close

टेलिकमको आम्दानी चार वर्ष यताकै उच्च, एक वर्षकै कमाइ ४४ अर्ब ३२ करोड

टेकपाना टेकपाना

साउन ३०, २०७९ १५:१३

टेलिकमको आम्दानी चार वर्ष यताकै उच्च, एक वर्षकै कमाइ ४४ अर्ब ३२ करोड

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले एक वर्षमै ४४ अर्ब ३२ करोड तीन लाख रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ मा अघिल्लो आवको तुलनामा दुई अर्ब ११ करोड १४ लाख ५४ रुपैयाँले आम्दानी बढाएको हो ।

यो आम्दानी पछिल्लो चार वर्षयताकै उच्च हो । कम्पनीले आर्थिक वर्ष २०७४/०७५ मा ४५ अर्ब २७ करोड आम्दानी गरेको टेलिकमले त्यसपछि २०७७/७८ सम्म क्रमशः  ४३ अर्ब ४८ करोड रुपैयाँ, ४१ अर्ब ४९ करोड रुपैयाँ र ४२ अर्ब २१ करोड रुपैयाँ आम्दानी गरेको थियो ।

पछिल्लो एक वर्षमा टेलिकमले आफ्नो आम्दानी पाँच प्रतिशतले बढाएको हो ।

टेलिकमले कार्य सञ्चालन आयतर्फ फोरजी भ्वाइस र डेटाबाट हुने आम्दानी तीन अर्ब रुपैयाँले वृद्धि गरेको छ ।

कम्पनीले सार्वजनिक गरेकाे आर्थिक वर्ष २०७८/०७९ को वित्तीय प्रतिवेदनमा जीएसएम भ्वाइसतर्फ दुई अर्ब ५५ करोड रुपैयाँ र जीएसएम डेटातर्फ ५० करोड रुपैयाँले आम्दानी वृद्धि भएको उल्लेख छ ।

फोरजी सेवाको विस्तारले गर्दा जीएसएमतर्फ भ्वाइस र डेटामा आम्दानी वृद्धि देखिएको कम्पनीले जनाएको छ ।

तर कार्यसञ्चालन तर्फकै घरेलु अन्तर आवद्धतामा भने ७० करोड रुपैयाँ गिरावट देखिएको छ, जसमा अन्तर आवद्धता ट्यारिफमा आएको कमी र ओटीटी सेवाको बढ्दो प्रयोगलाई जिम्मेवार ठहर्‍याइएको छ ।

त्यस्तै र सीडीएम सेवालाई जीएसएम सेवामा प्रतिस्थापन गरिएका कारण त्यसबाट हुने आम्दानी समेत १२ करोड रुपैयाँले कमी आएको छ । 

झण्डै दुई अर्बले बढ्यो कूल सञ्चालन आय 

कम्पनीको भर्खरै सार्वजनिक भएको २०७९ असार मसान्तसम्मको कूल सञ्चालन आय एक अर्ब ९५ करोड ४२ लाख ७५ हजार (अर्थात ५.४४ प्रतिशत) ले वृद्धि भएको छ ।

अघिल्लो आर्थिक वर्षमा ३५ अर्ब ९३ करोड ५६ लाख ८३ हजार रहेको यस्तो आय पछिल्लो आवमा बढेर. ३७ अर्ब ८८ करोड ९९ लाख ५८ हजार रुपैयाँ पुगेको हो । 

खुद मुनाफा सवा अर्ब 

त्यस्तै टेलिकमको गत आवको असार मसान्तसम्मको खुद मुनाफा एक अर्ब २५ करोड ६ लाख ४७ हजारले वृद्धि भएर आठ अर्ब ३८ करोड ८८ हजार रुपैयाँ पुगेको छ । जब कि अघिल्लो आर्थिक वर्ष २०७७/७९ मा कम्पनीको खुद मुनाफा सात अर्ब १२ करोड ९४ लाख ४१ हजार रहेको थियो ।

त्यस बाहेक कम्पनीले गैर कार्य सञ्चालन तर्फको आयमा समेत वृद्धि गरेको छ । जसअनुसार बैंक ब्याजदरमा भएको परिवर्तनका कारण ब्याज आम्दानी करिब ७७ करोडले वृद्धि भएको छ ।

त्यस्तै विदेशी विनिमय दरमा भएको परिवर्तनका कारण कम्पनीलाई करिब ३७ करोड रुपैयाँ विदेशी मुद्रा आर्जन भएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३