close

‘सर्च’ गर्न गुगल होइन, टिकटक प्रयोग गर्छन् अहिलेका पुस्ता

टेकपाना टेकपाना

भदौ ४, २०७९ १८:५८

‘सर्च’ गर्न गुगल होइन, टिकटक प्रयोग गर्छन् अहिलेका पुस्ता

काठमाडौं । तपाईंलाई अनलाइनमा कुनै कुरा थाहा पाउनुपर्‍यो वा केही नयाँ जानकारी जान्नुपर्‍यो भने सबैभन्दा सुरुमा के गर्नुहुन्छ ? जवाफ आउनसक्छ गुगल गर्छु ।

कुनै पनि कुरा खोज्न गुगल सबैको पहिलो माध्यम हो । यद्यपि आउने दिनमा यो कुरा कम हुनसक्छ ।

एक अध्ययनअनुसार करिब ४० प्रतिशत युवा अनलाइनमा केही खोज्नुपर्‍यो भने गुगल होइन, टिकटकमा खोज्छन् ।

‘द पिउ रिसर्च सेन्टर’ले गरेको साे अध्ययनमा सन् १९९७ देखि २०१२ भित्र जन्मेका नयाँ पुस्ताका प्रयाेगकर्ता अनलाइन सर्चका लागि टिकटक प्रयोग गर्ने गरेको पाइएको हो ।

यो अवधिका युवा कुनै पनि कुरा सर्च गर्न लामो समय नलाग्ने धेरै जानकारीबाट छानेर आफूलाई चाहिने कुरा खोज्न रुचाउँदैनन् ।

उनीहरू आफूले खोजेको कुरा छिट्टो प्राप्त होस् भन्ने चाहन्छन्, जुन टिकटकमा प्राप्त गर्ने गरेका छन् ।

नयाँ पुस्ताका युवा गुगल सर्चबाट सन्तुष्ट नभएको पनि अध्ययनले बताएको छ । गुगलको सर्च इन्जिनमा हुने विभिन्न विज्ञापन लगायतका कुराले पनि उनीहरू गुगल सर्चप्रति आकर्षित भएको अध्ययनको निष्कर्ष छ ।

अर्कोतर्फ टिकटकमा खोजिएको कुरा सर्च बक्समा टाइप गर्ने बित्तिकै प्राप्त हुन्छ । कहिलेकाहिँ त उनीहरूले खोजिरहेका कुरा सर्चमा टाइप पनि नगरी ‘फर यु’ पेजमा आइरहेको हुन्छ ।

यसले गर्दा पनि नयाँ पुस्ता टिकटकमा बढी आकर्षित छ । टिकटकको ‘फर यु’ पेजको अल्गोरिदमले प्रयोगकर्ताको रुचि भएको भिडिओहरू उपलब्ध गराउने गर्छ ।

टिकटकको अल्गोरिदमले प्रयोगकर्ताले कस्ता भिडिओहरू बढी हेर्छन्, कस्ता भिडिओ धेरै सर्च गरेका छन्, कस्तो प्रकारको भिडिओमा प्रयोगकर्ताले कति समय बिताएका छन् लगायतका कुराबाट प्रयोगकर्ताको ‘फर यु’ पेजमा भिडिओ देखाउने गर्छ ।

यसले गर्दा पनि सर्च नै नगरी प्रयोगकर्ताले आफूले चाहेको जस्तो भिडिओ सिधै ‘फर यु’ पेजमा भेटाउनसक्ने सम्भावना बढी हुन्छ, जसले नयाँ पुस्ताका युवालाई आकर्षित गरेको अध्ययनले देखाएको छ ।

अध्ययनअनुसार नयाँ पुस्ताका युवाले टिकटकमा विशेषगरी खानेकुरा बनाउने तरिका, फेसनका टिप्स, घुम्न जाने ठाउँ खोज्ने गर्छन् ।

यद्यपि उनीहरू कोभिड, चुनावजस्ता कुराबारे जान्न चाहँदैनन् ।

टिकटकमा देखिएका केही कुरा प्रमाणित गर्नुपरे अथवा अलि संवेदनशील कुरा खोज्नुपरे मात्र उनीहरूले गुगल गर्ने गरेको पाइएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४