close

हाइड्रोजनमा आधारित विद्युतीय गाडी ल्याउँदै बीएमडब्लू र टोयोटा

टेकपाना टेकपाना

साउन २८, २०७९ १५:४३

हाइड्रोजनमा आधारित विद्युतीय गाडी ल्याउँदै बीएमडब्लू र टोयोटा

काठमाडौं । बीएमडब्लू र टोयोटाबीच लामो समयदेखि विद्युतीय सवारीसम्बन्धी साझेदारी चलिरहेकाे छ । हालै यी कम्पनीले संयुक्त रूपमा हाइड्रोजनबाट चल्ने विद्युतीय गाडी निर्माण गर्ने घाेषणा गरेका छन् ।

खबरअनुसार बीएमडब्लू र टोयोटाले सन् २०२५ मा हाइड्राेजन इन्धन सेल कार ल्याउनेछन् । इन्धन सेल एक इलेक्ट्रो केमिकल सेल हो, जसले इन्धनको रासायनिक ऊर्जा (हाइड्रोजन) र अक्सिडाइजिङ एजेन्ट (अक्सिजन) लाई रेडक्स प्रतिक्रियामार्फत जोडी बिजुलीमा रूपान्तरण गर्दछ ।

सोही बिजुलीलाई प्रयोग गरी विद्युतीय सवारी सञ्चालनमा आउने बताइएकाे छ ।

बीएमडब्ल्यू र टोयोटाले पछिल्ला केही वर्षहरूमा धेरै विद्युतीय कारहरूमा सहकार्य गरेका छन् । यी कम्पनीले सन् २०१३ को सुरुमा ग्रिन भेहिकल टेक अलायन्स अर्थात् विद्युतीय सवारी निर्माणमा सहकार्य गर्ने सम्झौता गरेका थिए ।

हाल सञ्चालनमा भइरहेको विद्युतीय सवारीको तुलनामा इन्धन सेलमा आधारित सवारी बढी प्रभावकारी हुने बीएमडब्लूको दाबी छ ।

इन्धन सेल कारहरू केही मिनेटमा नै रिफिल गर्न सकिने कम्पनीको भनाइ छ ।

अहिले विभिन्न कम्पनीहरूले विद्युतीय सवारीलाई चार्ज गर्ने समय कसरी घटाउने भन्नेतर्फ काम गरिरहेको अवस्थामा इन्धन सेलमा आधारित सवारीले यसको समाधान गर्ने अनुमान छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३