close

मेटा र मार्क जुकरबर्गकै विरुद्ध उल्टोसुल्टो बोल्न थाल्यो कम्पनीले बनाएको च्याटबट 

टेकपाना टेकपाना

साउन २७, २०७९ ८:२८

मेटा र मार्क जुकरबर्गकै विरुद्ध उल्टोसुल्टो बोल्न थाल्यो कम्पनीले बनाएको च्याटबट 

काठमाडाैं । मेटाकाे ‘ब्लेन्डर बट थ्री’ नाम गरेकाे च्याटबटले कम्पनी र मार्क जुकरबर्गकै विरुद्ध उल्टोसुल्टो प्रतिक्रिया दिएकाे छ । च्याटबटलाई कम्पनीकाे संस्थापक र सीईओ जुकरबर्गबारे प्रश्न गर्दा “हाम्राे देश विभाजन भइरहँदा उसले कुनै पनि मद्दत गरेन” भन्ने जवाफ दिएकाे छ ।

आर्टिफिसियल इन्टेलिजेन्स प्रयाेग गरेर कुनै पनि विषयमा कुरा गर्नसक्ने दाबी गरिएकाे याे च्याटबटले मार्क जुकरबर्ग र मेटाबारे उल्टाेसुल्टाे प्रतिक्रिया जनाएकाे हाे ।

मेटाका अनुसार उक्त च्याटबट एक प्राेटाेटाइप भएकाले यसले अशिष्ट र अस्वभाविक उत्तर दिनसक्छ ।

“ब्लेन्डर बट प्रयोग गर्ने सबैले यो अनुसन्धान र मनोरन्जन उद्देश्यका लागि मात्र हो भनेर बुझ्नुपर्छ,” मेटाका प्रवक्ताले यसबारेमा भनेका छन्, “यसले असत्य वा आपत्तिजनक कुराहरु पनि गर्न सक्छ र प्रयाेगकर्ताले आपत्तिजनक बयानहरू गर्न बटलाई जानाजानी ट्रिगर गर्नुहुन्न ।”

बटले मार्क जुगरबर्गबारे कंग्रेसको अगाडि गवाही दिन डरलाग्दो काम गरेकाे र कम्पनीले मानिसहरुकाे शाेषण गर्ने कुरासमेत गरेकाे छ ।

याेसँगै मेटाले आफ्नो प्लेटफर्ममा फैलिएको विकृति र घृणायुक्त कुराहरु रोक्न पर्याप्त काम नगरेकोमा आलोचना गरिएकाे छ ।

मेटाले संसारका ठूला मेसेजिङ्ग एपहरु (फेसबुक, फेसबुक मेसेन्जर, इन्टाग्राम र ह्वाट्सएप)काे स्वामित्व लिएकाे छ ।

‘ब्लेन्डर बट थ्री’काे एल्गोरिदम अनुसार यसले उत्तर दिन इन्टरनेटमा जवाफहरु खाेज्ने गर्छ । त्यसकारण यसले दिएकाे आपत्तिजनक उत्तरहरु अन्य व्यक्तिहरूको विचार हुनसक्छ ।

यसबारेमा विभिन्न सञ्चार माध्यमहरुले लेखेका छन् । दी वाल स्ट्रिट जर्नलले रिपोर्ट गरेको छ कि ‘ब्लेन्डर बट थ्री’ ले डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति थिए र सधैं रहने बताएको छ ।

त्यस्तै बिजनेस इन्साइडरकाे रिपाेर्टअनुसार याे च्याटबटले जुकरबर्ग एकदम डरलाग्दाे भएको प्रतिक्रिया दिएकाे उल्लेख गरेकाे छ ।

यता मेटा भने आफ्नाे बटले गलत कुरा भन्न सक्नेबारे सचेत रहेकाे र सेफगार्डहरु बटमा इन्स्टल गरेकाे बताएकाे छ । तर, अझै  पनि बटले असभ्य, अशिष्ट कुराहरु गरिरहेकाे छ ।

सन् २०१६ मा  माइक्रोसफ्टकाे बटलाई ट्वीटर प्रयोगकर्ताहरूले नश्लवादी हुन सिकाएपछि माफी मागेकाे थियाे ।

हाल याे बट संयुक्त राज्य अमेरिकामा मात्र सक्रिय छ । नेपालबाट भने भीपीएन प्रयाेग गरेर यसलाई प्रश्न साेध्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३