close

छाडा भिडिओले टिकटक हेर्नै नसकिने भयो, अब बन्द गरौँः केपी ओली

टेकपाना टेकपाना

साउन ३१, २०७९ १९:४९

छाडा भिडिओले टिकटक हेर्नै नसकिने भयो, अब बन्द गरौँः केपी ओली

काठमाडौं । विकृति फैलाएको भन्दै टिकटक नचलाउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुझाव दिएका छन् । मङ्गलबार एमाले निकट अखिल नेपाल महिला सङ्घले आयोजना गरेको कार्यक्रमका बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले टिकटकमा अचानक किसिमले आउने अपाच्य सामग्रीले गर्दा  छिटोछिटो भाग्नु पर्ने स्थिति रहेको बताए ।

महिलालाई राजनीतिमा अगाडि बढ्ने उत्प्रेरणा दिइरहँदा ओलीले सामाजिक सञ्जालमा आएका विकृतिका बारेमा समेत चर्चा गर्न भ्याए । “महिला आन्दोलनलाई विकृतिको बाटोमा जान दिनु हुँदैन, लान दिनु हुँदैन,” उनले अगाडि भने, “अहिले यसो टिकटक हेर्‍यो भने हेरिनसक्नु छ ।”

“हामी सबैलाई सम्मान गर्छौँ । तर, आफ्नो सम्मान आफैँले भत्काउने खालका क्रियाकलाप गरेपछि अब त्यो बन्द गर्नु पर्ने हुन्छ । त्यो टिकटकबाट छिटोछिटो भाग्नुपर्ने हुन्छ । हेर्न नसकिने अवस्था छ । हामीले आफूलाई यसरी गलत बाटोतर्फ लान दिनु हुँदैन ।”

अध्यक्ष ओलीले सामाजिक सञ्जाल टिकटकमा भइरहेको विकृतिलाई महिला आन्दोलनसँग जोडेर त्यसो नगर्न आग्रह गरे । यस्ता आन्दोलनलाई विभिन्न सकारात्मक काम, विकास तथा राजनीति मार्फत अगाडि बढाउनु पर्ने कुरामा समेत उनले जोड दिए ।

प्रधानमन्त्री छँदा केपी ओलीले टिकटकमा “केपी शर्मा ओली” नामबाट आफ्नो भेरिफाइड अकाउन्ट नै बनाएका थिए । टिकटकमा करिब एक लाख तीन हजार फलोअर रहेका उनको अकाउन्टमा एक वर्षभन्दा अघिदेखि नयाँ भिडिओ राख्न छोडिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३