close

आफ्नो डिभोर्सको टिकटक भिडिओ बनाएपछि पूर्वपतिले गरे पूर्वपत्नीको हत्या

टेकपाना टेकपाना

साउन २७, २०७९ १२:४३

आफ्नो डिभोर्सको टिकटक भिडिओ बनाएपछि पूर्वपतिले गरे पूर्वपत्नीको हत्या

काठमाडौं । कतिपय घरायसी समस्याको समाधान घरभित्रै समाधान गर्नु उचित हुन्छ । निजी र पारिवारिक विषयवस्तु सामाजिक सञ्जालमा सार्वजनिक गर्दै त्यसले अकल्पनीय घटना समेत निम्त्याउन सक्छ । पछिल्लो पटक यसैगरी एउटा दुःखद घटना घटेको छ । 

सानिया खानको ब्याग प्याक गरिएको थियो । उनी स्वतन्त्र हुन तयार थिइन् । त्यो दिन थियो, २१ जुलाई २०२२ । २९ वर्षीया सानिया अमेरिकाको सिकागो छोड्दै थिइन् ।

उनको वैवाहिक सम्बन्धले खराब मोड लिएपछि नयाँ जिन्दगीको सुरुवात गर्न उनी सिकागो छोडेर चट्टानुगा सहर जाँदै थिइन् । तर, चट्टानुगा सहर नगई उनी कास्केटमा रहेको घर फर्किइन् ।

त्यसको तीन दिनपछि सिकागो स्थित अपार्टमेन्टमा खानको मृत शरीर भेटियो । उक्त अपार्टमेन्टमा खान आफ्ना ३६ वर्षीय पूर्व पति राहिल अहमदसँग बस्ने गर्थिन् । प्रहरी अधिकारीबाट मृत घोषित खानको टाउको पछाडि गोली लागेको थियो । 

प्रहरी आउँदै गरेको थाहा पाएपछि अहमदले उक्त बन्दुकले आफैँलाई गोली हानी आत्महत्या गरे । प्रहरीको प्रतिवेदन अनुसार उक्त जोडी सम्बन्धविच्छेदबाट गुज्रिरहेको थियो ।

खानसँग छुट्टिसकेपछि उनका पति अहमद अर्को राज्यमा बस्दै आएका थिए । प्रहरी प्रतिवेदनमा अहमद आफ्नो वैवाहिक सम्बन्ध जोगाउन करिब ७०० माइल यात्रा गरेर आफ्नो पहिलेको अपार्टमेन्ट फर्किएका थिए ।

हत्या र आत्महत्याको दर्दनाक कथा खानको जीवनको अन्तिम घटना बन्यो । सानिया खान पाकिस्तानमा जन्मिएर अमेरिका बसाइ सरेकी फोटोग्राफर थिइन । उनी सामाजिक सञ्जाल टिकटकमा डिभोर्स भएका र वैवाहिक सम्बन्ध बिग्रिएका महिलाका लागि आवाज उठाउँथिन् । 

जसबाट उनलाई साहसी महिलाको पहिचान मिलिरहेको थियो । उनको मृत्युको खबरले उनका साथीहरूलाई तरङ्गित पार्‍यो । उनका अनलाइन फलोअर पनि स्तब्ध बने । 

इन्स्टाग्राममा सबैभन्दा पहिले उनले एउटा सार्वजनिक प्लेटफर्म तयार पारेकी थिइन् । जसमा उनले फोटोग्राफीप्रतिको आफ्नो लगावबारे सानो लेख पनि राखेकी छिन् ।

खान विभिन्न विवाह समारोहका फोटो, प्रसूति शुटहरू, बेबी शाओर जस्ता विभिन्न रीतिरिवाचका फोटो खिच्ने गर्थिन् । जसबाट उनले राम्रै आम्दानी गरिरहेकी थिइन् ।

आफ्नो जिन्दगी रमाइलो तरिकाले बाँचिरहेकी थिइन् । त्यही बेला उनको भेट अहमदसँग भयो । पाँच वर्षको प्रेम सम्बन्धपछि जुन २०२१ मा उनीहरूको विवाह भयो । बिहेपछि उनीहरू सिकागो सरेर सँगै बस्न थाले ।

खानकी साथीले अहमद लामो समयदेखि मानसिक स्वास्थ्य समस्याबाट ग्रस्त रहेको दाबी गरेकी छिन् । जसले गर्दा उनीहरूको सम्बन्धमा उतारचढाव आइरहेको थियो ।

उनीहरूबीच मनमुटाब भइरहे पनि वास्तविक समस्या गत डिसेम्बरबाट सुरु भयो । खानले आफ्ना साथीहरूलाई अहमदमा मानसिक स्वास्थ्य समस्या भएकाले आफू असुरक्षित भएको बताएकी थिइन् ।

उनको वैवाहिक सम्बन्ध राम्रो नहुने देखेपछि उनका साथीले खानलाई डिभोर्स गर्न सुझाव दिए । उनले सुरुवातमा मानिसहरूले नराम्रो सोच्लान् भनेर सम्बन्ध विच्छेद गर्न तयार थिइनन् ।

तर, पछि उनले साथीहरूको साथ पाएपछि डिभोर्सको मुद्दा दर्ता गरिन् । त्यसपछि उनी स्वतन्त्र भइन् । उनी आफ्नै तरिकाले बाँच्न थालिन् ।

उनी टिकटकमा आफ्ना पारिवारिक तथा डिभोर्सका घटनाहरू बाँड्न थालिन् । आफूले कस्तो परिस्थितिको सामना गरिरहेकी छिन् भन्ने कुरा खान टिकटकमार्फत सार्वजनिक गर्थिन् ।

उनका पतिलाई त्यसरी व्यक्तिगत घटना डिभोर्स भइसकेपछि बाहिर ल्याएको मन परिरहेको थिएन । त्यही कुराले अहमदलाई झनै तनाव दिइरहेको थियो । त्यसपछि उनले खानको हत्या गर्ने योजना बनाएर अनि हत्या गरे ।

खानको मृत्यु हुँदासम्म टिकटकमा उनका २० हजार फलोअर थिए । जसमध्ये अमेरिका बस्ने पाकिस्तानकी बिस्मा पार्भेज पनि एक थिइन् ।

उनी भन्छिन्, “मलाई सम्झना छ, पहिलो पटक मैले उनको भिडिओ देख्दा उनका लागि प्रार्थना गरेको थिएँ । त्यस्तो अवस्थामा हुने महिलालई प्रतीक्षा गर, सबै ठीक हुन्छ भन्छन् । तर, शोषण गर्ने सम्बन्धका लागि प्रतीक्षा गर्नु उपयुक्त उत्तर होइन ।”

यसरी समाधान भइसकेका व्यक्तिगत घटना बाहिर ल्याउँदा खानले मृत्यु स्वीकार गर्नु पर्‍यो । सामाजिक सञ्जालको सस्तो लोकप्रियता र देखावटी फलोअर पाउने आशले केही मानिसहरू आफ्नो गोपनीयता, इज्जत जस्ता कुराको वास्ता गर्दैनन् । जसले गर्दा उनीहरू जिन्दगीको कठोर यात्राबाट गुज्रिन बाध्य हुन्छन् ।

बीबीसीबाट

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३