close

झनै महँगो हुनसक्छ नयाँ आउने आईफोन 

टेकपाना टेकपाना

साउन २९, २०७९ १७:२९

झनै महँगो हुनसक्छ नयाँ आउने आईफोन 

काठमाडौं । एप्पल विश्लेषक मिङ्ग-चि कूओका अनुसार एप्पलले आईफोन १४ लाई आईफोन १३ भन्दा झनै महँगो बनाउनसक्ने देखिएको छ ।

आईफोन १४ लाइनअपको समग्र औसत बिक्री मूल्य (एएसपी) आईफोन १३ को तुलनामा १५ प्रतिशतले वृद्धि हुने कूओको अनुमान छ ।

उदाहरणका लागि स्ट्यान्डर्ड आईफोन १३ को मूल्य ७९९ अमेरिकी डलरबाट सुरु हुन्छ, जब कि प्रो र प्रो म्याक्स मोडलको मूल्य क्रमशः ९९९ अमेरिकी डलर र १०९९ अमेरिकी डलरमाथि छ ।

कूओले आईफोन १४ का प्रत्येक उपकरणको मूल्य पूर्वानुमान त गरेका छैनन् । तर उनले त्यसको औसत बिक्री मूल्य करिब १००० डलरदेखि १०५० डलरको बीचमा हुने अनुमान गरेका छन् ।

आईफोन प्रो र प्रो म्याक्स थप महँगो हुने र ती मोडलको हिस्सा समेत बढी हुने भएकाले औसत बिक्री मूल्य बढ्ने कूओको ठम्याइ छ । जुनमा वेडबश सेक्युरिटीका विश्लेषक डेभ इभ्सले विश्व आपूर्ति शृङ्खला खलबलिएका कारण आईफोन १४ को मूल्य आईफोन १३ को तुलनामा १०० डलर महँगो हुने प्रक्षेपण गरेका थिए ।

जब कि कोरियन लिकर ल्यान्जकले भने आईफोन १४ को प्रो मोडलको मात्रै मूल्य बढ्ने, तर त्यसको आधारभूत मोडेलको मूल्य यथावत् रहने सङ्केत गरेका थिए ।

आईफोन १४ को आधारभूत मोडल सुधारिएको ४८ मेगापिक्सेल रियर क्यामेरा र अटोफोकस सहितको सेल्फी क्यामेरा रहने अपेक्षा गरिएको छ । त्यस्तै आईफोन १४ प्रो र प्रो म्याक्स मोडलमा समेत थुप्रै अपग्रेड देख्न पाइनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३