close

टिकटकमा आईफोनको टिप्स दिने कर्मचारीलाई एप्पलले बर्खास्त गर्ने

टेकपाना टेकपाना

साउन ३१, २०७९ १५:५९

टिकटकमा आईफोनको टिप्स दिने कर्मचारीलाई एप्पलले बर्खास्त गर्ने

काठमाडौं । एप्पलले सामाजिक सञ्जाल टिकटकमा भिडिओमार्फत आईफोनका सुरक्षा टिप्स दिने एक कर्मचारीलाई बर्खास्त गर्ने चेतावनी दिएको छ ।

‘पेरिस क्याम्पबेल’ नाम भएकी एप्पलकी कर्मचारीले टिकटकमा भिडिओ राख्दै सुरक्षा टिप्स दिएपछि उनीमाथि कम्पनीकाे नीति उलङ्घन गरेको आरोप लागेको छ ।

एप्पलका कुनै पनि कर्मचारीले सामाजिक सञ्जालमा एप्पलका उपभोक्ता, त्यहाँ काम गर्ने अन्य कर्मचारी वा संवेदनशील जानकारीहरू पोस्ट गरे उक्त कार्य कम्पनीको सामाजिक सञ्जाल नीति विपरीत हुने उल्लेख छ ।

क्याम्पबेल न्यू योर्कस्थित एक रिटेलमा विगत छ वर्षदेखि मर्मत प्राविधिकका रूपमा कार्यरत छिन् । गत हप्ता उनले आईफोन हराएकी प्रयोगकर्तालाई टिकटकमार्फत जवाफ दिएकी थिइन् ।

आईफोन हराएकी उक्त महिलालाई एप्पल आईडीबाट उक्त आईफोनकाे विवरण हटाउन भनिएको थियो । यदि नहटाएको खण्डमा उनका व्यक्तिगत डेटा कालोबजारीमा बेच्ने धम्की दिइएको थियो ।

“मलाई यी तमाम कुराको जानकारी कसरी भयो भन्ने कुरा त म भन्न सक्दिनँ । तर, म यो भन्न सक्छु कि म विगत छ वर्षदेखि काम गर्दै आइरहेकाे एक सर्टिफाइड हार्डवेयर इन्जिनियर हुँ,” उनको समस्यालाई समाधान गर्न क्याम्पबेलले उक्त भिडिओमा भनेकी छिन्, “तपाईंको फोन उनीहरूका लागि केही काम लाग्दैन । तपाईं एक मात्र व्यक्ति हुनुहुन्छ, जसले उनीहरूलाई बचाउन सक्नुहुन्छ । यदि भनेको मान्नुहुन्छ भने म तपाईंलाई त्यसो नगर्न सुझाव दिन्छु ।”

क्याम्पबेलको उक्त भिडिओले टिकटकमा २४ घण्टामै ५० लाख बढी भ्युज पाएको थियाे ।

गत शुक्रबार क्याम्पबेललाई रिटेल स्टाेरका मेनेजरबाट कल आयो, जहाँ उनलाई उक्त भिडिओ हटाउन भनिएको थियो । उनले यदि भिडिओ नहटाए के हुन्छ भनेर सोध्दा बर्खास्त गर्नसक्ने जवाफ दिइयाे ।

साताको अन्त्यमा क्याम्पबेलले ‘डियर एप्पल’ टाइटल राखी अर्को भिडिओ अपलोड गरिन्, जहाँ उनले आफू एप्पलको कर्मचारी भएको र आफू बर्खास्त भएको खबर सुन्न पर्खिरहेको बताएकी थिइन् ।

“मैंले यो भिडिओभन्दा पहिले आफूलाई कहिल्यै एप्पलको कर्मचारी भएको खुलाएकी थिइनँ,” उनी भन्छिन्, ” रमाइलो कुरा के हो भने, सामाजिक सञ्जाल नीतिहरूको समीक्षा गरेपछि कतै पनि म आफूलाई एप्पलको कर्मचारीको रूपमा सार्वजनिक रूपमा चिनाउन सक्दिनँ । कम्पनीलाई नराम्रो देखाउने तरिकाले मैले त्यसो गर्नुहुँदैन भनिएको छ ।”

हाल टिकटकमा क्याम्पबेलका चार लाख ३९ हजार बढी फलोअर रहेका छन् । उनका भिडिओ भाइरल भएको देख्दा कम्पनीबाट उनलाई बर्खास्त गर्न कुनै पनि कुराले रोक्न सक्दैन ।

गत वर्ष एप्पलले दुई जना हाई प्रोफाइल कर्मचारीलाई संवेदनशील जानकारी सार्वजनिक गरेको आरोपमा बर्खास्त गरेको थियो । तर, क्याम्पबेलले भने आफूले बनाएका भिडिओले कुनै पनि संवेदनशील जानकारी समावेश नगरेको बताउँदै आएकी छिन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३