close

विद्युत प्राधिकरणलाई डिजिटल प्राधिकरण बनाउने कुलमान घिसिङको घोषणा

टेकपाना टेकपाना

भदौ १, २०७९ १७:३९

विद्युत प्राधिकरणलाई डिजिटल प्राधिकरण बनाउने कुलमान घिसिङको घोषणा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणलाई ‘डिजिटल प्राधिकरण’ मा रुपान्तरण गरिने भएकाे छ ।

विद्युत प्राधिकरणको ३७औँ वार्षिकोत्सवको अवसरमा वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यस्ताे घाेषणा गरेका छन् ।

आधुनिक सूचना प्रविधिसम्बन्धी पूर्वाधार तथा काम कारबाही सुरक्षित, भरपर्दो र गुणस्तरीय बनाउने उद्देश्यले प्राधिकरणको सूचना प्रविधि नीति एवम् नेपाल सरकारको डिजिटल नेपालको लक्ष्यअनुरूप प्राधिकरणलाई डिजिटल प्राधिकरणमा रूपान्तरण गरिने उनले बताएका छन् ।

यसका लागि प्राधिकरणका सम्पूर्ण काम डिजिटल प्रणालीमा आधारित बनाइने उनले उल्लेख गरे ।

“प्राधिकरणको सूचना तथा सञ्चार प्रणालीलाई अनधिकृत पहुँच र सम्भावित साइबर आक्रमण लगायतका खतराहरूबाट सुरक्षित राखी अविच्छिन्न सेवा प्रवाह गर्न सेक्युरिटी इन्फर्मेसन एन्ड इभेन्ट म्यानेजमेन्ट सिस्टम कार्यान्वयन गरिनेछ,” उनले भने ।

सूचना प्रविधि मार्गचित्रको अवधारणा अनुरूप प्राधिकरणलाई रूपान्तरण गर्न संस्थागत स्रोत योजना (Enterprises Resource Planning), संरचनाहरूको भौगोलिक नक्साङ्कन (GIS Mapping) आय व्यवस्थापन प्रणाली (Revenue Management System), स्मार्ट मिटरिङ, सबस्टेसन अटोमेसन (Substation Automation) र तथ्याङ्क केन्द्रसम्बन्धी नियमित रूपमा सञ्चालित कार्यक्रमहरूलाई थप परिष्कृत गरेर लगिने उनले बताएका छन् ।

साथै सबस्टेसनहरूलाई सुपरभाइजरी कन्ट्रोल एण्ड डेटा अक्विजिसन (Supervisory control and data acquisition) प्रणालीमा आबद्ध गरी प्राधिकरणको सम्पूर्ण कार्यालयहरूलाई स्युचाटारमा अवस्थित डेटा सेन्टरबाट समन्वयात्मक रूपमा सञ्चालन गर्न सम्पूर्ण कार्यालय तथा सबस्टेसनहरू जोडिने गरी सूचना प्रविधि सञ्चार नेटवर्क विस्तार गर्ने याेजना समेत उनले सारेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४