close

सरकारले खारेज गर्‍यो सुमार्गीको टेलिकम कम्पनी हेलो मोबाइलको लाइसेन्स

टेकपाना टेकपाना

भदौ ६, २०७९ १३:४०

सरकारले खारेज गर्‍यो सुमार्गीको टेलिकम कम्पनी हेलो मोबाइलको लाइसेन्स

काठमाडौं । नेपाल स्याटलाइट टेलिकम प्रालि (हेलो नेपाल) को अनुमतिपत्र खारेज भएको छ । पटक-पटक दिएको समयभित्र बक्यौता नतिरेपछि सरकारले हेलो नेपालको अनुमतिपत्र खारेज गर्ने निर्णय लिएको हो ।

केही दिनअघि बसेको मन्त्रिपरिषद्को बैठकले अजयराज सुमार्गीको दूरसञ्चार कम्पनी खारेज गर्ने निर्णय गरेको मन्त्रालय उच्च स्रोतले जनाएको छ ।

यसअघि गएको मंसिरमा दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले तोकिएको समयभित्र बक्यौता नतिरेपछि हेलो नेपाल खारेज गर्ने निर्णय गरेको थियो ।

त्यसअघि १७ साउन २०७६ मा समेत बक्यौता नबुझाएको भन्दै प्राधिकरणले यस कम्पनीको अनुमतिपत्र खारेज गर्ने निर्णय गरेको थियो । प्राधिकरणको उक्त निर्णयविरुद्ध कम्पनी नेपाल सरकारसमक्ष पुनरावलोकनका लागि गएको थियो ।

कम्पनीको उक्त निवेदनका आधारमा मन्त्रिपरिषद्को २०७६ पुस २१ को बैठकले प्राधिकरणको निर्णयलाई उल्ट्याइदिएको थियो ।

साथै सरकारले कम्पनीले बुझाउनुपर्ने सबै किसिमको बाँकी बक्यौता पाँच किस्तामा नबढ्ने गरी पहिलो किस्ता आर्थिक वर्ष २०७६/०७७ को असार मसान्तभित्रै र बाँकी चार किस्तामध्ये प्रतिवर्ष एक किस्ताका दरले प्रत्येक आर्थिक वर्षको असार मसान्तभित्रै बुझाउने गरी समय दिएको थियो ।

यदि तोकिएको समयभित्र बक्यौता नबुझाएको खण्डमा कानूनबमोजिम कारबाही गर्नसमेत प्राधिकरणलाई सरकारले भनेको थियो । सरकारले दिएको उक्त किस्ताबन्दीको सुविधाको आधारमा कम्पनीले बाँकी बक्यौता रकम नबुझाएपछि पुनः प्राधिकरणले गत मंसिरमा किन अनुमति खारेज नगर्ने भन्दै कम्पनीलाई पत्र पठाएको थियो ।

पत्रको जवाफमा कम्पनीले उल्टै नियामकलाई नै कानून पढाउँदै अनुमतिपत्र खारेज गर्नु कानूनसंगत नभएको बताएको थियो । त्यतिमात्रै नभएर कम्पनीले प्राधिकरणकै कारण आफूले काम गर्न नपाएको समेत आरोप लगाएको थियो ।

‘हामीले ग्रामीण भेगमा सेवा विस्तारको दोस्रो चरणको कार्य सम्पन्न गरेर तेस्रो चरणको काम गर्ने क्रममा प्राधिकरणले दिएन,’ कम्पनीले त्यसबेला प्राधिकरणलाई पठाएको पत्रमा भनिएको थियो, ‘हाम्रो तर्फबाट ५० प्रतिशत काम सम्पन्न भएको थियो । ५० प्रतिशत काम सम्पन्न गर्दा पनि युनिफाइड लाइसेन्सका लागि बाटो रोक्नु प्राधिकरणकै कमजोरी हो ।’

तर, कानूनी व्यवस्थाले भने तोकिएको स्थानमा शतप्रतिशत सम्पन्न गरेपश्चात् मात्रै युनिफाइड लाइसेन्स प्राप्त गर्ने व्यवस्था गरेको छ । कानूनी व्यवस्थाअनुसार काम गर्न नसकेपछि युनिफाइड लाइसेन्सको अनुमति नपाएको कम्पनीले प्राधिकरणकै कारण काम गर्न नपाएको आरोप लगाउँदै पत्र पठाएको हो ।

यसरी नियामकलाई नै कानून पढाउने गरी कम्पनीबाट आएको जवाफ चित्त बुझ्दो नभएसँगै प्राधिकरणले मंसिर अन्त्तिममा अनुमतिपत्र खारेज गर्ने निर्णय गरेको थियो । प्राधिकरणले गरेको उक्त निर्णय विरुद्ध कम्पनी पुनरावेदनका लागि मन्त्रालय पुगेको थियो ।

तर, पटक पटक समय दिँदा समेत बक्यौता भुक्तानी नगरेको भन्दै मन्त्रालयले समेत मन्त्रिपरिषद्मा खारेजिका लागि सिफारिस गरेको थियो । मन्त्रालयको सोही सिफारिसको आधारमा मन्त्रिपरिषद्ले सुमार्गीको कम्पनी हेलो नेपाल खारेज गरेको मन्त्रालय उच्च स्रोतले जनाएको छ ।

मन्त्रिपरिषद्बाट खारेजीको निर्णय भएपनि मन्त्रालयबाट आधिकारिक जानकारी नियामक निकायलाई दिइएकाे छैन । प्राधिकरणका अध्यक्ष पुरूषाेत्तम खनालले अनौपचारिक रूपमा यस विषयमा जानकारी पाए पनि आधिकारिक रुपमा नआइसकेको बताए ।

“नेपाल स्याटलाइट टेलिकम मन्त्रिपरिषद्ले खारेज गरेको विषय सुनेको मात्रै हो,” अध्यक्ष खनालले भने, “यसको आधिकारिक जानकारी प्राप्त भएको छैन । त्यो हुँदा हामीले मन्त्रालयलाई पत्र पठाएर यसको आधिकारिकताबारे जान्ने प्रयास गरेको छौं । किन भने कम्पनी खारेज भएको हो, बाँकी बक्यौता उठाउने लगायतका अन्य प्रक्रिया अघि बढाउन आवश्यक हुन्छ ।”

प्राधिकरणका अनुसार नेपाल स्याटलाइट टेलिकमले फ्रिक्वेन्सी, नवीकरण, रोयल्टी लगायतका शीर्षकमा झन्डै ९० करोडको हारहारीमा सरकारलाई बक्याैता बुझाउन बाँकी छ ।

यस्तोमा अब उक्त कम्पनीलाई सार्वजनिक सूचना जारी गरी रकम भुक्तानी गर्न निर्देशन दिइनेछ । त्यो पनि नभएको खण्डमा कम्पनी तथा सम्बन्धित व्यक्तिलाई सरकारको कालोसूचीमा राखिने खनालले जनाए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४