close

तपाईँको मोबाइलमा कुन भर्सनको ब्लुटुथ छ ? थाहा पाइराख्नुहोस् संस्करण पिच्छेका फिचर 

टेकपाना टेकपाना

भदौ ३, २०७९ ११:३३

तपाईँको मोबाइलमा कुन भर्सनको ब्लुटुथ छ ? थाहा पाइराख्नुहोस् संस्करण पिच्छेका फिचर 

काठमाडाैं । एयर पडमा गीत सुन्न हाेस् वा कुनै फाइलहरू एउटा डिभाइसबाट अर्काेमा सार्न नै किन नहोस्, तपाईँ हामीले कतै न कतै ब्लुटुथ प्रयाेग गरिरहेकै हुन्छाैँ । अहिलेका सबै जसो माेबाइल फाेन, कम्प्युटर वा स्मार्ट डिभाइसमा हुने एक प्रविधि हाे, यो ।

मुख्यतः कम दूरीमा भएका दुई ओटा विद्युतीय उपकरणबीच तार रहित किसिमले कुनै फाइल वा सञ्चार आदानप्रदान गरिने प्रविधि नै ब्लुटुथ हाे । यसकाे मुख्य उद्देश्य भनेकाे दुई वा दुई भन्दा बढी विद्युतीय उपकरण जाेड्नु हाे ।

आजभन्दा २४ वर्ष अगाडि सन् १९९८ मा विकसित भएकाे ब्लुटुथ प्रविधि ‘ब्लुटुथ स्पेसल इन्ट्रेस्ट ग्रुप’ (एसआईजी) को स्वामित्वमा छ । हालसम्म यसले ब्लुटुथका थुप्रै भर्सन बजारमा ल्याइसकेकाे छ ।

हाल ब्लुटुथकाे सबैभन्दा पछिल्लाे भर्सन ५.३ बजारमा आइसकेको छ । कम्पनीले पहिलेका भर्सनहरूमा भएका कमीकमजाेरी हटाउन  र नयाँ फिचरहरू थप गर्न नयाँनयाँ भर्सन सार्वजनिक गर्दै आएको छ । 

ब्लुटुथका भर्सनहरूका बारेमा कुरा गर्दा हामीले जहिले पनि दूरी (रेन्ज), डेटा स्पिड, ऊर्जा खपत गरी तीन ओटा विषयमा ध्यान दिनुपर्ने हुन्छ । यी तिनै कुराका आधारमा ब्लुटुथ भर्सनहरू बुझ्न सकज हुन्छ । 

भर्सन  १.०

सन् १९९९ मा ‘साेनी एरिक्सन टी ३६’ माेबाइल फाेन सार्वजनिक भएसँगै ब्लुटुथ १.० भर्सन रिलिज भएकाे थियाे । यसकाे गति केवल  ७३२.२ केबीपीएसदेखि २.१ एमबीपीएस थियाे । साथै यसले अधिकतम १० मिटरको दूरी भित्र मात्र काम गर्न सक्थ्यो ।

हाल बजारमा रहेका वायरलेस हेडफाेन, स्पिकर, गेम कन्ट्राेलर आदिका लागि याे भर्सन एक मार्गदर्शक थियाे । याे भर्सन उति साह्रो अन्तरक्रियात्मक पनि थिएन । १.० भर्सन पछि त्यसको अपडेटेड भर्सनको रूपमा १.० बी, १.१, १.२  आए ।

जसमा पूराना  भर्सनमा भएका धेरै गल्तीहरू सच्याउनुका साथै डेटा ट्रान्सफर स्पिड र छिटो कनेक्ट हुने कुरामा समेत सुधार ल्याइएको थियाे । यी भर्सनमा ‘गाैसियन फ्रिक्वेन्सी शिफ्ट किइङ’ (जीएफएसके) माेडुलेसन याेजना (स्किम) प्रयाेग गरिएकाे थियाे  । 

भर्सन २.०

सन् २००५ मा ब्लुटुथकाे अर्को भर्सन २.० आयाे । यसमा ‘इन्ह्यान्स्ड डेटा रेट’ (ईडीआर) प्रयाेग भएकाे थियाे । यो माेडकाे सहायताले डेटा स्पिड  बढेर २.० एमबीपीएस देखि ३ एमबीपीएससम्म पुगेकाे थियाे ।

त्यस्तै अधिकतम ३० मिटर भित्र काम गर्न सक्ने भयो । यसमा नै केही थप नयाँ अपडेट गरेर सन् २००७ मा भर्सन  २.१ सार्वजनिक गरियाे । यो भर्सनमा मूल रूपमा ‘सेक्युर सिम्पल पियरिङ्ग’ (एसएसपी) थपियाे । जसकाे मद्दतले ब्लुटुथ पियरिङ्ग गर्दाकाे अनुभवमा सुधार आयो। 

भर्सन ३.०

याे भर्सन सन् २००९ मा आएकाे हो । यसले डेटा स्पिडमा निकै सुधार गरेकाे थियाे । जसका कारण ठूला  फाइलहरू आदानप्रदान गर्न समेत सजिलाे भएकाे थियाे ।

२४ एमबीपीएस सम्मको गतिमा यसले काम गर्थ्याे भने यसको रेञ्ज ३० मिटरसम्म पुग्यो  । तर, यसले निकै धेरै ऊर्जा खपत गर्ने भएकाले याे भर्सन छोटो समयमै बन्द भयाे ।

भर्सन ४.०

एसआईजीले भर्सन ३.० मा भएकाे ऊर्जा खपतको समस्यालाई हल गर्दै याे भर्सन ल्याएकाे थियाे । याे भर्सनलाई ‘ब्लुटुथ लाे इनर्जी’ (बीएलई) भनेर पनि चिनिन्छ ।

याे भर्सनले डिभाइसकाे ब्याट्री लाइफ लामाे समयसम्म राख्नुका साथै डेटा स्पिड र रेन्जमा समेत निकै सुधार ल्याएकाे थियाे । डेटा स्पिड २४ एमबीपीएस देखि २५ एमबीपीएससम्म थियाे भने रेन्ज बढेर ६० मिटर पुगेको थियो । यही भर्सनका दुई अपडेडेट भर्सन सन् २०१३ मा ४.१ र सन् २०१४ मा ४.२ ल्याइएका थिए । 

भर्सन ५

ब्लुटुथको याे भर्सन अहिले बजारमा प्रयाेग भइरहेको पछिल्लो भर्सन हाे । एसआईजीले यसलाई सन् २०१६ मा बजारमा ल्याएकाे थियो । यसले ५० एमबीपीएसको गतिमा डेटा ट्रान्सफर गर्न सक्छ भने २४० मिटरसम्मको रेन्जमा काम गर्न सक्छ ।

यसमा भएकाे आकर्षक फिचर भनेको ‘डुअल अडियाे कनेक्सन’ हाे । जसकाे सहयोगमा एकै पटकमा दुई ओटा डिभाइसहरू कनेक्ट गर्न सकिन्छ । यसमा पनि तीन पटक सम्म अपडेट भइसकेको छ ।

२१ जनवरी २०२१ मा भर्सन ५.१ सार्वजनिक गरिएकाे थियाे । यससँगै मुख्यत: ‘एङ्गल अफ अराइभर’ (एओए) र ‘एङ्गल अफ डिपार्चर’ (एओडी) फिचर थपिएका छन् ।

जसलाई ठाउँ र वस्तु ट्रयाक गर्न प्रयाेग गरिन्छ । साथै ‘काेर स्पेसिफेकेसन  एडेन्डम’ (सीएसए) जस्ता फिचर पनि यसमा पाउन सकिन्छ । साथै ‘युनिट किज् फिचर’ भने हटाइएकाे छ । 

त्यस्तै एलई पावर कन्ट्राेल, ‘इन्ह्यान्स्ड एट्रिब्युट प्राेटाेकल’ (इएटीटी) जस्ता विशेषताहरू थपेर सन् ३१ डिसेम्बर २०१९ मा भर्सन ५.२ मा सार्वजनिक भयो । त्यस्तै १३ जुलाई २०२१ मा भर्सन ५.३ आयो ।

यसमा ‘कनेक्सन  सबरेटिङ्ग’, ‘च्यानल  क्लासिफिकेसन इन्ह्यान्समेन्ट’ जस्ता फिचर थप गरेर ‘अल्टरनेट म्याक’ (एमएसी) र ‘पीएचवाई एक्टेन्सन’ जस्ता विशेषता हटाइएकाे थियाे । 

ब्लुटुथ भर्सनसार्वजनिक वर्षडेटा  ट्रान्सफर स्पिडअधिकतम  रेन्जविशेषता
१.०१९९९७६२.२  केबीपीएसदेखि २.१ एमबीपीएस१० मिटरस्पिच  मात्र
२.०२००४२.१ एमबीपीएसदेखि ३ एमबीपीएस१० देखि ३० मिटरइन्ह्यान्च्ड डेटा रेट
३.०२००९२४ एमबीपीएस३० मिटरहाइ स्पिड (एचएस)
४.०२०१०२४ एमबीपीएसदेखि २५ एमबीपीएस ६० मिटरब्लुटुथ लाे इनर्जी (बीएलई)
५.०१०१६२५ एमबीपीएसदेखि ५० एमबीपीएस२४० मिटरडुअल अडियाे कनेक्सन

तपाईँको मोबाइल वा उपकरणमा ब्लुटुथको कुन भर्सन छ ?

ब्लुटुथ भर्सनहरूको बारेमा चर्चा गर्दैगर्दा तपाईँलाई पक्कै पनि आफ्नो डिभाइसमा कुन भर्सनकाे ब्लुटुथ छ भन्ने कुरा थाहा पाउन मन लागेको हुनसक्छ । तपाईँका लागि याे कुरा थाहा पाउन जरुरी पनि छ ।

किनकी तपाईँले चलाउने डिभाइसमा त्यस सम्बन्धि कुनकुन फिचरहरू छन् भन्ने कुरा ब्लुटुथ भर्सनमा निर्भर हुन्छ । ब्लुटुथकाे भर्सन  थाहा  पाउने सबै भन्दा सजिलाे तरिका भनेकाे तपाईँले आफ्नो डिभाइसकाे ब्राेसर हेर्नु हाे ।

अब तपाईँसँग ब्राेसर पनि छैन भने पनि चिन्ता लिनु पर्दैन । त्यसका लागि निम्न विधि अपनाउन सक्नुहुन्छ ।

डिभाइस स्पेक शिट हेरेर ब्लुटुथ भर्सन थाहा पाउने विधि

तपाईँले जीएसएम अरेना वेबसाइटमा गएर स्पेक शिट पढेर पनि आफ्नाे डिभाइसकाे ब्लुटुथ भर्सन पत्ता लगाउन सक्नु हुन्छ ।

यो वेबसाइटमा गएपछि तपाईँसँग भएकाे डिभाइसकाे नाम लेखेर सर्च गर्नुहाेस् । त्यहाँ डिभाइसबारेको जानकारी आउँछ । त्यही इन्फाेमा तपाईँले आफ्नो डिभाइसकाे ब्लुटुथ भर्सन हेर्न सक्नुहुन्छ ।

माेबाइल एप प्रयाेग गरेर  ब्लुटुथ भर्सन थाहा पाउने विधि

माथिका दुवै तरिका तपाईंँलाई चित्त बुझेन भने माेबाइल एपकाे प्रयाेग गरेर पनि ब्लुटुथ भर्सन थाहा पाउन सक्नुहुन्छ । यसका लागि थुप्रै एप बनाइएका छन् । ती मध्ये एआईडीए  ६४ तपाईँका लागि उपयुक्त हुनसक्छ ।

यहाँ तपाईँले मात्र एक क्लिकमा आफ्नाे डिभाइसकाे ब्लुटुथ भर्सन  थाहा पाउन सक्नु हुनेछ । एप खोल्ने वित्तिकै सबैभन्दा माथि रहेकाे सिस्टममा क्लिक गर्नुहाेस् । त्यस पश्चात स्क्राेल गर्दै जानुहाेस् । केही तल तपाईँले ब्लुटुथ भर्सन देख्न सक्नुहुनेछ । 

कम्प्युटरको ब्लुटुथ भर्सन थाहा पाउने विधि

  • आफ्नाे कम्प्युटरको ‘डिभाइस म्यानेजर’मा जानुहाेस् ।
  • ‘ब्लुटुथ’मा क्लिक गर्नुहाेस् ।
  • ‘ब्लुटुथ रेडियाे लिस्टिङ’ छनौट गर्नुहाेस् ।
  • ‘एडभान्स’ ट्याबमा क्लिक गरेर र फर्मवेयर वा फ्रमवेयर भर्सन एरियामा एलएमपी (लिङ्क  मेनेजर प्राेटाेकल) नम्बर खाेज्नुहाेस् । यही नम्बरका मद्दतले ब्लुटुथ भर्सन थाहा पाउन सकिन्छ ।  तपाईँकाे एलएमपीकाे आधारमा ब्लुटुथकाे काेर स्पेसिफिकेसन (भर्सन) थाहा पाउन तलकाे टेबल हेर्नुहाेस् ।
लिङ्क मेनेजर प्राेटाेकल भर्सन (एलएमपी)ब्लुटुथ काेर स्पेसिफिकेसन (भर्सन)
एलएमपी ०ब्लुटुथ काेर स्पेसिफिकेसन(भर्सन) १.०. बी
एलएमपी १ब्लुटुथ काेर स्पेसिफिकेसन(भर्सन) १.१
एलएमपी २ब्लुटुथ काेर स्पेसिफिकेसन(भर्सन) १.२
एलएमपी ३ब्लुटुथ काेर स्पेसिफिकेसन(भर्सन) २.० इडिआर
एलएमपी ४ब्लुटुथ काेर स्पेसिफिकेसन(भर्सन) २.१ इडिआर
एलएमपी ५ब्लुटुथ काेर स्पेसिफिकेसन(भर्सन) ३.० एचएस
एलएमपी ६ब्लुटुथ काेर स्पेसिफिकेसन(भर्सन) ४.०
एलएमपी ७ब्लुटुथ काेर स्पेसिफिकेसन(भर्सन) ४.१ 
एलएमपी ८ब्लुटुथ काेर स्पेसिफिकेसन(भर्सन) ४.२
एलएमपी ९ब्लुटुथ काेर स्पेसिफिकेसन(भर्सन) ५.०
एलएमपी १०ब्लुटुथ काेर स्पेसिफिकेसन(भर्सन) ५.१
एलएमपी ११ब्लुटुथ काेर स्पेसिफिकेसन(भर्सन) ५.२

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४