close

एक वर्षभित्र काठमाडौं उपत्यकाका सबै घरमा स्मार्ट मिटर जडान !

टेकपाना टेकपाना

भदौ १, २०७९ १०:५६

एक वर्षभित्र काठमाडौं उपत्यकाका सबै घरमा स्मार्ट मिटर जडान !

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आगामी एक वर्ष भित्र काठमाडौं उपत्यकाका सबै घरमा स्मार्ट मिटर जडान गर्ने भएको छ । गत वर्ष रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रका ग्राहकलाई स्मार्ट मिटर उपलब्ध गराएको प्राधिकरणले अब उपत्यकाभर विस्तार गर्ने भएको हो ।

‘रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रको ग्राहकमा स्मार्ट मिटर जडानबाट प्राप्त परिणाम उत्साहजनक रहेकोले आर्थिक वर्ष २०७९/८० मा काठमाडौँ उपत्यकाको बाँकी ग्राहकहरूको घरमा समेत स्मार्ट मिटर जडान गर्ने प्रक्रिया अघि बढाइनेछ,’ प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

पछिल्लो समय प्रविधिलाई आत्मासाथ गर्दै सेवालाई सरल विश्वसनिय बनाउने क्रममा प्राधिकरणले आधुनिक डिजिटल प्रविधिको प्रयोगलाई प्राथामिकता दिएको छ । त्यसमध्ये पनि स्मार्ट ग्रिड र स्मार्ट मिटरिङ प्रणाली यो वर्ष प्राधिकरणको प्रमुख प्राथामिकतामा रहेका छन् ।

स्मार्ट ग्रिड र स्मार्ट मिटरिङ प्रणालीले कार्यक्षमतामा सुधार आउनुका साथै चुहावट नियन्त्रण प्रभावकारी हुने प्राधिकरणको अपेक्षा रहेको छ । प्राधिकरणले संस्थागत स्रोत योजना (Enterprises Resources Planning) र आय व्यवस्थापन प्रणाली (Revenue Management System) को खरिद प्रक्रिया सुरु गरिसकेको छ ।

त्यस्तै डिजिटल प्रणालीको कार्यान्वयन र सञ्चालनका लागि स्युचाटारमा डिस्ट्रिब्युसन कमान्ड कन्ट्रोल एन्ड डेटा सेन्टर तयार भइरहेको प्राधिकरणले जनाएको छ ।

यसका साथै प्राधिकरणले चालु आवमा काठमाडौंमा रहेका १३ वटा ग्रिड सबस्टेसनमा स्वचालित प्रणाली जडान गर्ने तयारी गरेको छ । त्यस्तै मुलुकभरका ४० वटा ग्रिड सबस्टेसनलाई स्वचालित बनाउने प्रक्रिया समेत अघि बढाइएको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।  
 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३