close

यस्ता छन् किनेपछि सबैभन्दा छिटो मूल्य गुमाउने बिजुली कार, किया सोल सबैभन्दा अघि 

टेकपाना टेकपाना

भदौ ५, २०७९ १६:२८

यस्ता छन् किनेपछि सबैभन्दा छिटो मूल्य गुमाउने बिजुली कार, किया सोल सबैभन्दा अघि 

काठमाडौं । विगत दुई वर्षमा डिजेल र पेट्रोलबाट चल्ने गाडी छोडेर विद्युतीय सवारीतर्फ आकर्षित हुने मानिसहरूको सङ्ख्या अविश्वसनीय तरिकाले वृद्धि भएको छ । त्यसको एउटा प्रमाण ब्याट्रीबाट चल्ने कारको गत वर्ष भएको बिक्री हो ।

गएको वर्षमात्रै ब्याट्रीबाट चल्ने कारको बिक्री १२० प्रतिशतले वृद्धि भएको देखिन्छ । धेरै कार निर्माता कम्पनीहरू यो अङ्ग्रेजी दशक अन्त्य भएपछि इन्धनयुक्त कार बिक्री नगर्ने घोषणा गरिसकेका छन् भने चार्जिङ पूर्वाधारको निर्माणमा अर्बौं डलर खर्च गर्ने कार्य भइरहेको छ ।

भविष्य नै विद्युतीय सवारीको भनिन्छ, तर वर्षौँ पुरानो ह्रासकट्टीको सिद्धान्तबाट भने यो पनि अछुतो छैन । ह्रासकट्टीको नियम अनुसार कुनै पनि वस्तु खरिद गरिसकेपछि त्यसको मूल्य स्वतः घट्दै जान्छ ।

विद्युतीय सवारी पनि यो नियमबाट टाढा छैन । उल्टै विद्यमान स्थितिमा इन्धन गाडी भन्दा विद्युतीय सवारीहरू ह्रासकट्टीबाट बढी नै प्रभावित भइरहेका छन् । केही विद्युतीय सवारी साधन त झन् सुरुवाती केही वर्षमै करिब ५० प्रतिशत मूल्य गुमाइरहेका छन् ।   

विशेषगरी आउडी, ज्यागवार र बीएमडब्लू लगायतका ठूला कम्पनीहरूको विद्युतीय कारका केही मोडेलको मूल्य खरिद गरेको केही वर्षमै गुम्ने गरेको छ । यसरी मूल्य ह्रास हुने विद्युतीय सवारीको सूचीमा किया शीर्ष स्थानमा छ ।

कार वारेन्टीको विषयमा विश्लेषण गर्ने ‘मोटरइजी’ ले केही नयाँ विद्युतीय सवारीका लोकप्रिय मोडेलको मूल्य उतारचढावको विषयमा अध्ययन गरेको छ ।

उक्त अध्ययनमा मोटरइजीले केही लोकप्रिय मोडेलका नयाँ विद्युतीय गाडीको मूल्य सन् २०१९ का नयाँ मोडेलहरूको सेकेन्डह्यान्डमा खरिद बिक्री (एक पटक प्रयोग भइसकेको) भएको कारको मूल्यसँग तुलना गरेको थियो । उक्त अध्ययनकै आधारमा मोटरइजीले सबैभन्दा छिटो मूल्य घटेका १० ओटा विद्युतीय कारको सूची सार्वजनिक गरेको छ ।   

उक्त सूचीमा कोरियन कम्पनी किया सोल सबैभन्दा छिटो मूल्य ह्रास हुने विद्युतीय सवारीको शीर्ष स्थानमा देखिएको हो । अध्ययनका अनुसार २०१९ संस्करणको तुलनामा किया सोलको मूल्य सन् २०२२ मा ४९ प्रतिशतले घटेको छ ।  

मूल्य गिरावटले सबैभन्दा धेरै सानो एसयूभी (SUV 4×4) लाई प्रभावित गरेको छ । अध्ययनका अनुसार साना आकारका एसयूभीको मूल्यमा औसत १७ हजार ८५१ युरो (करिब २३ लाख रुपैयाँ) ह्रासकट्टी भएको छ । 

सबैभन्दा कम मूल्य गिरावाट हुने कारमा भने टेस्लाको मोडेल थ्रीको स्ट्यान्डर्ड भर्सन छ । पहिलो पटक खरिद गरेको तीन वर्ष सम्म पुग्दा पनि टेस्लाको मोडेल थ्रीको मूल्य १५ प्रतिशतले मात्र कम भएको छ ।

ग्राहकले ४८ हजार ५९० (करिब ६२ लाख ३५ हजार रुपैयाँ) युरोमा खरिद गरेको कार तीनवर्ष पछि अर्का ग्राहकले ४१ हजार ३४८ (करिब ५३ लाख ६ हजार रुपैयाँ) युरोमा खरिद गरेका  छन् । यसको अर्थ ग्राहक टेस्लाको मोडेल थ्री खरिद गर्ने योजनामा छन् भने पुरानो खरिद गर्नुभन्दा थोरै पैसा थपेर नयाँ गाडी नै खरिद गर्न सक्छन् ।

टेस्ला मोडल थ्रीको लङ रेन्ज र टेस्ला मोडेल एक्स गरी दुई ओटा कार भने अझैपनि सूचीको १० औं नम्बरमा छन् । यी दुई कारको मूल्य तीन वर्षको अवधिमा २० प्रतिशतले मात्र घटेको छ । ३७४ माइल (६०१ किलोमिटर) अधिकतम रेन्ज दिने टेस्ला मोडल थ्रीको मूल्य हाल ५७ हजार ५९० युरो  (करिब ७३ लाख ८६ हजार रुपैयाँ) रहेको छ ।

यसले स्ट्याण्डर्ड संस्करणको तुलनामा ७० माइल (११२ किलोमिटर) बढी रेन्ज दिन्छ । त्यस्तै, टेस्ला मोडल एक्सको नयाँ संस्करणको मूल्य ९५ हजार ००० युरो (१ करोड १८ लाख रुपैयाँ भन्दा बढी) रहेको छ ।

मोटरइजीका सीइओ डनक्यान म्याक्लर फिसर आपूर्तीमा आएको कमी र बढ्दो मूल्य वृद्धिका कारण अहिलेको अवस्थामा नयाँ गाडी खरिद गर्नु चुनौतीपूर्ण रहेको बताउँछन् । यसको साटो प्रयोगमा आइसकेका गाडी खरिद गर्नु उपयुक्त हुने उनको सल्लाह छ ।    

सबैभन्दा धेरै मूल्यह्रास भएका १० विद्युतीय कार 

स्रोतः मोटरइजी

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४