close

अध्ययन भन्छ- भ्वाइसतर्फ एनसेल र डेटामा नेपाल टेलिकमको सेवा राम्रो

टेकपाना टेकपाना

साउन ३०, २०७९ २१:२७

अध्ययन भन्छ- भ्वाइसतर्फ एनसेल र डेटामा नेपाल टेलिकमको सेवा राम्रो

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले गरेको एक अध्ययनमा भ्वाइसतर्फ एनसेल र डेटामा नेपाल टेलिकमको सेवा राम्रो पाइएको छ । काठमाडौं उपत्यकामा केही स्थानमा प्राधिकरणले गरेको सो अध्ययनले यस्तो निष्कर्ष निकालेको हो ।

गत असार १२ गतेदेखि २२ गतेसम्म उपत्यकाका टंगाल, हाँडीगाउँ, सानो गौचरण, बौद्ध, चाबहिल, गौरीघाटलगायतका क्षेत्रमा प्राधिकरणले नेपाल टेलिकम, एनसेल आजियाटा र स्मार्टसेलको नेटवर्कको गुणस्तर परीक्षण गरिएको थियो ।

ड्राइभ टेस्ट (यसमा कुनै एक स्थानमा उपलब्ध सबै सेवाप्रदायकको गुणस्तर मापन एकै साथ गरिन्छ) मार्फत गरिएको सो परीक्षणमा समग्रमा गुणस्तरीय सेवा प्रदान गर्न सबै कम्पनी असफल भएपनि तुलनात्मक रूपमा भ्वाइसमा एनसेलकाे सेवा राम्राे देखिएकाे छ ।

हरेक सेवा प्रदायकले कुनै एक स्थानमा उपलब्ध गराएको नेटवर्क (फोरजी, थ्रीजी र टुजी) मध्ये सर्वाधिक अनुकूल नेटवर्क स्वचालित रूपमा छनोट हुने गरी कलको परीक्षण गरिएको थियो ।

त्यसरी भएको परीक्षणमा कल स्थापना हुने दरमा एनसेलमात्रै सफल भएको छ । निर्धारित मापदण्ड अनुसार फोनकल स्थापना हुने दर ९९ प्रतिशत वा त्योभन्दा बढी हुनुपर्नेमा टेलिकमको ९५.७१, स्मार्टको ९४.५२ प्रतिशत, एनसेलको १०० प्रतिशत रहेको छ ।

त्यस्तै कल लाग्ने समयकाे न्यूनतम मापदण्ड पूरा गर्न सबै सेवा प्रदायक असफल देखिएका छन् ।

मापदण्डअनुसार कल हुन लाग्ने समय ५ सेकेन्ड वा त्योभन्दा कम हुनुपर्छ । तर नेपाल टेलिकमको ७.२७ सेकेन्ड रहेको छ । स्मार्टको ९.३ सेकेन्ड र एनसेलको ५.१३ सेकेन्ड देखिएको छ ।

त्यस्तै आफैं फोनकल वा सम्पर्क विच्छेद हुने दरमा भने सबै सेवा प्रदायक मापदण्ड पूरा गर्न सफल भएका छन् । प्राधिकरणका अनुसार आफैं फोनकल विच्छेद हुने दर दुई प्रतिशत वा त्योभन्दा कम हुनुपर्नेछ ।

उपत्यकामा भएको परीक्षणमा आफैँ फोनकल विच्छेद हुने दरमा सबै सेवा प्रदायकको शुन्य प्रतिशत देखिएको छ ।

त्यस्तै कल ब्लक रेट (ग्रेड अफ सर्भिस) मा पनि एनसेलले प्राधिकरणको मापदण्ड पूरा गर्दा नेपाल टेलिकम र स्मार्टसेल असफल देखिएका छन् ।

प्राधिकरणका अनुसार कल ब्लक रेट दुई प्रतिशत वा सोभन्दा कम हुनुपर्ने हुन्छ । अध्ययनको क्रममा एनसेलको कल ब्लक रेट शुन्य प्रतिशत रहँदा टेलिकमको ४.२९ प्रतिशत र स्मार्टको ५.४८ प्रतिशत देखिएको छ

त्यसैगरी, डेटाको हकमा पिङ ३२ बाइट्स राउन्ड ट्रिप टाइममा पनि तीनवटै सेवा प्रदायक सफल देखिएका छन् ।

यसअन्तर्गत टेलिकमको ९०.८ एमएस, स्मार्टको १७२.९३ एमएस र एनसेलको १९२.८९ एमएस रहेको छ । जब कि प्राधिकरणको मापदण्डले २५० एमएस तोकेको छ ।

त्यो हिसाबले डेटातर्फ भने नेपाल टेलिकम अन्य सेवा प्रदायकको तुलनामा अब्बल सावित भएको छ । 

यस्ताे छ मोबाइल सेवाको गुणस्तर परीक्षण प्रतिवेदन 

DT-Report-Kathmandu-Valley-2079-Asar

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३