close

एकैपटक धेरै डिभाइस जोडिदिने ‘मल्टिपोइन्ट ब्लुटुथ’, कसरी गर्छ काम ?

टेकपाना टेकपाना

साउन २९, २०७९ १६:०

एकैपटक धेरै डिभाइस जोडिदिने ‘मल्टिपोइन्ट ब्लुटुथ’, कसरी गर्छ काम ?

काठमाडौं । मल्टिपोइन्ट ब्लुटुथ एउटा त्यस्तो फिचर हो, जसबाट एकै समयमा धेरै ब्लुटुथ डिभाइस कनेक्ट गर्न सकिन्छ । हामीले प्रयोग गर्ने हेडफोन, इयरबड, एयरपड वा स्पिकरलाई विभिन्न डिभाइसमा प्रयोग गर्नुपर्‍याे भने मल्टिपोइन्ट ब्लुटुथ कनेक्सन फिचर उपयोगी हुन्छ ।

यसका माध्यमबाट तपाईंले कुनै पनि ब्लुटुथ डिभाइस दुई ओटा वा त्यसभन्दा बढी डिभाइसमा कनेक्ट गर्न सक्नुहुन्छ । मानौं तपाईं आफ्नो ब्लुटुथ हेडफोनमा ल्यापटपमा बजिरहेको सङ्गीत सुन्दै हुनुहुन्छ, त्यही समयमा तपाईंको फोनमा कल आयो, अब के गर्नुहुन्छ ?

त्यस्तो अवस्थामा कानबाट हेडफोन हटाएर फोन कल रिसिभ गर्नुपर्छ । तर, मल्टिपोइन्ट ब्लुटुथ फिचर भएको ब्लुटुथ डिभाइस प्रयोग गर्नुभएको छ भने तपाईंले सोही हेडफोनबाट केही परिवर्तन नगरी कल रिसिभ गरेर त्यसैबाट कुरा गर्न सक्नुहुन्छ

मल्टिपोइन्ट ब्लुटुथ डिभाइसले कुन डिभाइसमा फोन आएको छ भन्ने पहिचान गरी स्वतः सो डिभाइसलाई कनेक्ट गर्छ ।

एक दशक लामो इतिहास

ब्लुटुथले हाम्रो दैनिकी केही सहज बनाएको छ । तर कहिलेकाहिँ ब्लुटुथ डिभाइसलाई कनेक्ट गर्दा पेयरिङ नहुँदा समस्या पनि हुने गर्छ ।

कतिपय अवस्थामा विभिन्न डिभाइसमा ब्लुटुथ अन हुँदा पनि कनेक्ट गर्न समस्या आउन सक्छ ।

यही र यस्तै विविध समस्यालाई समाधान गर्न ब्लुटुथ मल्टिपोइन्ट निर्माण गरियो । यसले एउटै स्पिकर वा हेडसेटलाई विभिन्न डिभाइसमा कनेक्ट गर्न सघाउने भएकोले पहिले आएका समस्या समाधान भए ।

मल्टिपोइन्ट ब्लुटुथ शब्द धेरै प्रचलित नरहेकोले हामीलाई यो हालसालै आएको हो कि भन्ने लागेको हुनसक्छ । तर, मल्टिपोइन्ट ब्लुटुथ सार्वजनिक भएको १२ वर्षभन्दा बढी भइसकेको छ ।

ब्लुटुथ पहिलो पटक सन् १९९९ मा सार्वजनिक भएपनि सन् २००० पछि मात्र आधिकारिक रूपमा बजारमा आएको हो । यस हिसाबले हेर्दा ब्लुटुथभन्दा मल्टिपोइन्ट ब्लुटुथ १० वर्षपछि सार्वजनिक भएको हो ।

एसआईजी वा ब्लुटुथ स्पेसल इन्ट्रेस्ट गु्रपले मल्टिपोइन्ट ब्लुटुथ सन् २०१० मा सार्वजनिक गरेको भएपनि लामो समयसम्म सर्वसाधारण यो शब्दबाट अपरिचित थिए ।

कसरी गर्छ काम ?
प्रायः सबै मल्टिपोइन्ट ब्लुटुथ डिभाइसहरू एड होक मिनि नेटवर्क (Ad–hoc mini network) मा आधारित हुन्छन् ।

एड होक नेटवर्क भनेको त्यसको लोकल एरिया नेटवर्क हो, जसले एकैपटकमा दुई वा दुईभन्दा बढी डिभाइसलाई अन्य डिभाइसमा कनेक्ट गराउँछ । उदाहरणका लागि वाई–फाई, ब्लुटुथ ।

मल्टिपल ब्लुटुथमा हुने एड होक नेटवर्कको सहायताले विभिन्न वायरलेस डिभाइस जस्तै माउस, कीबोर्ड, गेम कन्ट्रोलरलाई एउटा वाई–फाई नेटवर्क जसरी प्रयोग गर्न सकिन्छ ।

तर, ब्लुटुथ केही सीमित दूरीका लागि मात्र बनाइएको हुन्छ । सामान्यतः ब्लुटुथ डिभाइस ३० देखि १०० फिटको दूरीसम्म काम गर्न सक्षम हुन्छन् । कतिपयमा यो भन्दा बढी दूरी पनि राखिएको हुन्छ ।

जब ब्लुटुथ अडियो डिभाइसको कुरा आउँछ, तब हाम्रो मानसपटलमा दुई ओटा डिभाइसलाई एक आपसमा कनेक्ट गरेको कुरा याद आउँछ । जसमा हामी हाम्रो फोन र ब्लुटुथ डिभाइस कनेक्ट गरेको सम्झिन्छौं ।

ब्लुटुथ मल्टिपोइन्टले विभिन्न डिभाइसलाई एउटा ब्लुटुथ डिभाइस (स्पिकर, ब्लुटुथ, हेडसेट, माउस, कीबोर्ड आदि) मा कनेक्ट गराउँछ ।

उदाहरणका लागि तपाईंसँग कुनै मल्टिपोइन्ट ब्लुटुथ फिचरसहितको एयरबड छ र त्यसलाई विभिन्न डिभाइसमा कनेक्ट गर्नुभएको छ । अब तपाईंले जुन डिभाइसको अडियो सुन्न मन लाग्यो, सो डिभाइसको अडियो एयरबडमा सुन्न सक्नुहुन्छ ।

विशेषगरी हामी कम्प्युटरमा म्युजिक सुन्दै काम गरिरहेका छौं र हाम्रो फोनमा कल आयो भने अब मल्टिपोइन्ट ब्लुटुथले फोन आएको डिभाइसलाई डिटेक्ट गरी त्यसलाई एयरबडसँग जोड्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३