close

डोमेन पछाडि ‘डटकम’ राख्नुको अर्थ के होला ? 

टेकपाना टेकपाना

भदौ ३, २०७९ १५:३१

डोमेन पछाडि ‘डटकम’ राख्नुको अर्थ के होला ? 

काठमाडौं । मोबाइल, कम्प्युटर तथा इन्टरनेटको प्रयोग बढेसँगै तपाईँ हामी दिनानुदिन नयाँ प्राविधिक शब्दसँग परिचित हुँदै गइरहेका छौँ । हिजो अपरिचित लागेका शब्दहरू आज हाम्रो दैनिकीको महत्त्वपूर्ण हिस्सा बनिसकेका हुन्छन् ।

तपाईँ हामीले इन्टरनेटमा विभिन्न कुराहरू खोजिरहँदा डटकम (.com) शब्दसँग थुप्रै पटक ठोक्किन पुगिरहेका हुन्छौँ । आज हामी तपाईँलाई डटकमसँग जोडिएका विभिन्न विषयको बारेमा जानकारी दिँदै छौँ ।

डटकम को पूर्ण रूप

कतिपय डोमेन नेमले सम्बन्धित वेबसाइट केसँग सम्बन्धित छ भन्ने कुरा जनाइरहेका हुन्छन् । कुनै पनि भण्डारण क्षेत्रको डोमेन छ भने त्यसमा डट स्टोर राखिएको हुन्छ । समाचारसँग सम्बन्धित वेबसाइटको डोमेनमा डट न्युज राखिएको हुन्छ ।

कतिपयमा डट शप लेखिएका डोमेन पनि पाउन सकिन्छ । केही शब्दको नामबाटै हामी कम्पनी केसँग सम्बन्धित संस्था हो भन्ने कुराको जानकारी पाउँछौँ । कतिपय शैक्षिक संस्थाको डोमेन नेमको पछाडि डटईडीयू (.edu -education), सरकारी वेबसाइटका लागि डटजीओभी (.gov -government), संस्थाका लागि डटओआरजी (.org –organization) लेखिएको हुन्छ ।

त्यसोभए डटकम भनेको के होला ? सायद तपाईँले डटकममा आउने कमको अर्थ कम्पनी, कम्युनिकेसन, कम्प्युटर वा त्यस्तै केही हुन्छ होला भन्ने कुरा सोच्नु भएको होला । वास्तवमा ‘डटकम’ कमर्सियलको छोटो रूप हो । कमर्सियल भन्नाले व्यापारिक वा व्यवसायिक परियोजना भन्ने बुझिन्छ ।

तर कुनै पनि वेबसाइटको डोमेन नेममा डटकम हुँदैमा त्यो व्यापारिक परियोजनाकै लागि बनाएको भन्ने पनि हुँदैन । खास व्यापारिक परियोजनाका लागि काम गर्ने संस्थाले प्रयोग गर्न सकुन् भन्ने विचारले डटकम सुरु भएको थियो । तर, यो शब्दले धेरैलाई आकर्षित गरेपछि धेरैले यही शब्द प्रयोग गर्न थाले ।

डटकमको अर्को सम्भावित अर्थ

केही प्रविधि विज्ञले ‘डटकम’ भनेको कमर्सियल हो भनेर दावी गरे पनि सुरुवातमा यसको अर्थ फरक भएको हुनसक्छ । केहीले डटकमको अर्थ कम्पनी भएको समेत अनुमान गरेका छन् ।

तर कसरी ? ८० र ९० को दशकको सुरुवाततिर इन्टरनेट विस्तार भइरहेको थियो । “त्यो समयमा यसलाई व्यापारसँग जोड्नका लागि तयार पारिएको थिएन,” ९० औँ दशकमा एमआईटीका डोमेन डेभलपर ज्याक ह्याभर्टी भन्छन्, “डटकमलाई व्यापारका लागि सोचिएकै होइन ।

कस्तो भने डटकम भनेको त्यस ठाउँमा गएर ग्राहकले सामाग्री खरिद गर्छन् भनेर सोचिएको थिएन । तिनीहरू त्यस्ता कम्पनी थिए, जसले सरकारी काम गरिरहेका हुन्थे ।” त्यसैले डटकमको अर्थ कम्पनी बढी सार्थक हुने उनको भनाइ छ ।

यी सम्भावित अर्थभन्दा पनि इन्टरनेट विस्तार हुँदै गएपछि यो माध्यम व्यापारिक रूपमा अगाडि बढ्यो । त्यसैले अहिले ‘कमर्सियल’ नै डटकमका लागि खास अर्थ मानिन्छ ।

डोमेनका लागि कुन एक्सटेन्सन सबैभन्दा पहिले आएको होला ?

कुनै पनि डोमेनको नाममा डटपछि आउने शब्दलाई डोमेन एक्सटेन्सन भनिन्छ । उदाहरणका लागि डटकम, डटनेट, डटओआरजी, डटजीओभी, डटन्युज आदिलाई डोमेन एक्सन्टसन मान्न सकिन्छ ।

अहिले प्रायः डटकम, डटओआरजी, डटनेट जस्ता डोमेन प्रख्यात छन् । सबैभन्दा पहिले कुन एक्सटेन्सन आयो होला त ? अहिले डटकम सबैभन्दा बढी प्रख्यात भएकाले सबैलाई डटकम नै सबैभन्दा पहिले आएको डोमेन एक्सटेन्सन हो भन्ने पनि लागेको हुन सक्छ ।

तर, यो बुझाइ गलत हो । इन्टरनेटको दुनियाँमा सबैभन्दा पहिले दर्ता भएको डोमेन र निर्माण भएको डोमेन फरक फरक छन् । सबैभन्दा पहिले बनेको डोमेन नेम नोर्डु डटनेट (Nordu.net) हो भने, सबैभन्दा सुरुमा दर्ता गरेको डोमेन सिम्बोलिक्स डटकम (symbolics.com) हो । यसर्थ सबैभन्दा पुरानो डोमेन एक्सटेन्सन डटनेटलाई मान्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४