close

साना व्यवसायीका लागि नबिल बैंकको ‘फोनलोन’, बिना धितो १ लाखसम्म ऋण लिन सकिने

टेकपाना टेकपाना

साउन ३१, २०७९ १८:१४

साना व्यवसायीका लागि नबिल बैंकको ‘फोनलोन’, बिना धितो १ लाखसम्म ऋण लिन सकिने

काठमाडौं । नबिल बैंकले आफ्ना क्यूआर मर्चेन्टलाई लक्षित गर्दै फोनलोनको सुविधा ल्याएको छ । ‘नबिल फोनलोन–क्यूआर मर्चेन्ट’ नाम दिइएको यो सुविधाअन्तर्गत साना तथा मझौला व्यवसायीले घरमै बसी बिना धितो एक लाखसम्मकाे कर्जा पाउन सक्नेछन् ।

बैंकले यूएनडीपी अन्तर्गत महिला सशक्तिकरण तगा गरिबी निवारण समूह नेपाल (यूएनसीडीएफ)को सहकार्यमा युवा तथा महिला उद्यमीहरुलाई लक्षित गरी यो सुविधा ल्याएको हो ।

यस सेवाअन्तर्गत कर्जा लिन चाहने व्यवसायीले नबिलको क्यूआर मर्चेन्टमा एकल नाममा दर्ता भई नबिल स्मार्ट बैकिंङ लिनुपर्नेछ ।

त्यसका साथै अघिल्लो महिनामा पाँच ओटा क्यूआर कारोबारबाट १० हजार रुपैयाँ बराबरको कारोबार गर्नुपर्नेछ र पछिल्लो चार हप्तामा हरेक हप्ता एउटा कारोबार हुनुपर्नेछ ।

“यो नबिल बैंकले ल्याएको पूर्ण रुपमा डिजिटल सेवा हो । हामीले कुनै धितो बिना नै क्यूआर कारोबारलाई आधार मानेर हाम्रा क्यूआर मर्चेन्टहरुलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्न नेपालमा पहिलो पटक यो सुविधा ल्याएका हौं,” बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले भने ।

उनले यो सेवाले साना तथा मझौला व्यवसाय गरिरहेका युवा तथा महिला उद्यमीहरुलाई आफ्नो व्यवसाय विस्तार गर्न मद्दत पुग्ने र डिजिटल बैकिङ प्रयोग गर्न प्रेरणा मिल्ने बताए ।

सुरुवाती चरणमा व्यवसायीहरुले एक लाख रूपैयाँसम्मको बिना धितो कर्जा एक महिनाका लागि लिन सक्नेछन् ।

यस सुविधालाई अझ परिमार्जित गरि कर्जा रकम तथा समय थप्दै जाने बैंकले जनाए ।

यसअघि नबिल बैंकले पहिलो पटक तलबी व्यक्तिका लागि बिना धितो डिजिटल कर्जा सुविधा नबिल फोनलोन ल्याएको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३