close

फोनपेबाट क्यूआर भुक्तानी गरेपछि नोटिफिकेसन बज्ने डिभाइस

टेकपाना टेकपाना

साउन २९, २०७९ १६:५७

फोनपेबाट क्यूआर भुक्तानी गरेपछि नोटिफिकेसन बज्ने डिभाइस

काठमाडौं । फोनपेबाट क्यूआर भुक्तानी गर्दा नोटिफिकेसन बज्ने डिभाइस तयार भएको छ । यो डिभाइस स्टार्टअप कम्पनी काइचो ग्रुप प्रालिले विकास गरेको हो ।

कम्पनीका अनुसार सेवाग्राहीले क्यूआर भुक्तानी गरेपछि डिभाइसले स्वतः रकम प्राप्त भएको नोटिफिकेसन (आवाज) सुनाउँछ ।

यसबाट विशेषगरी पसल, होटल/रेस्टुराँ, मार्टलगायत सानादेखि ठूला व्यवसायीले लाभ लिनसक्ने कम्पनीका प्रमुख सुमन पौडेलले बताए ।

यो डिभाइस प्रयोग गरी मोबाइल साथमा नभएपनि रकम प्राप्त गरेको नोटिफिकेसन थाहा पाउन सकिने उनको भनाइ छ ।

‘धेरैजसो पसल, मार्ट तथा होटलहरूमा फोनपेसँग जोडिएको माेबाइल नम्बर मालिकले बोकेका हुन्छन् । फोनपेबाट भुक्तानी गरेपछि कर्मचारीले पैसा आए/नआएको पत्ता लगाउन सोध्नुपर्ने हुन्छ,’ उनले भने, ‘मेसेज आउन पनि कहिलेकाहिँ समय लाग्छ । यस्तो समयमा यो डिभाइसले सहयोग गर्नसक्छ ।’

रकम भुक्तानी भएपछि भोइसमार्फत नै कति रकम भुक्तानी भएको हो, त्यसको नोटिफिकेसन तीनदेखि पाँच सेकेन्डभित्रै आउने उनले बताए ।

‘यो डिभाइसको प्रोटोटाइप फोनपेलाई पनि पठाइसकेका छौं । उताबाट स्वीकृति पाउने बित्तिकै फोनपेकै सहकार्यमा यसलाई बजारमा लानेछौं,’ उनले टेकपानासँग भने ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३