close

थाहा पाइराख्नुहोस्, एउटा जीमेलमा आएका ईमेल अर्को जीमेल अकाउन्टमा स्वतः फर्वाड गर्ने तरिका

टेकपाना टेकपाना

साउन ३१, २०७९ २२:३१

थाहा पाइराख्नुहोस्, एउटा जीमेलमा आएका ईमेल अर्को जीमेल अकाउन्टमा स्वतः फर्वाड गर्ने तरिका

काठमाडौं । गुगलको जीमेल सेवा हाम्रो दैनिकीको अभिन्न हिस्सा बनिसकेको छ । विभिन्न व्यक्ति तथा संस्थाबाट ईमेल पाउनदेखि हरेक अनलाइन अकाउन्ट बनाउँदा जीमेलको प्रयोग गर्न सकिन्छ ।

जीमेलमा विशेषगरी हामीलाई आएका ईमेल भण्डारण भइरहेका हुन्छन् । कतिपय अवस्थामा हामीले एउटा जीमेलबाट अर्को जीमेलमा पनि संवेदनशील विवरण, लेख तथा फाइल पठाएका हुन सक्छौँ ।

यदि केही गरी गुगल अकाउन्टमा समस्या आयो वा गुगल अकाउन्टमा प्रतिबन्ध लाग्यो भने आफ्नो जीमेलमा पहुँच पाउन सक्दैनौँ । जसले गर्दा त्यहाँ आएका महत्त्वपूर्ण ईमेल हाम्रो पहुँचभन्दा बाहिर जान्छन् ।

गुगललाई त्यसको नीतिविपरीत कुनै पनि प्रयोगकर्ताले काम गरेको जानकारी आएमा प्रतिबन्ध लगाउने अधिकार छ ।

त्यस्तै कतिपय अवस्थामा हामीले गलत साइटमा गुगल अकाउन्ट प्रयोग गर्दा त्यो हाम्रो पहुँचभन्दा बाहिर गएको हुनसक्छ । वा भनौँ ह्याक हुनसक्छ ।

त्यस्तो अवस्थामा जीमेलमा भएका महत्त्वपूर्ण ईमेलहरू हराउँछन् ।

आज हामी गुगलको एउटा त्यस्तो विशेषताका बारेमा जानकारी दिँदैछौँ, जसका माध्यमबाट पहिले नै सजगता अपनाई महत्त्वपूर्ण ईमेल सुरक्षित राख्न सकिन्छ । त्यो हो एउटा जीमेलबाट अर्को जीमेल अकाउन्टमा ईमेलहरू स्वतः फर्वाड गर्ने फिचर ।

यो फिचर सुरु गर्नुभएको खण्डमा तपाईँको प्रमुख जीमेल अकाउन्टमा आएका ईमेल स्वतः अर्को अकाउन्टमा फर्वाड हुन्छन् । यसो गर्दा यदि प्रमुख अकाउन्ट तपाईंको पहुँचबाट बाहिर गयो भने पनि अर्को अकाउन्टबाट त्यहाँ भएका ईमेलमा पहुँच पाउन सक्नुहुन्छ ।

स्वतः ईमेल फर्वाड हुने फिचर यसरी इनेबल गर्नुहोस्;

सबैभन्दा पहिले कम्प्युटरकाे कुनै ब्राउजरमा यहाँ क्लिक गरेर जीमेल खोल्नुहोस् (यो प्रक्रिया फोनमा ब्राउजर खोलेर त्यसलाई डेक्सटप मोडमा राख्दा पनि लागू गर्न सकिन्छ) ।

-त्यसपछि माथि बायाँपट्टि रहेको सेटिङको आइकनमा क्लिक गर्नुहोस् । अब ‘सी अल सेटिङ’ (See All Setting) मा जानुहोस् ।

त्यसपछि माथि रहेको फर्वाडिङ एन्ड पप/आईम्याप (Forwarding and POP/IMAP) ट्याबमा जानुहोस् ।

-त्यसपछि फर्वाडिङ सेक्सनमा रहेको ‘एड अ फर्वाडिङ एड्रेस (Add a forwarding address) मा क्लिक गर्नुहोस् ।

-त्यसपछि आफूले फर्वाड गर्न चाहेको तपाईंको आफ्नो अर्को ईमेल एड्रेस राख्नुहोस् ।

त्यसपछि तपाईंले त्यहाँ राखेको अर्को जीमेल अकाउन्टमा कन्फर्मेसन ईमेल जान्छ । तपाईंले सो अकाउन्टबाट त्यहाँ भएको लिङ्कमा क्लिक गरी कन्फर्म गर्नुपर्ने हुन्छ । वा त्यहाँ भएको कोड कपी गरी मुख्य अकाउन्टबाट भेरिफाई गर्न सकिन्छ ।

त्यसपछि पुनः पहिलेको अकाउन्टबाट जीमेल ट्याबलाई रिफ्रेस गर्नुहोस् ।

रिफ्रेस भइसकेपछि फर्वाडिङ एन्ड पप/आईम्यापको सेक्सनमा रहेको फर्वाडिङमा ‘फर्वाड अ कपी अफ इनकमिङ मेल टु…’ (तपाईंले एड गरेको अकउन्ट) भनिएको अप्सनलाई छान्नुहोस् ।

त्यसपछि तलपट्टि रहेको सेभ चेन्जमा क्लिक गर्नुभयो भने तपाईंको प्रमुख अकाउन्टमा आएका हरेक ईमेल तपाईंले पछि राखेको ईमेल एड्रे;मा स्वतः फर्वाड हुन्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३