close

मोबाइलको नोटमा लेखिएका सामग्री सोझै कम्प्युटरमा सेभ गर्ने सजिलो तरिका

टेकपाना टेकपाना

साउन २७, २०७९ १८:४०

मोबाइलको नोटमा लेखिएका सामग्री सोझै कम्प्युटरमा सेभ गर्ने सजिलो तरिका

काठमाडौं । प्रविधिको प्रयोग बढेसँगै हामी दैनिक रूपमा फोन तथा कम्प्युटरमा सक्रिय हुन्छौं । प्रायः काम फोनबाट हुनेहुँदा हाम्रो धेरै समय फोनमै बित्छ । यस्तोमा हामी मध्ये धेरैको बानी आफूलाई लागेका वा लेख्नुपर्ने कुरा फोनको नोटमा राखिरहेका हुन्छौं । जसलाई पछि कम्प्युटरमा सार्नु पर्दा निकै झन्झट हुने गर्छ ।

कतिपय अवस्थामा वा कतै घुम्न जाँदा कम्प्युटरमा लेख्ने भन्दा पनि हामी फोनमा लेख्न रुचाउँछौं । त्यसरी फोनको नोटमा लेखेका कुरा कम्प्युटरमा पठाउनका लागि म्यासेजिङ एप अथवा ईमेलको भर पर्नुपर्ने हुन्छ । सार्न भ्याउँदा त  झन्झटिलो यही प्रक्रिया अपनाएरै भएपनि नोटमा लेखिएका कुरा कम्प्युटरमा सारिन्छ ।

तर, कहिलेकाहीँ हाम्रो फोनमा समस्या आयो वा अन्य कुनै कारणवश फोन फ्याक्ट्री रिसेट (सम्पूर्ण फाइल हटाउने) गर्नुपर्‍यो भने त्यस्तोमा नोटमा लेखिएका सबै कुरा गुम्न सक्छ । यस्तोमा मोबाइलको नोटमा लेखिएका महत्वपूर्ण कुरालाई सोझै कम्प्युटरमा कसरी सार्ने अथवा सोझै कम्प्युटरबाटै कसरी पहुँच बनाउने भन्ने विषयमा यहाँ हामी तपाईंहरूलाई जानकारी दिँदैछौं ।

त्यसका लागि तपाईंको फोनमा पहिल्यै इन्स्टल भएर आएको नोट वा मेन्यु एप उपयुक्त नुहुन सक्छ । त्यसका लागि गुगललको ‘किप नोट्स’ एप डाउनलोड गर्नुपर्ने हुन्छ । गुगलको किप नोट्स एप एन्ड्रोइड प्रयोगकर्ताले यहाँबाट र आईओएस प्रयोगकर्ताले यहाँबाट इन्स्टल गर्न सक्छन् । त्यसपछि तपाईंले गुगलको किप नोट्स एप प्रयोग गर्न सक्नुहुन्छ ।

गुगल किप प्रयोग गर्नुका फाइदाहरू:

  • गुगल किप प्रयोग गर्न सजिलो हुन्छ : गुगल किप अन्य साधारण नोट्स वा मेन्यु एप जस्तै भएकाले सजिलै प्रयोग गर्न सकिन्छ । यसमा नयाँ नोट लेख्न, नोटमा फोटो राख्न वा चित्र कोरेर गरेर राख्न सकिन्छ ।
  • गुगल किप निःशुल्क प्रयोग गर्न सकिन्छ ।
  • विभिन्न रिमाइन्डर राख्न सकिन्छ ।

सबैभन्दा महत्त्वपूर्ण कुरा त रियल टाइममा कम्प्युटरको वेब र एपमा एक्सेस पाउन सकिन्छ । तपाईंले केही कुरा कम्प्युटरको गुगल किपमा लेखिरहनु भएको छ भने सो कुरा स्मार्टफोन र स्मार्टफोनमा लेखिएका कुरा कम्प्युटरबाटै  हेर्न सक्नुहुन्छ ।

त्यो भन्दापनि महत्वपूर्ण कुरा आफूले गुगल किपमा राखेका कुरा फोन हराएको खण्डमा पनि अर्को डिभाइसमा सो अकाउन्ट लगइन गरी आफूले लेखेका महत्त्वपूर्ण कुरा हेर्न सकिन्छ ।

फोनमा गुगल किप प्रयोग गरेको छ र त्यहाँ भएका विभिन्न कुरा कम्प्युटरबाट एक्सेस पाउन चाहनु हुन्छ भने, यहाँ क्लिक गरेर गुगल किप खोल्नुहोस् । त्यसपछि फोनमा प्रयोग भएको जिमेल अकाउन्ट प्रयोग गरेर साइन अप गर्नुहोस् । यसरी तपाईंले फोनको नोटमा लेखेका कुरा कम्प्युटरमा सोझै सार्न सक्नुहुन्छ ।

त्यस्तै गुगल किपमा लेखेका कुरा गुगल डक्समा समेत कपी गर्न सकिन्छ । त्यसका लागि सबैभन्दा पहिले आफ्नो फोनमा गुगल किप एप खोल्नुहोस् ।

त्यसपछि आफूले गुगल डक्समा कपी गर्नुपर्ने लेख छान्नुहोस् ।

त्यसपछि माथि रहेका तीन ओटा डटमा क्लिक गर्नुहोस् । त्यसपछि कपी टु गुगल डक्समा क्लिक गरेर कपी गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३