसले फलो गर्न मिल्छ, टाइमलाइनमा भएका फलोअर कसले देख्न सक्छ, तपाईँको पोस्टमा कसले कमेन्ट गर्न सक्छ, तपाईँको प्रोफाइलको जानकारी कसले हेर्न सक्छ भन्ने कुरा हेर्न सक्नु हुन्छ ।

यदि त्यहाँ सबै अप्सनमा ‘पब्लिक’ छनौट भएको छ भने तपाईँलाई जोकसैले पनि फलो गर्न सक्छन् । यति मात्र होइन तपाईँको व्यक्तिगत जानकारी हेर्न र तपाईँका पोस्टमा कमेन्ट गर्न पनि सक्छन् ।

यदि सबैमा ‘फ्रेन्ड्स’ छान्नु भएको छ भने त्यहाँ भएका सम्पूर्ण फिचर तपाईँसँग फेसबुकमा साथी बनेका हरूले मात्र ती काम गर्न पाउँछन् ।  यदि आफ्नो जानकारी साथी बाहेक अरू कसैले नदेखोस् भन्ने चाहनु हुन्छ भने सबै ‘अप्सन’मा ‘फ्रेन्ड्स’ छान्नुहोस् ।

कुनै व्यक्तिलाई कसरी अनफलो गर्ने ?

सामाजिक सञ्जाल फेसबुकमा सधैँ राम्रा वा भलो चाहने व्यक्तिसँग जोडिन्छ भन्ने हुँदैन । कहिलेकाहीँ जान अन्जानमा अपरिचित वा खराब चरित्रका व्यक्तिलाई समेत फलो गर्न पुगिन्छ ।

पछि अनफलो वा अनफ्रेन्ड गर्न नसक्दा कतिपय अवस्थामा हामी विरक्तिएका पनि हुन्छौँ । फलो गरेको फ्रेन्ड बनाएको अकाउन्टलाई यसरी अनफ्रेन्ड र अनफलो गर्न सकिन्छ ।

त्यसका लागि सबैभन्दा पहिला फेसबुक खोल्नुहोस् । त्यसपछि अनफलो गर्न चाहेको व्यक्तिको नाम ‘सर्च’ गर्नुहोस् । अब उक्त व्यक्तिको प्रोफाइलमा दबाउनु होस् र उसको टाइमलाइनमा जानुहोस् ।

त्यसपछि सम्बन्धित व्यक्तिको प्रोफाइलको तल रहेको तीन ओटा थोप्लामा थिच्नुहोस् । अनि सबैभन्दा माथि रहेको ‘फ्रेन्ड्स’ ‘अप्सन’मा क्लिक गर्नुहोस् । अब अन्तिममा त्यहीँबाट आवश्यकता अनुसार अनफलो वा अनफ्रेन्ड गर्नुहोस् सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३