close

भदौ ३० देखि औपचारिक रुपमा एमडीएमएस लागू हुँदै

टेकपाना टेकपाना

साउन ३०, २०७९ १८:४

भदौ ३० देखि औपचारिक रुपमा एमडीएमएस लागू हुँदै

काठमाडौँ । आउँदो भदौ ३० देखि नेपालमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) औपचारिक रुपमा कार्यान्वयनमा आउने भएको छ ।

नेपालमा गैरकानूनी रुपमा भित्रिने मोबाइल फोनहरुको अनधिकृत आयात नियन्त्रण गर्न नेपाल दूरसञ्चार प्राधिकरणले एमडीएमएस लागू गर्न लागेको हो ।

हालै राजधानीमा आयोजित एक कार्यक्रममा प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले यसबारे जानकारी दिएका हुन् ।

कुनै विशेष परिस्थितिबाहेक आगामी भदौ ३० बाट एमडीएमएस सिस्टम सुरु हुने उनको भनाइ थियो । गत वर्ष नै कार्यान्वयनमा आउने भनिए पनि प्राविधिक तयारी नपुगेकाले पूर्ण रुपमा यो प्रणाली लागू भएको थिएन ।

हाल व्यवसायिक आयातकर्ताले मोबाइलको आयात गर्दा आईएमईआई रजिस्ट्र्र्रेसन मोबाइल डिभाइस मेनेजमेन्ट सिस्टम मार्फत गर्ने व्यवस्था मिलाइएको छ । त्यस्तै व्यक्तिगत रूपमा आयात गरेको मोबाइलको दर्ता प्राधिकरणको वेबसाइटबाट गर्न सकिने व्यवस्था ल्याइएकाे छ ।

यो प्रणाली पूर्ण रूपमा लागू भए वैध मोबाइल फोन मात्र पहिचान गर्न सकिने र अवैध मोबाइल फोन प्रयोग निरुत्साहित हुने अपेक्षा गरिएको छ ।

एमडीएमएस सिस्टममा नियामकसँगै भन्सार, प्रहरी, मोबाइल सेवाप्रदायक र आयातकर्ता कम्पनीको पहुँच हुने बताइएकाे छ ।

कार्यक्रममा बोल्न्र क्रममा मोबाइल फोन इम्पोर्ट्स एसोसियसनका अध्यक्ष दीपक मल्होत्राले विलासिताको वस्तुको रुपमा वर्गीकरण गरी मोबाइल फोन आयातमा प्रतिबन्ध लगाइएकोमा दु:ख व्यक्त गरे ।

सरकारले विदेशी मुद्रा सञ्चितिमा कमी नहोस् भन्ने उद्धेश्य राखेर मोबाइल आयतमा प्रतिबन्ध लगाउन खोजे पनि गैरकानूनी मार्गबाट भन्सार छलीका फोनहरु लाखौँको सङ्ख्यामा भित्रिँदा रेमिट्यान्समार्फत स्वदेश भित्रिने डलरमा समेत नकारात्मक असर पुग्नुका साथै सरकारले अरबौँ राजस्वसमेत गुमाउनु परेको उनको भनाइ थियो ।

‘गैरकानूनी रुपमा भित्रिने फोनमध्ये चोरीका, रिफर्बिस फोनहरु समेत आउने हुँदा एकातिर उपभोक्ताहरु ठगीमा पर्ने गरेका छन् भने अर्कातिर राजस्व घट्ने तथा मोबाइल व्यवसायीको व्यापारमा व्यापक गिरावट आई कर्मचारीहरुकाे कटौतीसम्म गर्नुपर्ने बाध्यताले हजारौँको सङ्ख्यामा बेरोजगारी दर वृद्धि हुने अवस्था आएको छ,’ उनले भने ।

मोबाइल फोनको व्यवसायमा देखिएको यो अनधिकृत आयातबाट उत्पन्न भयावह स्थितिले नेपाल प्रहरीको अनुसन्धान कार्यमा समेत कठिनाइ भइरहेको हुँदा एमडीएमएस लागू गर्न अब ढिला गर्न नहुने कुरामा उनले जोड दिए ।

कार्यक्रममा मोबाइल फोन इम्पोर्टस एसोसियसनका उपाध्यक्ष सञ्जय अग्रवालले आउँदो भदौ ३० देखि औपचारिक रुपमा एमडीएमएस सुरुवात हुनेमा आशा प्रकट गरे । यो व्यवस्था नेपाल दूरसञ्चार प्राधिकरण र सम्पूर्ण मोबाइल व्यवसायीहरुलाई मात्र नभई देशको सुरक्षासँग पनि जोडिएको बताउँदै उनले सबैले यसलाई सफल तुल्याउनुपर्ने भनाइ राखे ।

सोही कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक सुरेन्द्रलाल हाडाले एमडीएमएसको महत्त्व, विशेषता र प्रबिधिक पक्षबारे व्यापक विश्लेषण गर्दै यसको व्यावहारिक कार्यान्वयनका बारेमा जानकारी दिएका थिए ।

कार्यक्रममा नेपाल टेलिकम, एनसेल, स्मार्टसेल लगायतका प्रतिनिधिले पनि आ-आफ्ना विचार राखेका थिए ।

सम्बन्धित समाचार: कसरी गर्ने मोबाइलको आईएमईआई दर्ता ?

के हाे एमडीएमएस ?

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३