close

क्रिप्टोकरेन्सीमाथि प्रतिबन्ध लगाउन आवश्यक छैनः पूर्व अर्थमन्त्री पाण्डे

टेकपाना टेकपाना

साउन ३१, २०७९ १४:४

क्रिप्टोकरेन्सीमाथि प्रतिबन्ध लगाउन आवश्यक छैनः पूर्व अर्थमन्त्री पाण्डे

काठमाडौं । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले क्रिप्टो प्रविधिलाई राेक्न असम्भव रहेकाे धारणा राखेका छन् । क्रिप्टाे प्रविधि विकेन्द्रित हुने र पियर-टु-पियर मोडलमा चल्ने हुँदा यसलाई रोक्न नसकिने उनकाे बुझाइ छ ।

नेकपा एमालेका उपाध्यक्ष एवं प्रतिनिधि सभा सदस्यसमेत रहेका पाण्डेले अहिलेकाे सरकारले क्रिप्टाे प्रविधिलाई बुझ्न नसकेकाे गुनासाे गरे ।

एक पोडकास्टमा बाेल्दै उनले नयाँ प्रविधिलाई नबुझ्दा नेपालमा अवैधानिक करार गर्ने परिपाटी रहेकाे तर्क गरे ।

‘राजनीतिकर्मीभन्दा प्रविधि धेरै अगाडि छ । प्रविधिलाई उनीहरूले बुझेका हुँदैनन् र यसलाई कसरी नियमन गर्ने भन्ने विषयमा पनि जानेका हुँदैनन्,’ उनी भन्छन्, ‘यस्तोमा सरकारले प्रविधिलाई नै प्रतिबन्ध लगाइदिन्छ ।’

क्रिप्टोकरेन्सीलाई सरकारले हाल नियन्त्रण गरेको, तर अब यसलाई नियन्त्रण गर्न नसकिने हुँदा आफ्नो क्षमता बढाउनतर्फ लाग्न उनले सुझाव दिए ।

यसमा नियामक निकाय नेपाल राष्ट्र बैंकको महत्त्वपूर्ण भूमिका हुने बताउँदै उनले सूचना प्रविधि क्षेत्रलाई मात्र समेटेर छुट्टै खर्च गर्नुपर्नेमा जाेड दिए ।

छिमेकी देशहरू चीन र भारतले पनि क्रिप्टोकरेन्सी स्वीकारी सकेको अवस्थामा नेपालले अवैध भनेर प्रतिबन्ध लगाइरहन नहुने पाण्डेकाे मत छ ।

‘चीन र भारतले क्रिप्टोलाई स्वीकारेर यसलाई नियमन गरिरहेका छन् । यस विषयमा ती देशले थप अध्ययन गर्दै गलत काम भएको ठाउँमा कारबाही गर्ने र सही गर्नेलाई प्रोत्साहन गर्ने तरिकाले नियम पनि ल्याइसकेका छन्,’ उनले भने, ‘त्यसैले नेपाल राष्ट्र बैंकले क्रिप्टोलाई प्रतिबन्धभन्दा पनि यससम्बन्धी थप अध्ययन गरेर अगाडि बढ्नु आवश्यक छ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३