close

यसरी छान्नुहोस् उपयुक्त इन्डक्सन चुलो

टेकपाना टेकपाना

भदौ १, २०७९ १७:१४

यसरी छान्नुहोस् उपयुक्त इन्डक्सन चुलो

काठमाडौं । पछिल्लो समय विद्युतीय उत्पादनप्रति उपभोक्ताको रुचि बढिरहेको छ । सरकारले समेत विद्युतीय सामग्रीको प्रयोगलाई प्रवर्द्धन गरेको छ ।

हालै पेट्रोलियम पदार्थको मूल्य वृद्धि बढेपछि त विद्युतीय गाडीदेखि भान्छामा प्रयोग हुने इन्डक्सन चुलाेसम्मका सामग्रीमा सर्वसाधारणको झनै चासो बढेको छ ।

चालू आर्थिक वर्षको बजेटमार्फत सरकारले ‘एलपी ग्यास छोडौं, बिजुली जोडौं’ नामक अभियान सञ्चालन गरी विद्युतीय चुलोको प्रयोगलाई देशव्यापी बनाउने कार्यक्रम ल्याएकाे छ ।

यसअन्तर्गत प्रत्येक घरधुरीलाई विद्युतीय चुलो (इन्डक्सन) उपलब्घ गराउने घोषणा गरिएको छ । तर यसको कार्यान्वयन कसरी हुन्छ भन्ने विषयमा अन्यौलता नै छ । 

यता विभिन्न ब्राण्डका विद्युतीय चुलो भित्रिने क्रम भने बढेको छ ।

त्यस्तै सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले तीन प्रकारका विद्युतीय (इन्डक्सन) चुलाे सहुलियत मूल्यमा बिक्री गरिरहेको छ ।

आज हामी इन्डक्सन चुलोको चर्चा गर्दैछौं । घरेलु उपकरणमा अहिल धेरैको रोजाइमा परिरहेको यस्तो चुलो कसरी छनौट गर्ने भन्ने विषय भने जटिल नै हो ।

बजारमा धेरै थरीका इन्डक्सन उपलब्ध भएपनि आफ्ना लागि सही चुलो छनौट गर्न भने तपाईंका लागि सहज नहुन सक्छ ।

विशेषगरी इन्डक्सनको ब्राण्ड, गुणस्तर, वारेन्टी, सर्भिस सपोर्ट लगायतका विषय अध्ययन गर्ने र आफ्नाे आवश्यकतासँग मेल खाने गरी चुलो छान्नुपर्छ ।

इन्डक्सनका मुख्य विशेषता

-सामान्यतया इन्डक्सनमा फलाम अथवा स्टेनलेस स्टिलबाट बनेको भाडा मात्र प्रयोग गर्न मिल्छ ।

-इन्डक्सनमा खाना पकाउँदा भाडामात्रै तात्छ, तर चुलाेकाे सतह तात्दैन ।

-सिधै भाडामात्रै तताउने भएकाले यसले कम बिजुली खपत गर्छ ।

-यस्ताे चुलोमा उपयुक्त हुने भाडा नराखेसम्म यो चुलो चल्दैन भने भाडा चुलोबाट हटाएपछि चुलो आफैं बन्द हुन्छ ।

-इन्डक्सन चुलो लगभग पाँच वर्ष चलाउन सकिन्छ ।

कस्तो इन्डक्सन चुलो किन्ने ?

१. इन्डक्सनको पावर रेट

इन्डक्सन चुलो किन्ने बेलामा सबैभन्दा सुरुमा ध्यान दिनुपर्ने कुरा हो पावर रेट । इन्डक्सनको पावर रेट जति धेरै भयो त्यतिनै खाना छिटो पाक्ने हुन्छ । धेरैजसो इन्डक्सनको पावर रेट १००० देखि २००० वाट सम्मको हुने गर्छ ।

यसर्थ यदि तपाईं छिटो पाक्ने इन्डक्सन खरिद गर्न चाहनुहुन्छ भने धेरै पावर रेट भएको चुलो खरिद गर्न सक्नुहुन्छ । यद्यपि जति धेरै पावर रेट भयो, त्यति नै मूल्य भने बढी पर्न सक्छ ।

२. प्रि-सेट मेनु

प्रयोगकर्ताको सहजताका लागि केही कम्पनीहरूले इन्डक्सनमा प्रि-सेट मेनुको पनि व्यवस्था गरेका छन् । प्रि-सेट मेनुले खानेकुरा अनुसार इन्डक्सनले स्वत: तापक्रम मिलाउँछ ।

दुध उमाल्दा अथवा खाना बनाउँदा वा रोटी पकाउदा अनि तरकारी पकाउदा खानेकुरा अनुसार एक क्लिकको भरमा फरक-फरक तापक्रम मिलाउने काम प्रि(सेट मेनुले गर्दछ । त्यसैले यस्तो सुविधा भएको चुलो पनि तपाईं खरिद गर्न सक्नुहुन्छ ।

३. सेफ्टी फिचर

इन्डक्सन चुलो किन्दा ध्यान दिनुपर्ने अर्को महत्त्वपुर्ण कुरा हो, सेफ्टी अर्थात् सुरक्षा फिचर । उदाहरणका लागि केन्टको इन्डक्सन चुलोहरूमा अटो प्यान डिटेक्सन भन्ने फिचर हुन्छ, जसले चुलोबाट निकाल्ने बित्तिकै चुलोको तापक्रम स्वत: घट्छ ।

यदि तपाईंले चुलो बन्द गर्न बिर्सनुभयो भने पनि चुलो आफैं बन्द हुन्छ । यस्तो प्रकारको विभिन्न सुरक्षाका मापदण्ड प्रयोग भएका चुलोहरू हेरेर खरिद गर्नु पनि सुरक्षित हुन्छ ।

४. चुलोको प्यान साइज

प्रत्येक इन्डक्सन चुलो अधिकतम र न्यूनतम प्यान साइजको हुन्छ । यदि तपाईंको चुलो भाँडाभन्दा सानो भयो भने यसले भाँडा डिटेक्ट गर्न सक्दैन र यो तात्तिदैन ।

खाना पकाउने भाँडाको साइज चुलोको क्वाइलको साइजसँग मेल खाएन भने इन्डक्सनले काम गर्दैन । त्यसैले तपाईंले आफ्नो आवश्यकता अनुसार भाँडाको साइज र चुलोको साइज मिल्ने गरी चुलो खरिद गर्नुपर्छ ।

५. चुलोको पोर्टेबिलिटी

प्रायजसो चुलोहरू दुईप्रकारको हुन्छ, एउटा सहजै जता पनि सार्न मिल्ने, अर्को फिक्स्ड चुलो । पोर्टेबल चुलो तपाईंको आवश्यकता अनुसार जता पनि लिएर जान मिल्ने हुन्छ भने फिक्स्ड चुलो एकपटक जोडेपछि अर्को ठाउँ सार्न सकिँदैन ।

सुरक्षित इन्डक्सन चुलोमा यस्ता विशेषता हुन्छन्, खरिद गर्दा ध्यान दिनुहोस्

  • चुलोमा कुनै भाँडा नहुँदा स्वतः बन्द हुन्छ ।
  • चुलोबाट भाँडो निकालिसकेपछि आउटपुट पावर हुँदैन । (भाँडो निकालिसकेपछि पावर खपत शून्य हुन्छ ।)
  • दुई घण्टासम्म सोही तापक्रम र पावरमा चलिरहेको छ भने स्वतः बन्द हुन्छ ।
  • ओभर हिटिङ भएको सन्दर्भमा सेफ्टी कटअफ हुन्छ ।
  • यसमा आगोको राप नआउने भएकाले कोठाको तापक्रममा त्यसले थोरै प्रभाव पार्छ ।
  • पकाउने भाँडो माथिको भाग चिसो हुने भएकाले हात वा अन्य नाङ्गो बाग जल्ने सम्भावना कम हुन्छ ।
  • हानिकारक ग्यासको उत्सर्जन हुँदैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४