close

टेराहर्ज फ्रिक्वेन्सीले मुसामा मस्तिष्क कोषिका बढेपछि सिक्सजी प्रविधिलाई लिएर स्वास्थ्यको चिन्ता 

टेकपाना टेकपाना

भदौ १, २०७९ १९:६

टेराहर्ज फ्रिक्वेन्सीले मुसामा मस्तिष्क कोषिका बढेपछि सिक्सजी प्रविधिलाई लिएर स्वास्थ्यको चिन्ता 

काठमाडौं । वैज्ञानिकहरूले सिक्सजीमा प्रयोग हुने टेराहर्ज फ्रिक्वेन्सी न्यून रेडियो तरङ्गसँग केहीबेर नजिक रहँदा समेत मुसाको मस्तिष्कमा कोषिकाको आकार बढेको बताएका छन् ।

उनीहरूले यो अनुसन्धानको नतिजा भविष्यका सञ्चार उपकरणका लागि उपयोगी हुने उल्लेख गरेका छन् ।

टेराहर्ज ब्यान्डमा रेडियो तरङ्गले स्मार्टफोनको ब्यान्डविथ प्रति सेकेन्ड एक टेराबाइट (टीबीपीएस) विस्तार गर्न सक्छ । जुन भावी पुस्ताको सञ्चार प्रविधि वा सिक्सजीका लागि गर्माउँदो विषय हो ।

अनुसन्धानकर्ताहरूका अनुसार फ्रिक्वेन्सीको ०.३ देखि ३ टेराहर्जबीचको फराकिलो रेञ्जको १०० माइक्रोवाट पल्स रेडियसनमा तीन मिनेट राख्दा मुसाका न्युरोन सामान्य भन्दा करिब १५० प्रतिशत छिटो वृद्धि भएका थिए ।

यसका साथै केवल तीन दिनमै यी न्युरोनहरूबीचको कुल लम्बाइ दोब्बर बनेको थियो । नियन्त्रित स्थितिमा उच्च गतिमा वृद्धि भए पनि मोलिक्युलर विश्लेषणले भने फ्रिक्वेन्सीको सम्पर्कमा आएका मष्तिष्कका कोषिकाहरू भने स्वस्थ पाइएको वैज्ञानिकहरूले बताएका छन् ।

वैज्ञानिकहरूको यो नयाँ खोजले नयाँ सञ्चार प्रविधिको सुरक्षा स्तर मापन गर्न सघाउ पुर्‍याउन सक्छ । यसका साथै मस्तिष्क सम्बन्धी रोगहरूका लागि थेरापी विकास गर्न समेत सकिने अनुसन्धानकर्ताहरूले बताएका छन् ।

“टेराहर्ज रेडियसन प्रोटोकलको सुरक्षा मुख्य चासोको विषय हो,” पियर रिभ्यु जर्नल एक्टा फिजिका सिनिकामा गत महिना प्रकाशित शोधपत्रमा प्रमुख वैज्ञानिक लि सियाओलीले लेखेका छन् ।

लि र बेइजिङ नर्मल युनिभर्सिटी स्थित कग्निटिभ न्युरोसाइन्स एन्ड लर्निङको स्टेट कि ल्याबरेटोरीका उनका सहकर्मीहरूले रेडियसन उत्सर्जनको प्रवाहको शक्ति र समयावधि घटाएर भविष्यको सञ्चार प्रविधिले स्वास्थ्यमा पार्नसक्ने नकारात्मक असर कम गर्न सकिने बताएका छन् ।

उनीहरूको नतिजाले अर्को के कुरा पनि सुझाएको छ भने “निश्चित फ्रिक्वेन्सी र ऊर्जाको टेराहर्ज तरङ्गले न्युरोमोडुलेसन प्रविधि विकास गर्न सकिनेछ ।” जसबाट मस्तिष्क विकास असन्तुलनमा हस्तक्षेप वा उपचार गर्न सकिनेछ ।

“असामान्य न्युरोन विकास र असामान्य न्युरल नेटवर्क संरचनाले अल्जाइमर, अटिजम र पार्किन्सनजस्ता अनेक किसिमका मानसिक र मस्तिष्क सम्बन्धी रोगहरू निम्त्याउन सक्छ,” उनीहरूले भनेका छन् ।

उच्च फ्रिक्वेन्सीमा हुने रेडियो तरङ्गले बढी सूचना प्रसारण गर्नसक्ने सक्छन् । सँगसँगै उनीहरूले बढी ऊर्जा समेत बोक्न सक्छन् । फाइभजीमा प्रयोग हुने मिलिमिटर तरङ्ग (जसले अधिकतम २० जीबीपीएस स्पिड दिन सक्छ)को तुलनामा टेराहर्ज तरङ्ग निकै नै उच्च फ्रिक्वेन्सी हो ।

केही टेराहर्ज उपकरणहरू विमानस्थलमा शरीर स्क्यान गर्ने कार्यका लागि यसअघि नै प्रयोगमा आइसकाे छन्, जसमा भएको ऊर्जा तरङ्गले लुगाकपडा सहजै पार गर्नसक्छ र शरीरमा लुकाइएका सामग्रीको स्पष्ट तस्वीर निकाल्न सक्छ ।

रसियन एकेडेमी अफ साइन्सका अनुसन्धानकर्ताहरूले सन् २००९ मा गरेको एक अध्ययन अनुसार घण्टौँसम्मको शक्तिशाली टेराहर्ज रेडियो तरङ्ग उत्सर्जनले दिमागमा भएका कोषिकाको तापक्रम वृद्धि गर्नसक्ने, तिनको विकासलाई प्रभावित पार्नसक्ने र पानीको कमीले गर्दा कोषिकाको आकार घटाउनसक्ने र अन्य क्षति पुर्‍याउन सक्छ ।

तर लिको समूहले भने टेराहर्ज रेडियसनको न्यून मात्राले उत्पादकत्व र गतिविधि केही हदसम्म बढाउन सक्ने कुरालाई समेत जोड दिएको छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४