close

एलन मस्कले के म्यानचेस्टर युनाइटेड क्लब किन्दैछन् ?

टेकपाना टेकपाना

भदौ १, २०७९ १३:४०

एलन मस्कले के म्यानचेस्टर युनाइटेड क्लब किन्दैछन् ?

काठमाडौं । विश्वका धनाढ्य एलन मस्क ट्वीटरमा मजाक गरिरहन्छन् । कुनैबेला उनका ट्वीटलाई आधार बनाएर मिडियाले ब्रेकिङ न्युज लेख्थे । तर आजकल उनका अभिव्यक्तिमा शंका गर्नेहरू धेरै छन् ।

पछिल्लो पटक उनले ट्वीटरमा म्यानचेस्टर क्लब किन्दैछु भनेर लेखिदिए । त्यसपछि अनेकथरीका तर्कवितर्क आए । धेरै मिडियाले खबर बनाए । कतिले ट्राेल बनाए ।

तुरून्तै फेरि उनले ट्वीटमार्फत नै फुटबल क्लब किन्ने कुरा जाेक भएकाे प्रस्टीकरण दिए ।

यसअघि उनले ४४ अर्ब डलरमा ट्वीटर कम्पनी नै किन्ने डिल गरेका थिए । तर ट्वीटरमा बटको सङ्ख्या पारदर्शी नभएको भन्दै मस्क आफ्नो निर्णयबाट पछि हटे ।

त्यसपछि ट्वीटरले मस्क विरुद्ध मुद्दा हाल्याे, जसको सुनवाई आगामी अक्टोबरमा हुनेछ ।

बुधबार बिहान मस्कले एक ट्वीटर थ्रेडमा म्यानचेस्टर युनाइटेड क्लब किन्न लागेकाे उल्लेख गरे ।

यसपछि सो विषयबारे अत्यधिक तर्क आउन थाले । लगत्तै उनले ट्वीटरमा लामाे समय याे विषय एउटा ‘मजाक’ काे रूपमा रहेकाे बताउँदै आफूले कुनै पनि क्लब नकिन्ने प्रष्ट पारे ।

वास्तवमा मस्क ट्वीटरमा मजाक गरिरहने व्यक्ति हुन् । उनले विश्व ट्रेन्डिङमा परेका कुनै पनि विषयको मजाक नबनाएका घटना विरलै भेटिएलान् ।

फुटबल क्लब खरिद गर्ने विषय सर्वाधिक चर्चाको विषय बनेपछि मस्कले स्पष्टीकरण दिँदै आफूले कुनै पनि फुटबल क्लब खरिद नगर्ने बताएका छन् ।

मस्कले यदि कुनै फुटबल क्लब खरिद गर्नपरे आफूले म्यानचेस्टर युनाइटेड खरिद गर्ने बताएका छन् । साथै उनले उक्त क्लब आफ्नो बालापनबाटै मनपर्ने क्लब रहेको पनि बताएका छन् ।

मस्कले अस्वाभाविक ट्वीट गर्दै पछि स्पष्टीकरण दिएका थुप्रै घटना छन् । अहिले स्टक बजारलाई नियाल्ने हो भने म्यान्चेस्टर युनाइटेड खरिद गर्नका लागि दुई अर्ब पाउन्ड खर्च गर्नुपर्ने हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४