close

राउटर आयात तथा प्रयोग गर्नुअघि प्राधिकरणबाट स्वीकृति लिनुपर्ने, यस्तो छ मापदण्ड

टेकपाना टेकपाना

भदौ २, २०७९ ८:८

राउटर आयात तथा प्रयोग गर्नुअघि प्राधिकरणबाट स्वीकृति लिनुपर्ने, यस्तो छ मापदण्ड

काठमाडौं । गुणस्तरीय इन्टरनेटका लागि राउटरकाे महत्वपूर्ण भूमिका हुन्छ । राउटर कहाँ राखिन्छ, त्यसको कभरेज र सिंग्नल क्षमता कति छ भन्ने कुराले धेरै अर्थ राख्छ ।

यसैबीच नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले ग्राहकलाई सेवा प्रदायकले उपलब्ध गराउने राउटरलगायतका उपकरणमा हुनुपर्ने मापदण्ड तोकेको छ ।

इन्टरनेट सेवाको गुणस्तरलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित प्राधिकरणले दूरसञ्चार ऐन, २०५३ को दफा १३(च) र दफा १४ तथा दूरसञ्चार नियमावली, २०५४ को नियम (क) बमोजिम मापदण्ड निर्धारण गरेको हो ।

याेसँगै अब सेवा प्रदायकले ग्राहकको घरमा तोकिएको मापदण्ड पूरा गरेका डिभाइसमात्रै राख्न पाउनेछन् ।

यसअघिसम्म ग्राहकको घरमा राखिने इन्टरनेट डिभाइसको विषयमा कुनै पनि मापदण्ड तोकिएको थिएन । त्यो हुँदा ग्राहकको इन्टरनेट अनुभवमा फरक पारेको भन्दै प्राधिकरणले राउटर लगायतका उपकरणमा मापदण्ड तय गरेको हो ।

यसका लागि हालै बसेकाे प्राधिकरण बोर्डको बैठकले ग्राहकको घरमा प्रयोग हुने उपकरणको मापदण्ड तथा त्यसले सेवाको गुणस्तरमा परेको प्रभाव तथा सुरक्षा चुनौतीका बारेमा अध्ययन गरेर नयाँ व्यवस्था ताेकेकाे छ ।

बोर्डले ‘मिनिमम रिक्वायरमेन्ट अफ सीपीई डिभाइस’ नामक मापदण्ड पारित गर्दै सेवा प्रदायकले राउटर लगायतका डिभाइस राख्दा अपनाउनुपर्ने प्रावधानको व्यवस्था गरेको छ, जसअनुसार ग्राहकको घरमा राखिएको राउटरको डब्लूल्यान ८०२.११बी/जी/एन/एसी हुनुपर्ने व्यवस्था गरिएको छ ।

त्यस्तै राउटरमा एउटा १ गिगाबाइटको इथरनेट पोर्ट र एउटा फाइबर एसएफपी पोर्ट अनिवार्य हुनुपर्ने जनाइएको छ । आईएसएम ब्याण्ड अन्तर्गत २.४ र ५ गिगाहर्ज फ्रिक्वेन्सी सपोर्ट गर्ने राउटर हुनुपर्ने छ ।

त्यस्तै रेडियसन पावर अन्तर्गत ट्रान्समिसन पावर १ वाट र ईआरआईपी ४ वाटभन्दा बढी हुन नहुने जनाइएको छ । साथै ग्राहकको घरमा राखिने राउटरमा कम्तीमा पनि दुई ओटा एन्टेना हुनुपर्ने छ ।

प्राधिकरणका अनुसार अब उप्रान्त ग्राहकको घरमा जोडिने राउटरको औसत कभरेज १०० मिटर हुनुपर्ने छ । भने, सुरक्षाका लागि त्यसमा डब्लूपीए, डब्लूपीए२/३/ओडब्लुई हुनुपर्ने प्रावधान रहेको छ । त्यस्तै आईपीभीसिक्स (IPv6) सपोर्ट गर्ने राउटर हुनुपर्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४