close

अश्लील सामग्री अपलोड गर्ने पोर्न साइटविरूद्ध तयार पारिएको वृत्तचित्र

टेकपाना टेकपाना

साउन २९, २०७९ ११:२७

अश्लील सामग्री अपलोड गर्ने पोर्न साइटविरूद्ध तयार पारिएको वृत्तचित्र

काठमाडाैं । केही सातादेखि ‘दी माेस्ट हेटेड म्यान अन दी इन्टरनेट’ चर्चामा छ । याे ओटीटी प्लेटफर्म नेटफ्लिक्सबाट प्रसारण भएकाे वृत्तचित्र हाे, जुन ‘रिभेन्ज पाेर्न साइट’ र यसका सञ्चालक विरूद्धकाे कथामा आधारित छ ।

‘रिभेन्ज पाेर्न साइट’ले अनुमतिबिना कसैकाे अश्लील फाेटाे, भिडिओ वा अन्य सामग्री वेबसाइटमा राख्छन् ।

वास्तविक कथामा तयार भएकाे याे वृत्तचित्रले सार्वजनिक रूपमा प्रशंसासँगै आलोचना पाइरहेकाे छ ।

यसले रिभेन्ज पाेर्न साइट ‘इज एनिवान अप डटकम’ (IsAnyoneUp.com) काे कुकर्मलाई पर्दाफास गर्ने कोसिस गरेकाे छ ।

याे वेबसाइटमा पाेस्ट भएका फाेटाेहरुबाट वास्तविक मानिसहरुकाे जीवनमा पुन: असर नपर्ने तरिकाले तत्कालीन घटनालाई रचनात्मक रूपमा वृत्तचित्रमा उतारिएकाे छ ।

यसमा हन्टर माेर (Hunter Moore) र उनकाे आपराधिक गतिविधिकाे कथा बुनिएकाे छ । अमेरिकाका माेर सन् २०१० काे दशककाे सुरुवाततिर आफ्नो कामले कुख्यात थिए ।

उनले अनुमतिबिना मानिसहरू (अधिकांश महिला) को अश्लील फोटोहरू सार्वजनिक रुपमा वेबसाइटमा पोस्ट गर्थे । हन्टरले सन् २०१० मा याे रिभेन्ज-पोर्न वेबसाइट सुरू गरेका हुन् ।

वेबसाइटका प्रयोगकर्ताहरूले पनि अज्ञात रूपमा नग्न महिलाहरूको फोटो र भिडिओहरू पोस्ट गर्थे ।

त्यतिमात्रै नभएर ती महिलाहरूको सामाजिक सञ्जाल ह्यान्डलहरू पनि वेबसाइटमा शेयर गरिन्थ्याे ।

महिला र उनीहरूका परिवारले फोटोहरू हटाउनका लागि विनम्र अनुरोध गर्दा पनि हन्टर माेर त्यसै टारिदिन्थे ।

सबैभन्दा सुरुमा माेरकाे त्याे कुकर्मबारे चार्लाेट लज (Charlotte Laws)ले आवाज उठाइन् । उनी अमेरिकाकी लेखिका र सामाजिक अभियन्ता पनि हुन् ।

उनकै छोरी कायलाको अनाधिकृत तस्वीरहरू माेरले आफ्नो पाेर्न वेबसाइटमा पोस्ट गरेका थिए ।

चार्लाेट लजले माेरको त्यस्ताे कार्यलाई व्यक्तिगत रिसिबीका रुपमा लिएकी थिइन् ।

उनले त्यस मुद्दाबारे आवाज उठाउने र त्यस विरुद्धमा कारबाही गर्ने व्यक्तिहरु नभेटिन्जेल अन्य पीडितहरू र अधिकारकर्मीसँग सम्पर्क गरिरहिन् ।

चार्लोट लजका कानूनी प्रयासले जब फल पायो, तब २०१४ मा अमेरिकी संघीय अनुसन्धान ब्यूरो (एबफीआई)ले हन्टर मोरलाई गिरफ्तार गर्‍याे ।

हन्टर मोरलाई अदालतले दोषी ठहर गर्‍याे र साढे दुई वर्ष जेल र २० हजार डलर जरिवाना सजाय सुनायो । त्यस्तै उनलाई आजीवन सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाइयो ।

तीन भागमा तयार पारिएकाे यस वृत्तचित्रलाई रोब मिलरले निर्देशन गरेका हुन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३