close

एक अनाथले बनाएको रोलेक्स, यसरी बन्यो धनाढ्यको हातमा सजिने संसारकै महँगो घडी

टेकपाना टेकपाना

साउन २७, २०७९ १९:४८

एक अनाथले बनाएको रोलेक्स, यसरी बन्यो धनाढ्यको हातमा सजिने संसारकै महँगो घडी

काठमाडौं । रोलेक्स भन्ने बित्तिकै अधिकाशं मानिसको दिमागमा महँगो ब्रान्ड वा व्यक्तिको शान भन्ने कुरा आउँछ । कतिका लागि त यो सपना जस्तै हुन्छ । तर केही व्यक्तिको व्यक्तित्वलाई यसले थप इज्जत बढाउन पनि सक्छ ।

किन भने महँगा चिज वस्तुले मानिसको व्यक्तित्व बलियो बनाउन मद्दत गर्छ भन्ने आमधारणा पनि छ । आजको दिनमा रोलेक्स कम्पनीको मूल्य करिब ८ अर्ब डलर (१० खर्ब रुपैयाँभन्दा बढी) को हाराहारीमा छ ।

यति धेरै महत्त्व बोकेको विश्वकै महँगा ब्रान्ड मध्येको एक ‘रोलेक्स’ को सुरुवात कसरी भयो होला ? वास्तवमा धनाढ्यहरूको हातमा सजिने यो महँगो घडीको जन्म भने कोही पनि नभएको एक अनाथको हातबाट भएको हो ।

त्यो अनाथ, जसको न कोही थियो, न त साथमा केही थियो । तर उनको मनमा आफ्नो यो अवस्थालाई परिवर्तन गर्ने दृढ इच्छाशक्ति भने थियो । यही दृढतालाई लिएर उनी आफ्नो जन्मथलो छोडेर अर्कै ठाउँ पुगे । जहाँबाट सुरु हुन्छ रोलेक्सको एक शताब्दी पुरानो इतिहास । 

बाल्यकाल 

सन् १८८१ मा जर्मनीको कुमबाक भन्ने ठाउँमा जन्मिएका हन्स विल्सडोर्फ आना र योहन ड्यानियलका माइला छोरा हुन् । उनी एक सम्पन्न व्यवसायिक घरानामा जन्मिएका व्यक्ति हुन् ।

हजुरबुबाबाट पुस्तान्तरण भएको फलामका सामग्री बनाउने व्यवसाय गर्दै आएको उनको परिवार सुखी र सम्पन्न थियो ।उनीहरूको जीवन राम्रैसँग चलिरहेको थियो । तर केही वर्षदेखि बिरामी परेकी हन्सकी आमा सन् १८९२ मा बितिन् ।

यो पीडाबाट राम्रोसँग बाहिर आउन नपाउँदै हन्सका बुबाको पनि मृत्यु भयो । एक वर्षकै अन्तरालमा आमाबुबा दुवै गुमाएका १२ वर्षीय हन्सका लागी यो असह्य पीडा थियो । यसरी उनी एकाएक अनाथ भए । 

बेसहारा भएका हन्सको तीन दाजुभाइ आफ्ना मामासँग बस्न थाले । उनका मामाले नै उनीहरू सबैको जिम्मा लिएका थिए । एकातिर अभिभावको देहावसान, अर्कोतिर भविष्य कसरी अगाडि बढ्छ भन्ने दुबिधा ।

यसैबीच उनका मामाले उनीहरूको सबै सम्पत्ति बेचेर उनीहरूको पढाइमा खर्चिने निर्णय लिए । उनीहरूको पढाइको लागि तीनै जनालाई मामाले जर्मनीको बवेरियामा भएको अर्नेस्टिनम कोबर्थ नामक बोर्डिङमा भर्ना गरेर अगाडिको पढाइलाई निरन्तरता दिन लगाए । 

तर यो निर्णयले हन्स भने खुसी थिएनन् । अभिभावक बिहीन हन्सलाई नयाँ सहर, नयाँ मान्छे र नयाँ साथी केही पनि रुचेको थिएन । उनले आफूले आफूलाई त्यो ठाउँमा भिजाउनै सकेनन् । अर्को सहरबाट आएको र फरक धर्मको मान्छे भन्दै उनको स्कुलका साथीहरूले उनलाई गिज्याउने गर्थे । 

यस्तो माहोलमा कोही मान्छे कसरी रमाउन सक्छ ? त्यसपछि उनले आफ्नो ध्यान पढाईमा केन्द्रित गर्ने निर्णय लिए । हुन त हन्सलाई आफ्ना मामाहरूको निर्णय मन परेको थिएन । त्यसमाथि उनलाई त्यो ठाउँ पनि चित्त बुझेको थिएन । तर परिस्थितिसँग सम्झौता गर्नु बाहेक उनीसँग अरु कुनै विकल्प थिएन । 

यद्यपि राम्रोसँग पढ्नु  पर्छ भन्ने कुरा भने हन्सले मनन् गरेका थिए । आफूहरूलाई बोर्डिङमा राखेर पढाउने मामाहरूको निर्णय उनलाई मन नपरे पनि राम्रोसँग पढ्यो भने भविष्य राम्रो हुने कुरामा भने उनी विश्वस्त थिए ।

त्यसैले उनले अन्य कुरालाई सहेर आफ्नो पढाईमा ध्यान दिनु उचित ठाने र पढाइमा केन्द्रित हुन थाले । त्यही समयलाई उनी आफ्नो सफलताको कारण पनि मान्छन् ।  

पुस्तक पढ्न निकै रुचि राख्ने हन्स विद्यालयको मेधावी विद्यार्थी थिए । अन्य विषय भन्दा गणित र भाषागत विषयमा उनी निकै प्रतिभावान थिए । उनले विद्यालयमा छँदै फ्रेन्च र अङ्ग्रेजी भाषा सिकिसकेका थिए ।

नयाँ ठाउँहरूको बारेमा जान्नु उनको रुचि थियो र नयाँ ठाउँ घुम्नको लागि भाषामा दक्षता हुनुपर्छ भन्ने उनले राम्रोसँग बुझेका थिए । यही बुझाइ उनको सफलताको बिज बन्न पुग्यो । 

व्यवसायको पहिलो खुड्किलो ‘स्विट्जरल्यान्ड’

विद्यालयमा छँदा हन्सका एकजना साथी स्विट्जरल्यान्डका थिए । उनी हन्सको एकदम मिल्ने साथी थियो । उनले हन्सलाई आफ्नो देशका धेरै कुराहरू सुनाउँथे ।

विशेष गरी घडी उत्पादनको लामो इतिहास बोकेको लसो-दि-फन्ड्स नामक सहरको विषयमा उनी हन्सलाई अनेक कुरा बताउँथे । जसले हन्सलाई निकै आकर्षित गर्‍यो ।

उनले घडी उत्पादन र उक्त सहरको बारेमा थप जानकारी खोज्न थाले । त्यसपछि उनले घडी उद्योग भएको त्यो सहरको विषयमा गम्भिर अध्ययन सुरु गरे । 

अनि यहाँबाट सुरु हुन्छ, उनको व्यवसायिक यात्रा । साथीको मुखबाट धेरै सुनेको सहर उनको सपनाको सहर बन्न पुग्यो । त्यो ठाउँमा उनलाई जानु थियो । विद्यालयस्तरको पढाइ सक्ने बित्तिकै १९ वर्षको उमेरमा हन्स स्विट्जरल्यान्डतर्फ लागे ।

नयाँ देश, नयाँ सहर, नयाँ मानिस अनि नयाँ परिवेशमा संघर्ष उस्तै थियो । स्विट्जरल्यान्डको जेनेभा सहरमा गएर उनले सिकारुको रुपमा मोती निर्यात गर्ने एक अन्तर्राष्ट्रिय कम्पनीमा काम गर्न थाले । 

उक्त कम्पनीले फरकफरक स्थानबाट खरिद गरेर ल्याएको मोतीलाई प्रशोधन गरी विभिन्न सहरको गहना पसलहरूमा बिक्री गर्थ्यो । त्यहाँ काम गर्दैगर्दा कम्पनीको विषयमा उनले एउटा कुरा पत्ता लगाए ।

कम्पनीले केही उत्पादनशील काम नगरेपनि नाफा भने धेरै कमाइरहेको थियो । यही कुरामा उनले विशेष ध्यान दिइरहेका थिए । कम्पनीमा काम गर्दैगर्दा उनले सानै उमेरमा राम्रो आम्दानी गर्नुको साथै व्यवसायिक रणनीति पनि सिकिरहेका थिए । 

यसरी उनको नयाँ जीवन चलिरहेको थियो । यही क्रममा एक दिन उनले आफ्नो साथीबाट एउटा चिठ्ठी प्राप्त गरे । उक्त चिठ्ठीमा आफ्नो कम्पनी ‘कुनो कर्टन’ मा काम गर्न हन्सलाई आमन्त्रण गरिएको थियो । 

कुनो कर्टन त्यस समयको उच्च गुणस्तरीय घडी निर्माण गर्ने कम्पनी थियो । जसले हरेक वर्ष लाखौं घडि निर्यात गर्थ्यो । सबैभन्दा रोचक कुरा त के थियो भने यो कम्पनी लसो-दि-फन्ड्समा थियो । जहाँ उनी जान चाहन्थे । यो त्यही ठाउँ थियो, जहाँको इतिहास सुनेर उनी स्विट्जरल्यान्ड पुगेका थिए । 

हुन त साथीको कम्पनीको तुलनामा उनले काम गरिरहेको मोतीको कम्पनीमा उनलाई धेरै फाइदा थियो । तर उनका लागि आम्दानी भन्दा ठूलो घडी उद्योग प्रतिको रुची र जिज्ञासा बन्न पुग्यो । आफूले चाहेको ठाउँबाट अवसर आउँदा उनले दोहोर्‍याएर सोच्न चाहेनन् र सन् १९०० मा उनी जेनेभा छोडेर लसो-दि-फन्ड्स गए । 

त्यहाँ उनले अंग्रेजी संवाददाता तथा क्लर्क (कार्यालयका दस्तावेजहरू व्यवस्थापन गर्ने व्यक्ति) को रूपमा काम गर्न थाले । विद्यालयमा भाषाप्रतिको रुचि र आफूले सिकेको अङ्ग्रेजी भाषाले उनलाई फाइदा गर्‍यो । मासिक ८० स्विस फ्र्यान्क (स्विस रकम) तलब सहित उनी उक्त कम्पनीमा अङ्ग्रेजी लेख्ने र पढ्ने काम गर्न थाले । 

यसका साथै उनले तयार भएका पकेट वाच अर्थात गोजीमा राख्न मिल्ने घडिहरूले सही समय दिइरहेको छ कि छैन भन्ने काम पनि हेर्न थाले । यसरी त्यो कम्पनीमा छँदा उनले घडी सम्बन्धी धेरै जानकारी पाइसकेका थिए । उनले विभिन्न घडी कसरी निर्माण हुन्छन् भन्ने विषयमा पनि धेरै ज्ञान बटुलिसकेका थिए ।

तर यो समय उनका लागी निकै छोटो भयो । स्विट्जरल्यान्डमा बसेर काम गरेको धेरै समय बितेको जस्तो त उनलाई पनि लागेको थिएन । तर पुन: जर्मनी फर्किने समय आइसकेको थियो ।

तत्कालीन समयमा जर्मनीको नियम अनुसार देशका हरेक नागरिकले देशको सेनामा काम गर्नुपर्ने हुन्छ । दुई वर्षको स्विट्जरल्यान्ड बसाइपछि उनी पुनः जर्मनी गएर सेनामा भर्ती भए । 

सैन्य तालिमपछि पनि उनको घडी उद्योगप्रतिको मोह भने रत्तिभर कम भएन । सैन्य तालिम सकेपछि २२ वर्षको उमेरमा हन्स बेलायत हानिए । त्यहाँ पनि उनले एउटा उच्च गुणस्तरीय घडी कम्पनीमा काम गर्न थाले ।

उक्त कम्पनीमा उनको भूमिका पहिलेको कम्पनीमा भन्दा बढी महत्त्वपूर्ण थियो । उनले त्यहाँ बिक्री व्यवस्थापनतर्फको काम सम्हाल्थे । 

बेलायतको सो कम्पनीमा दुई वर्षसम्म काम गर्दा उनको मुख्य भूमिका भनेको घडीको बिक्रीलाई बढाउनु थियो र यो काममा उनी सफल पनि भए । उनले कम्पनीमा धेरै नयाँ ग्राहकहरू जोड्न र कम्पनीको बिक्री वृद्धि गर्न पनि सफल भएका थिए । 

त्यस समयसम्म उनले आफ्नै घडी निर्माण व्यवसाय सुरु गर्ने सोचिसकेका थिए । आफूले काम गरेको कम्पनीहरूबाट उनले आफ्नै व्यवसाय कसरी चलाउने र यसका लागि केके आवश्यक पर्छ, व्यवसाय कसरी व्यवस्थापन गर्न सकिन्छ लगायतका ज्ञानहरू हासिल गरे । 

यही क्रममा उनको भेट फ्लोरेन्स फ्रान्सेस मे क्रोटीसँग भयो । भेट भएको केही समयमा नै उनीहरूले विवाह गरे । 

विल्सडोर्फ र डेभिस लिमिटेड 

हन्स आफ्नो लक्ष्यमा केन्द्रित थिए । तर कहाँदेखि अनि कसरी आफ्नै व्यवसाय सुरु गर्ने भन्ने विषयमा भने उनी अझै पनि अन्यौलमा थिए । समय यसरी नै बितिरहेको थियो । एक दिन उनी आफ्नो परिवारसँगै आफ्नो घर बाहिर सामान्य कुराकानीमा व्यस्त थिए । त्यहाँ उनका जेठान अल्फ्रेड जेम्स डेभिस पनि थिए । 

उनीहरू आफ्नो वर्तमान स्थिति र भविष्यको बारेमा कुराकानी गरिरहेका थिए । त्यसै क्रममा हन्सले डेभिसलाई आफू घडी व्यवसाय गर्न इच्छुक रहेको र त्यसका लागि आफूमा आत्मविश्वास समेत रहेको बताए । तर आफूसँग लगानीका लागि आवश्यक पूँजी नभएको पनि सुनाए । 

एकातिर हन्ससँग पैसा थिएन । तर डेभिससँग भने पैसा थियो र उनलाई यो व्यवसायलाई लिएर हन्स कति समर्पित छन् भन्ने कुराको पनि ज्ञात थियो । उमेरको हिसाबले हन्स निकै नै साना थिए ।

तर उनको दृढता र लगनले गर्दा डेभिसले घडी व्यवसायका लागि आफूले लगानी गरिदिने बचन दिए । यहीँबाट हन्सको व्यवसायिक यात्रा सुरु हुन्छ । सन् १९०५ मा यी दुई जना मिलेर विल्सडोर्फ एन्ड डेभिस लिमिटेड नामक कम्पनीको स्थापना गरे ।

कालान्तरमा गएर यही नाम ‘रोलेक्स’ हुन पुग्यो । यसरी रोलेक्सको व्यवसायिक यात्रा सुरु भयो । केही समय काम गरेपछि उनीहरूले स्विट्जरल्यान्डको सबैभन्दा ठूलो घडी कम्पनी ‘हर्मन एग्लर’ सँग पनि साझेदारी गरे । यो साझेदारीसँगै उनीहरूले आफ्नो कम्पनीमा उत्पादित घडी बेलायत निर्यात गर्न थाले । 

सो कम्पनीको कामकारबाही व्यवस्थित गर्न उनीहरूले स्विट्जरल्यान्डमा रोलेक्सको कार्यालय पनि स्थापना गरे । यसरी उनीहरूले आफ्नो व्यवसायलाई राम्रैसँग चलाइरहेका थिए ।

त्यो समयमा रोलेक्सले सर्वसुलभ मूल्यमै घडी बिक्री गरिरहेको थियो । उनीहरूको व्यवसायिक रणनीति पनि सस्तो तथा सुलभ घडी बिक्री गर्नु नै थियो ।   

व्यवसाय त राम्रै थियो । तर हन्सको घडी र घडीको बजारमाथिको अध्ययन यात्रा भने कहिल्यै टुङ्गिएन । व्यवसाय अगाडि बढिरहँदा उनले घडी बजारलाई पनि नियालिरहे । यसैक्रममा उनको दिमागले घडी बजारमा भएको एउटा विभेदलाई ठम्यायो । त्यो समस्या पकेट वाच अर्थात गोजीमा राख्ने घडीमा थियो ।

त्यसताका धेरैजसो नाडीमा लगाउने घडीलाई महिलाहरूले गहनाको रूपमा लगाउने गर्थे । केहीले भने यस्तो प्रकारको घडीको आलोचना पनि गर्थे । गोजीमा बोक्ने घडीको तुलनामा नाडीमा लगाउने घडीको समय सही नहुने भन्दै मानिसहरू त्यसलाई मन पराउँदैन थिए । आकारको हिसाबले पनि गोजीमा बोक्ने घडी भन्दा नाडीमा लगाउने घडी सानो हुन्थ्यो । 

सानो आकारको हुँदा घडीभित्र प्रयोग हुने सामग्रीहरू पनि सानै हुन्थे । जसले गर्दा घडीको सुईले राम्रोसँग काम गर्दैन थियो । नाडीमा लगाउने घडीमा समय कहिले छिटो त कहिले ढिलो भइरहन्थ्यो ।

यही समस्याले गर्दा त्यस समयमा पकेट घडि नै बढी लोकप्रिय थियो । त्यसमाथि यस्तो घडी ठूलो हुने भएकाले त्यसलाई पुरुषले मात्र प्रयोग गर्ने घडीको रुपमा लिइन्थ्यो । 

यो विभेद हन्सलाई भने चित्त बुझेको थिएन । मानिसको लागि पकेट घडी झन्झटिलो भएको उनको ठम्याई थियो । पकेट घडी हेर्न गाह्रो हुन्छ भन्ने उनलाई लागेको थियो ।

झन् दुवै हात व्यस्त भएको अवस्थामा समय हेर्न पकेट घडी उपयोगी नहुने उनको तर्क थियो । एकातिर पकेट घडी उपयोगी छैन भन्ने हन्सको तर्क थियो त अर्कोतिर त्यो समयमा सही समय दिने नाडीमा लगाउने घडी उत्पादन गर्नु असम्भव जस्तै थियो । 

भइरहेकै घडीमा नै सही समय दिन सकिएको थिएन । यस्तोमा पकेट घडीलाई चुनौती दिएर नाडीमा लगाउने घडी प्रचलनमा ल्याउनु चुनौतिपूर्ण थियो ।

२० औँ शताब्दीमा यो काम गाह्रो थियो । सन् १९१४ तिर भने उनले नाडीमा लगाउने घडी भविष्यमा मानिसको लागि नयाँ प्रचलन हुने दाबी गरेका थिए । त्यसपछि आफ्नो यो दाबीलाई पूरा गर्न उनी लागिपरे । नाडीमा लगाउने घडीले दिने समयलाई अचूक बनाउन उनले हरसम्भव प्रयास गर्न थाले ।

घडी व्यवसाय गर्ने उनको सपना अब मानिसको घडी प्रयोगको प्रचलनलाई नै परिवर्तन गर्नेतर्फ मोडियो । यसका लागि उनले संसारका धेरै देशहरूमा पुगेर विभिन्न ठूला कम्पनीका उत्पादनकर्तालाई भेटे र घडीको विषयमा हरेक ससाना विवरणहरू संकलन गर्न थाले ।

उनले आफ्नो यात्राको क्रममा घडीको गुणस्तर कसरी बढाउन सकिन्छ भन्ने कुरा सिकिरहेका थिए । यही यात्राका क्रममा उनी आफैँले पनि घडी बनाउने काम पनि गरे ।

विश्वका अन्य कम्पनीहरूबाट सिकेको ज्ञानलाई उनले आफ्नो कम्पनीको उत्पादनमा प्रयोग गरिरहेका थिए । यसैबीच रोलेक्सले महिला र पुरुष दुवैको लागि धेरै नाडीमा लगाउने घडीहरू निर्माण गरिसकेको थियो ।

उनीहरूको व्यवसाय यति धेरै बढ्यो कि कम्पनी स्थापना गरेको तीन वर्षमै अर्थात सन् १९०८ सम्ममा रोलेक्स बेलायतको सबैभन्दा उत्कृष्ट घडी उत्पादक कम्पनी बन्न सफल भयो । 

रोलेक्सको नामाकरण 

आफ्नो कम्पनीको बढ्दो लोकप्रियतालाई देखेर हन्स कम्पनीको नाम परिवर्तन गर्न चाहन्थे । उनी आफ्नो कम्पनीको नाम जुनसुकै भाषामा भएपनि एकदमै उच्चस्तरीय र मानिसहरूले सुन्ने वा देख्ने बित्तिकै याद राख्न सकिने खालको खोजिरहेका थिए ।

यसका साथै घडी भित्र अटाउने सक्नेगरी सानो नाम हुनु पनि उत्तिकै जरुरी थियो । हन्सले कम्पनीका लागि पाँच अक्षरको एउटा शब्द खोजिरहेका थिए । त्यसका लागि उनले लामो समय बिताए । हरेक कामलाई निपूण तरिकाले सम्पन्न गर्ने हन्सको लागि कम्पनीको नाम पनि उत्तिकै महत्त्वपूर्ण थियो । 

आफ्नो कम्पनीको लागि विशिष्ट र आकर्षक नाम खोज्ने क्रममा उनले कुनै अर्थपूर्ण भन्दा पनि छोटो शब्द खोजिरहेका थिए । अन्तत: घडीको साम्राज्य बनाउने यात्रामा रहेका हन्सले आफ्नो कम्पनीको लागि आफैँले एउटा नयाँ शब्द रचना गरे, ‘रोलेक्स’ । वास्तवमा रोलेक्सको कुनै अर्थ छैन ।

उनले कम्पनीको नाम खोज्न विभिन्न अक्षरहरूलाई जोडेर त्यसलाई नाम बनाउने प्रयास गरिरहे । यही क्रममा एकाबिहान उनी आफ्नो घोडामा सहर डुलिरहेका थिए । सोही समयमा उनको दिमागमा अचानक रोलेक्स नाम आयो ।

रोलेक्सको आधिकारिक वेबसाइटमा भने हन्सले आफ्नो कानमा आएर कसैले ‘रोलेक्स’ भनेको र सो नाम आफूलाई मन परेर त्यसैलाई कम्पनीको नाम राख्ने निर्णय गरेको बताएको उल्लेख छ । 

लामो समयको खोजपछि उनले कम्पनीको नाम रोलेक्स राख्ने सोचे र तत्कालै उनले सो नामलाई आफ्नो कम्पनीको ट्रेडमार्कको रुपमा दर्ता गराए । नाम परिवर्तन गरेको केही वर्षभित्रै रोलेक्स उच्च गुणस्तरका साथ बजारमा धेरै रुचाइएको घडी बन्न सफल भइसकेको थियो ।

अर्कोतिर रोलेक्स धनाढ्यहरूको रोजाइमा पनि पर्न गयो । प्रत्येक दिन रोलेक्स थप बलियो बन्दै गयो । रोलेक्सले सफलताको उचाइ एकपछि अर्को गर्दै लिइरह्यो । हन्स पनि आफ्नो सपना पूरा भएको हेर्दै थिए ।

यसैबीच पहिलो विश्व युद्ध सुरु भयो । विश्व युद्धका दौरान धेरै उद्योगहरू घाटामा गए ।  केही कम्पनीहरू त सदाका लागि बन्द पनि भए । यसले विश्वको अर्थतन्त्रलाई नै विनाश गरिरहेको थियो । तर रोलेक्सलाई भने विश्व युद्धले समेत छुन सकेन । 

विश्व युद्धले अन्य कम्पनीहरूलाई तहसनहस पारिरहेका बेला रोलेक्सको लागि भने यो समय अवसर बन्न पुग्यो । त्यस बेलासम्म रोलेक्स विश्वसनीय घडी उत्पादन गर्ने कम्पनीको रुपमा विश्व बजारमा स्थापित भइसकेको थियो । विश्वयुद्धले रोलेक्सलाई चर्चित मात्र बनाएन, यसका उत्पादनको बिक्रीलाई पनि बढाइदियो । 

विश्वयुद्धको समयमा धेरै सैनिकहरूलाई नाडीमा लगाउने रोलेक्सको घडी उपलब्ध गराइएको थियो । निश्चित समय दिने र प्रयोग गर्न पनि सहज हुने भएपछि युद्धमा जाने सैनिकहरूलाई रोलेक्स घडी वितरण गरियो ।

यसले कम्पनीको व्यवसाय बढाउन मद्दत गर्‍यो । अन्य कम्पनीहरू बन्द भइरहेको बेला रोलेक्सले भने कम्पनीमा कर्मचारी थपेर ६० पुर्‍याएको थियो । साथै उसले बेलायतमा ठूलो कार्यालय पनि स्थापना गरेको थियो । 

यससँगै कम्पनीले स्विट्जरल्यान्डबाट पहिलो ‘रिस्टवाच क्रोनोमिटर रेटिङ’ अर्थात वास्तविक समय दिने हाते घडीको पहिलो रेटिङ पनि प्राप्त गर्‍यो । त्यस्तै कम्पनीको विश्वसनीयताको लागि बेलायतको नेसनल फिजिकल ल्याबरेटोरीले रोलेक्सलाई क वर्गको सामग्री उत्पादन गर्ने कम्पनी भनेर पुरस्कृत पनि गर्‍यो ।

यी सम्मानसँगै बजारमा कम्पनीको विश्वसनीयता थप बलियो हुँदै गयो । यसले मानिसहरूलाई रोलेक्स खरिद गर्न झनै प्रेरित गर्न थाल्यो । हन्सको जीवनमा उनले सोचे जस्तै भइरहेको थियो ।

उनले सोचेको व्यवसाय अनि कायापलट गरिरहेको घडी लगाउने प्रचलन । तर सफलताको यो चुलीमा पुग्न जति कठिन थियो, त्यति नै कठिन त्यो चुलीमा टिकिरहनु थियो । सन् १९१४ मा बेलायत सरकारले त्यहाँ दर्ता भएका र अन्तर्राष्ट्रिय बजारमा सामान निर्यात गर्ने कम्पनीलाई ३३ प्रतिशतसम्म कर लगाउने निर्णय गर्‍यो । 

यो निर्णय हन्सका लागि चिन्ताको विषय बन्न पुग्यो । त्यसपछि उनले यो करको दायराबाट मुक्ति पाउन आफ्नो कम्पनीलाई स्विट्जरल्यान्डमा लगेर दर्ता गरे । उनले कम्पनी स्विट्जरल्यान्डमा लानु र आफू पनि बसाइसराइ गर्नुमा बेलायती सरकारको कर मात्र नभएर अर्को कारण पनि थियो । 

पहिलो विश्वयुद्धपछि बेलायतीहरूले जर्मन नागरिकलाई घृणा गर्न थालेका थिए । उनले आफ्नो कम्पनीको ट्रेडमार्क रोलेक्स बनाए पनि कम्पनीको नाम अझै पनि विल्सडोर्फ एन्ड डेभिस लिमिटेड नै थियो ।

जर्मन नाम भएकै कारण उनले आफ्नो कम्पनीको नाम पनि परिवर्तन गर्नुपर्‍यो । त्यसपछि उनले सन् १९१५ मा कम्पनीको नाम रोलेक्स वाच कर्पोरेसन लिमिटेड भनेर दर्ता गराए । त्यसको दश वर्षपछि हन्सले पाँचतारे ताज सहितको रोलेक्सको आधिकारिक लोगो पनि दर्ता गरे ।  

त्यसअघि सन् १९१९ मा उनले आफ्नो कम्पनीको मुख्यालय पनि स्विट्जरल्यान्डको बियानबाट जेनेभामा सारे । आज पनि रोलेक्सको मुख्य कार्यालय जेनेभामा नै छ । त्यसपछि कम्पनीले घडीको पाटपुर्जा बियानमा निर्माण गरी जेनेभामा पठाउने र जेनेभामा अन्तिम प्रारूप दिएर बिक्रीका लागि बजारमा उतार्ने काम गर्न थाल्यो । 

रोलेक्सलाई बहुमूल्य बनाउने हन्सको सपना अझै पनि रोकिएको थिएन । उनी आफ्नो उत्पादनलाई थप कसरी सुधार गर्ने भन्नेतिर लागि नै रहे । उनी रोलेक्सका घडीहरू स्थायी रूपमा सुरक्षित हुन जरुरी रहेको ठान्थे ।

व्यवसायिक सफलता बटुलिरहेको रोलेक्सको घडीमा धुलो नलाग्ने, पानीले नभिज्ने तथा कुनै तातो वा चिसो तापक्रमले असर नगर्ने नबनाएसम्म रोलेक्स एउटा निपूण घडीको रूपमा स्थापित नहुने भन्दै उनी थप अध्ययनतर्फ लागे । 

हामीले आज वाटरप्रुफ, डस्टप्रुफ भनेर सहजै प्राप्त गर्ने घडीहरू अथवा हामीले हाम्रो घडीमा हुनैपर्ने भनेर खोज्ने विशेषताहरू यिनै हन्सको परिकल्पना थियो । घडी बनाउनु मात्र होइन, उनको सपना घडी उद्योगमा इतिहास रच्नु पनि थियो ।     

यसका लागि उनले धेरै अध्ययन गरे । उनको यो अध्ययनले धेरै लामो समय लियो । यति लामो समय कि उनले भनेजस्तै सर्वोत्कृष्ट घडी बनाउनको लागि कम्पनीले सन् १९२६ सम्म पर्खिनुपर्‍यो । समय लामो थियो, तर हन्स अतालिएका भने थिएनन् । उनको अध्ययन र धैर्यताले ग्राहकको अनुभवलाई पनि निखार्दै लग्यो । 

लामो इतिहास बोकेको घडी उद्योगलाई नै खल्बलाउने गरी रोलेक्सले सन् १९२६ मा एउटा नयाँ मोडेल ‘रोलेक्स ओएस्टर’ सार्वजनिक गर्‍यो । रोलेक्स ओएस्टर इतिहासकै पहिलो वाटरप्रुफ घडी हो । यो घडीको पाटपुर्जामा कुनै असर नपर्ने गरी बाहिरी सिसा निकै बलियोसँग सिल गरिएको थियो ।

हन्सलाई थाहा थियो कि यो उत्पादन इतिहासकै क्रान्तिकारी उत्पादनको रूपमा बजारमा आउनेछ र धेरै मानिसले यसलाई मन पराउनेछन् । यद्यपि यस्तो युगान्तकारी उत्पादनलाई हन्सले निकै सामान्य रुपमा बजारमा प्रस्तुत गरे । 

बजारिकरणको आवश्यकता 

बेलायतमा मर्सिडिज गलाइट्जा नाम गरेकी एक महिला थिइन् । उनले बेलायतदेखि फ्रान्स सम्मको २०.५ माइल जलयात्रा पौडी खेलेरै पूरा गरेकी दाबी गरेकी थिइन् ।

तर धेरै मानिसहरूले उनको यो कुरालाई विश्वास नगरेपछि उनले पुन: हजारौं मानिसहरूको उपस्थितिमा २०.५ माइलको जलयात्रा जति नै पानी चिसो भएपनि पौडी खेलेर पूरा गर्ने घोषणा गरिन् । 

यो कुरा हन्ससम्म पुग्न धेरै समय लागेन । हरेक कुरामा अवसर देख्ने हन्सलाई मर्सिडिजको यो घोषणा पनि एउटा राम्रो अवसर बन्न पुग्यो । कम्पनीले वाटरप्रुफ घडी सार्वजनिक गरेको एक वर्ष पछि नै यस्तो घोषणा आएको थियो ।

त्यसलाई उनले आफ्नो घडी प्रवर्द्धन गर्ने मौकाको रुपमा लिए र मर्सिडिजको घाँटीमा रोलेक्स घडी नेक्लेस बनाएर लगाइदिए । पानीबाट सुरक्षित हुने घडीको प्रवर्द्धन र २०.५ माइलको जलयात्रा पौडीबाटै पूरा गर्ने दाबीलाई पूरा गर्ने मर्सिडिजको जलयात्रा १० घण्टा भन्दा बढी टिक्न सकेन ।

उनी आफ्नो गन्तव्यबाट धेरै टाढा थिइनन् । उनले करिब ७५ प्रतिशत यात्रा पूरा गरिसकेकी थिइन् । तर अत्यधिक चिसो पानीका कारण मर्सिडिजको सास नै रोकिने अवस्थामा पुगेपछि उनको उद्दार गरियो ।  

मर्सिडिजको यात्रा त पूरा भएन, तर रोलेक्सको घडीको यात्रा भने पूरा भयो । १० घण्टासम्म जलयात्रा गरेर बाहिर आएको रोलेक्स ओएस्टर जस्ताको तस्तै थियो । न पानीले न त पानीको तापक्रमले नै घडिलाई कुनै असर गर्न सक्यो ।

यो कुराले मानिसहरूलाई आश्चर्यचकित बनायो । त्यसपछि विभिन्न पत्रिकाहरूले शीर्षकमै क्रान्तिकारी घडीको रूपमा रोलेक्सलाई उभ्याएर मर्सिडिजको समाचार बनाए ।

यसले गर्दा विश्वभर कम्पनीको विज्ञापन निःशुल्क रूपमा हुन गयो । साथै कम्पनीले आफ्नो हरेक स्टोरमा एउटा फिशट्याङ्क (जिउँदो माछा पाल्न प्रयोग गरिने सिसाको भाँडा) मा जिउँदो माछासँगै घडी पनि राखेर प्रस्तुत गर्न थाल्यो ।

यसले मानिसहरूलाई निकै आकर्षित गर्‍यो । बाटोमा हिँड्दा फिशट्याङ्कमा माछासँगै राखिएको घडी हेर्न मान्छेहरू पनि एकछिन अडिने गर्थे । उत्पादनको बजारिकरणको यो उपायले रोलेक्सलाई धेरै मानिसहरूमाझ पुग्न मद्दत गर्‍यो । त्यसपछि भने हन्सले घडीको बजारिकरणमा समेत लगानी गर्न सुरु गरे । 

सन् १९२८ मा उनले बेलायतको निकै चर्चित मोडेल एभ्लिन लाएसँग मिलेर आफ्नो घडीको प्रवर्द्धन गर्ने सम्झौता गरे । रोलेक्सको वाटरप्रुफ घडीको प्रचारको लागि एभ्लिनले फिशट्याङ्कभित्र आफ्नो हात राखेर फोटो खिचाइन् । यो फोटो घडीको प्रचारमा निकै प्रयोग भयो । 

जसरी रोलेक्स घडीले बजारमा उचाइ लिइरहेको थियो, त्यसरी नै यसको बजारिकरणका लागि हन्स उचाइ चुम्न थाले । अर्थात् सन् १९३३ मा हन्सको रोलेक्स घडीको अर्को विज्ञापन सगरमाथामा थियो ।

विश्वमा माउन्ट एभरेष्टको नामले चिनिने नेपालको सोलुखुम्बुमा अवस्थित सगरमाथासम्म पुगेको पहिलो हवाईजहाजमा सवार चालक दलका सदस्यले रोलेक्स घडी लगाएका थिए । 

उडानबाट फर्किँदा उनीहरूले लगाएको घडी सकुशल नै थियो । यसको विषयमा धेरै पत्रपत्रिकाहरूले समाचार बनाए । यसले रोलेक्सको प्रचारलाई झन् विस्तार गर्‍यो । त्यस्तै सन् १९३५ मा चर्चित सवारी चालक माल्कम क्याम्पबेलले ३०० माइल प्रति घण्टाको स्पिड रेकर्ड राख्दा पनि उनले रोलेक्स घडी लगाएका थिए । 

त्यसपछि भने मानिसहरूले रोलेक्सलाई आकर्षक डिजाइनको लागि मात्र नभई दैनिक जीवनमा कुनै पनि अवस्थामा जुनसुकै बेला प्रयोग गर्न सकिने घडीको रूपमा परिभाषित गर्न थाले । कम्पनीको बजारिकरणको मामिलामा हन्सले त्यति बेला कुनै पनि कम्पनी सफल हुन राम्रो बजारिकरण जरुरी रहेको भनाइ राखेका थिए । 

कम्पनीको सफल र असफल मोडेलहरू 

त्यस समयसम्म रोलेक्सले आफ्नो उत्पादनका नयाँनयाँ मोडेल मार्फत मानिसहरूलाई घडी प्रति सोखिन बनाउन सफल भइसकेको थियो । सन् १९३१ मा कम्पनीले वाटरप्रुफ घडी रोलेक्स ओएस्टरको नयाँ मोडेल रोलेक्स ओएस्टर परपेचुअल सार्वजनिक गर्‍यो ।

यो संसारकै पहिलो वाटरप्रुफ र आफैँ समय मिलाउन सकिने घडी हो । तर यो प्रयोगकर्ताको लागि भने जटिल हुनपुग्यो । घडीलाई वाटरप्रुफ बनाउन कस्सिएको घडीको सिलले गर्दा त्यसको समय आफैँले मिलाउन सकिने सुविधालाई मुस्किल बनायो ।

यो एकदमै कस्सिएका कारण मानिसहरूले यसको सुई आफैँ घुमाउन सकेनन् । यसले गर्दा कम्पनीको यो मोडेलले बजारमा स्थान पाएन । 

त्यस्तै बजार पाउन नसकेको अर्को पनि मोडेल छ, जसमा हन्सले रोलेक्सको ठाउँमा आफ्नै नाम राखेर उत्पादन गरेका थिए । उनले आफ्नै नामको ट्रेडमार्क पनि बनाएका थिए । तर बजारमा धेरैले त्यो घडी मन पराएनन् ।

पहिलो विश्वयुद्ध पछि अपहेलित भएको जर्मनीलाई लिएर फ्रान्स, बेलायत र अमेरिकी बजारमा हन्सको नाम सहितको घडी टिक्न सकेन ।

व्यवसायको लामो इतिहास, बजारलाई दिएका नयाँ उत्पादन, प्रयोगकर्तामाझ सुरु गरेको नयाँ प्रचलन लगायत अन्य थुप्रै सकारात्मक प्रयासहरू हुँदाहुँदै पनि हन्सले आफू जन्मेको देश जर्मनीको नामकै कारण समय-समयमा आफ्नो कम्पनीको सफलताको लागि दोहोरो मेहनत गर्नुपरेको थियो । 

पहिलो विश्वयुद्धमा कसैले पनि हल्लाउन नसकेको रोलेक्सलाई  दोस्रो विश्वयुद्धले भने टिक्न दिएन । विश्वयुद्धका कारण रोलेक्सले आफ्नो उत्पादन स्विट्जरल्यान्डबाट अन्य देशमा निर्यात गर्न सकेन ।

यो कुराले हन्सलाई निकै तनावग्रस्त बनायो । उनको यो तनावलाई उनकी पत्नीको मृत्युले घाउमा नुनचुक छरे जस्तै भयो । सन् १९४४ मा हन्सकी पत्नीको मृत्यु भयो ।

उक्त पीडाबाट सकारात्मक ऊर्जा लिन उनले आफ्नी पत्नीको नाममा विल्सडोर्फ फाउन्डेसन स्थापना गरे । विभिन्न परोपकारी कामहरू गर्ने यो फाउन्डेसनलाई हन्सले आफ्नो मृत्यु अघि सबै सम्पत्ति दान दिए । 

दोस्रो विश्वयुद्धमा ध्वस्त भएको कम्पनी युद्ध सकिने बित्तिकै पुन: बजारमा उदाउन थाल्यो । सन् १९४६ सम्ममा कम्पनीले क्रोनोमिटरबाट प्रमाणित भएका ५० हजार रोलेक्स घडी बिक्री गरिसकेको थियो ।

अघिल्ला २० वर्षमा बिक्री भएका घडीको उक्त सङ्ख्याको आँकडामा कम्पनीले त्यसको एक वर्षमै अर्थात् सन् १९४७ मा  बढाएर एक लाख पुर्‍यायो । यो सफलताको पछाडि कम्पनीले सन् १९४५ मा सार्वजनिक गरेको रोलेक्स डेटजस्ट घडीको ठूलो भूमिका छ ।

उक्त घडी वाटरप्रुफ र आफैँ समय मिलाउन सकिने मात्र थिएन, सँगसँगै  त्यसमा कुन महिना हो भन्ने जानकारी पनि थियो । रोलेक्स डेटजस्ट घडी सार्वजनिक भएको एक दशकपछि कम्पनीले त्यसकै अर्को मोडेल रोलेक्स डे-डेट सार्वजनिक गर्‍यो । उक्त घडी भने महिनासँगै हप्ताको कुन बार हो भनेर देखाउने घडी थियो ।  

त्यसपछि रोलेक्सले एकपछि अर्को गर्दै नयाँनयाँ विशेषता सहितका घडी उत्पादन गर्न थाल्यो । सन् १९५३ मा कम्पनीले रोलेक्स सबमरिन् मोडेलको घडी सार्वजनिक गर्‍यो, जुन पानीमुनि १०० मिटरसम्म डुब्दा पनि केही नहुने पहिलो घडी थियो ।

सन् १९६० मा हन्सको मृत्यु भयो । उनको मृत्युपश्चात पनि रोलेक्स घडी संसारकै महँगो ब्रान्डको रूपमा आजपर्यन्त स्थापित छ ।हन्सको मृत्युपछि कम्पनीले धनाढ्यहरूलाई लक्षित गर्दै महँगा र एक्सक्लुसिभ घडीको मात्र उत्पादनमा आफूलाई केन्द्रित गर्‍यो ।

सन् १९८४ पछि कम्पनीले संसारको सबैभन्दा महँगो मानिने ९० एल नामक स्टिल मात्र प्रयोग गरेर घडीको उत्पादन गर्न सुरु गर्‍यो । यसले गर्दा पनि रोलेक्स महँगो ब्रान्ड बन्न पुग्यो । यसरी एउटा अनाथ जीवनबाट माथि उठेर हन्सले विश्वको घडी उद्योगलाई नै परिवर्तन गरिदिए ।

नयाँ डिजाइन र प्राविधिक आविष्कारप्रतिको लगनले आज पनि घडी उद्योगमा उनलाई एक प्रभावशाली व्यक्तित्वको रुपमा उभ्याएको छ । आजको दिनमा विल्सडोर्फ फाउन्डेसनमार्फत नै रोलेक्स कम्पनी चलिरहेको छ ।

यसको अर्थ हो, यो कम्पनी कहिल्यै पनि पब्लिक लिमिटेड हुने छैन र यसको बिक्री पनि हुने छैन । साथै दान तथा चन्दामा सञ्चालन हुने कम्पनी भएकाले यो कम्पनीले कहिल्यै पनि कुनै कर समेत तिर्नुपर्दैन ।   

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३