close

स्टार्टअप सुरू गर्ने सोचमा हुनुहुन्छ ? यी हुन सक्छन् आकर्षक बिजनेस आइडिया

टेकपाना टेकपाना

भदौ ८, २०७९ १४:४४

स्टार्टअप सुरू गर्ने सोचमा हुनुहुन्छ ? यी हुन सक्छन् आकर्षक बिजनेस आइडिया

काठमाडौं । हामीलाई कुनै पनि व्यापार/व्यवसायबारे साेच्दा यो त पहिल्यै भइसकेको जस्ताे लागिरहेकाे हुन्छ । समय परिवर्तन हुँदा जाँदा कुनै बेलाका नयाँ आविष्कार/प्रविधि पुरानो हुँदै जान्छन् । भन्नुको अर्थ त्यस्ता नयाँ आविष्कार केही समयका लागि मात्र नयाँ हुन्छन् ।

अर्काे कुरा, कुनै ठाउँ विशेषमा पुरानाे भइसकेकाे व्यवसाय, अरू ठाउँका लागि नयाँ हुनसक्छ । त्यस्तै पुरानाे व्यवसाय पनि नयाँ तरिकाले गर्न सके परिणाम राम्राे आउन सक्छ ।

वास्तवमा जीवन भनेको अवसरको भरपुर प्रयोग गर्ने, नयाँ कुराको प्रयास गर्ने, रमाइलो गर्ने, गल्ती गर्ने र गल्तीबाट नयाँ पाठ सिक्ने कला हो । यसरी आफू वा समाजमा आएका चुनौती र समस्यालाई समाधान गर्न सकियो भने सफल हुन सकिन्छ ।

स्टार्टअप सुरू गर्न नयाँ सोचमात्रै ठूलाे हाेइन । त्यसले आमजनमानसको समस्या वा आवश्यकतालाई सम्बोधनसँगै उद्यमी पनि आर्थिक रूपमा सबल हुनुपर्छ ।

स्टार्टअपले स्वरोजगारी बनाउनुका साथै स्वतन्त्र भएर काम गर्न सघाइरहेको हुन्छ ।

आज हामी त्यस्ता स्टार्टअपको बारेमा चर्चा गर्दै छौं, जसले नयाँ उद्यमीहरूलाई आर्थिक रूपमा सबल बनाउनुमात्र नभई आमजनमानसका समस्या वा भनौँ सुविधालाई सम्बोधन गरेको हुन्छ ।

शैक्षिक सामग्री वा क्रियाकलापका अनलाइन कन्टेन्ट बनाउनुहोस्

कोभिड महामारीले विश्वभर अनलाइन वा भर्चुअल माध्यमलाई परिचित गराएको छ । अहिलेका प्रायः अभिभावक आफ्ना बालबालिकालाई त्यति समय दिन पाउँदैनन् । विशेषगरी विद्यालयमा पढाएका कुरा गृहकार्य गराउने समय हुँदैन ।

यस्तो अवस्थामा नयाँ स्टार्टअप आइडिया खोजिरहेका उद्यमीले बालबालिकालाई केन्द्रित सफ्टवेयर तयार पार्न सक्छन् ।

सफ्टवेयरमा त्यस्ता कन्टेन्ट समावेश होस्, जसले बालबालिकालाई गृहकार्य गर्न सघाउनुका साथै अन्य रचनात्मक क्रियाकलापमा उनीहरूलाई सहयोग गरोस् ।

खानाको व्यापार

देशमा हरेक कुरा अनलाइन हुँदै गइरहेका छन् । कुनै पनि खाना अर्डरको केही समयमा नै हामीले भनेको ठाउँमा आइपुग्छ । तर, यो देशका प्रमुख सहरमा मात्र देख्न पाइन्छ ।

हामीले मगाएका जे कुरा पनि अनलाइनमार्फत केही समयमा नै प्राप्त गर्न सकिन्छ ।

अनलाइन डेलिभरी गरिदिने स्टार्टअप थुप्रै छन् । अब तपाईंले गर्नुपर्ने भनेको मानिसहरूको आवश्यकता अनुसारको क्यालोरी तथा डाइट भएको खाना तयार पार्नु हो ।

सहरको बसाइ र अस्वस्थकर खानाले धेरैको स्वास्थ्यमा नकारात्मक असर पारिरहेको छ । यस्तो अवस्थामा स्वास्थलाई केन्द्रित गर्दै उनीहरूले माग गरेको डाइट र क्यालोरी भएको खाना उपलब्ध गराउने स्टार्टअप सफल हुने देखिन्छ ।

ड्रप शिपिङको व्यापार

ई-कमर्श व्यापारको आकर्षक व्यापार मोडेलमध्येको एक ड्रप शिपिङ पनि हो । ड्रप शिपिङ गर्न चाहेको व्यक्तिले थर्ड पार्टीका रूपमा काम गरेर राम्रो आम्दानी गर्न सक्छन् ।

नेपालमा अन्तर्राष्ट्रिय ई-कमर्श साइटबाट त्यति सजिलै ल्याउन नसकिने भएकाले यसलाई ड्रप शिपरहरूले सहज बनाई बीचमा बसेर राम्रो आम्दानी गर्नसक्छन् ।

लोकल गाइड

तपाईं आफ्ना वरपर भएका कुनै पनि ठाउँको राम्रो वा भनौँ सुहाउँदो प्रतिक्रिया दिन सक्नुहुन्छ भने गुगलको लोकल गाइड विकल्प उपयुक्त हुन्छ ।

तपाईंले गुगलको लोकल गाइड भएपछि सोझै आम्दानी गर्न सक्छु भन्ने चाहिँ हुँदैन । यसबाट अप्रत्यक्ष रूपमा राम्रो आम्दानी गर्न सकिन्छ ।

तपाईंले गुगलको लोकल गाइड भएर योगदान दिनुभएको छ भने गुगलले तपाईंलाई रेटिङ र व्याच दिइरहेको हुन्छ, जसले गर्दा तपाईंले लेखेका प्रतिक्रिया र तपाईंले राखेका फोटो धेरै मानिसले हेर्न सक्छन् ।

तपाईंले राखेका फोटो तथा प्रतिक्रियामा मानिसहरूको राम्रो संलग्नता हुन थालेपछि तपाईंलाई विभिन्न कम्पनीबाट विज्ञापनका अवसर आउन थाल्छन् ।

यसरी आफूले राखेका विज्ञापनबाट तपाईंले राम्रो आम्दानी गर्न सक्नुहुन्छ ।

त्यस्तै तपाईंले आफ्नो ठाउँको बारेमा विभिन्न जानकारी राखेर वेबसाइट बनाउन सक्नुहुन्छ । त्यस वेबसाइटबाट पनि विभिन्न तरिकाले आम्दानी गर्न सकिन्छ ।

किराना सामानको डेलिभरी सेवा

हामीले विभिन्न सामग्रीको डेलिभरी सेवा देखिरहेका छौँ । कतिपय सेवाका लागि हामीले प्रयोग पनि गरिरहेका छौँ होला ।

हामीले नेपालका सहरमा किराना सामानको डेलिभरीमा मात्र केन्द्रित स्टार्टअप देखेका छैनौँ । विशेषगरी किराना सामग्रीमा केन्द्रित डेलिभरी सिस्टम ल्याउन सकियो भने त्यसले राम्रो बजार पाउन सक्छ ।

चिठी लेखिदिने सफ्टवेयर

पुरानो जमानाको जस्तो चिठीको प्रचलन नभए पनि अहिले विभिन्न कार्यलयमा नयाँ मोडेलको चिठी आवश्यक परिरहेको हुन्छ ।

जागिरका लागि आवेदन दिँदा आवश्यक पर्ने चिठी र नेपालीलाई विद्यार्थी तथा कर्मचारीलाई केन्द्रित बायोडेटा निर्माण गर्न सकिने साइट बनाउन सक्यो भने त्यसले राम्रो बजार पाउन सक्ने सम्भावना छ ।

नेपाली चिठी निर्माण गर्ने वेबसाइट वा एप्लिकेसन बनाएर विभिन्न विज्ञापनबाट आम्दानी गर्न सकिन्छ ।

सोसल मिडिया इन्फ्ल्युन्सर बन्नुहोस्

पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग तीब्र गतिमा बढिरहेको छ । सामाजिक सञ्जालबाट आफूलाई रूचि भएका कुराबारे जानकारी दिएर सोसल मिडिया इन्फ्ल्युन्सर बन्न सकिन्छ ।

सामाजिक सञ्जालबाट सोझै पैसा आम्दानी गर्न नसके पनि विभिन्न विज्ञापन देखाएर, वा केही नयाँ कुरा सिकाए बापत् केही शुल्क लिएर आम्दानी गर्न सकिन्छ ।

बजार सल्लाहकार बन्नुहोस्

अहिलेको समयमा डिजिटल मार्केटिङको राम्रो सम्भावना रहेको छ । डिजिटल मार्केटिङका माध्यमबाट कुनै पनि साना ठूला व्यवसायलाई उनीहरूले खोजेका ग्राहकसम्म पुर्‍याएर उनीहरूको उत्पादन प्रवर्द्धन गर्न सकिन्छ ।

यसमा विशेषगरी एसईसओ (सर्च इन्जिन अप्टिमाइजेसन), सामाजिक सञ्जालबाट हुने व्यापारको जानकारी तथा कपीराइट सम्बन्धी कुराको जानकारी दिएर राम्रो आम्दानी गर्न सकिन्छ ।

एप्लिकेसन विकास गर्नुहोस्

विभिन्न कम्पनीका लागि आवश्यक मोबाइल एप विकास गर्ने स्टार्टअपको पनि राम्रो बजार छ । हरेक कुरा डिजिटलाइज भइरहँदा व्यापारीहरू आफ्नो व्यवसाय एप तथा वेबसाइट मार्फत दिन चाहन्छन् । त्यसका लागि उनीहरूलाई एप्लिकेसनको आवश्यकता पर्ने गर्छ ।

तपाईँमा एप बनाउनेबारे प्राविधिक सीप छ भने तपाईंले अरूका लागि एप विकास गरेर आकर्षक आम्दानी गर्न सक्नुहुन्छ । यो व्यवसाय दिगो हुन्छ किनभने एप बेचेका ग्राहकलाई मर्मत सम्भार (मेन्टेनेन्स) गरिरहन पर्ने हुन्छ ।

स्मार्ट उपकरण तयार पार्नुहोस्

नेपालमा भएका प्रायः स्मार्ट उपकरण विभिन्न देशबाट आयात गरिएका हुन्छन् । नेपाली बजारलाई आवश्यक विद्युतीय उपकरण निर्माण गर्न सकियो भने, त्यसले राम्रो बजार पाउन सक्छ ।

औसत नेपालीको बजेट अनुसारको विद्युतीय उपकरण तयार पार्न सकियो भने त्यस्तो स्टार्टअपले बजारमा राम्रो प्रभाव पार्छ ।

त्यसोभए उपयुक्त स्टार्टअप आइडिया कसरी छान्ने त ?

स्टार्टअप नयाँ नै हुनुपर्छ, कसैले नगरेको हुनुपर्छ भन्ने हुँदैन । कुनै पनि कामलाई नयाँ तरिकाले गर्न सकियो भने त्यसलाई पनि स्टार्टअप मान्न सकिन्छ ।

मानौँ हामीसँग कुनै एउटा त्यस्तो स्टार्टअप जसले आम जनताको समस्या पनि समाधान गर्न सक्षम छ । तर, त्यो स्टार्टअप आर्थिक रूपले औषत मानिसहरूको पहुँचभन्दा बाहिर भयो भने त्यति अर्थ भएन ।

यदि कुनै अर्को व्यक्तिले त्यही काम तर कम शुल्क वा भनौँ औसत नागरिकको बजेट अनुरूपको भयो भने त्यसले राम्रो बजार पाउँछ । त्यसैले नयाँ काम मात्र भनेर पनि हुँदैन । पहिले नै भएको व्यवसायलाई सबैको पहुँचसम्म पुर्‍याउन सक्ने काम कम्पनी हो ।

कुनै पनि स्टार्टअप सुरु गर्नु अघि त्यसमा गहन अध्ययन, खोज तथा अनुसन्धानको आवश्यकता पर्छ । त्यसैले सबैभन्दा पहिले आफूले आँटेको स्टार्टअप सुरु गर्न सकिन्छ कि सकिँदैन भन्ने कुरा ख्याल गर्नुपर्छ ।

त्यसपछि त्यसमा के के चुनौती आउँछन् र त्यसलाई कसरी समाधान गर्ने भन्नेबारे पनि पहिले नै योजना बनाउन पर्ने हुन्छ । कुनै पनि स्टार्टअप टिकाउ राख्नका लागि त्यसमा उपयुक्त व्यापार आइडिया आवश्यक पर्छ ।

यो पक्षमा सबैभन्दा बढी समय दिएर काम गर्नु पर्ने हुन्छ । स्टार्टअपलाई दिगो राख्न व्यापार आइडियामा जोड दिन आवश्यक छ ।

यसको व्यापार परियोजनाभित्र कम्पनीको लक्ष्य, बिक्री योजना, बजार विश्लेषण र आर्थिक लागतको अनुमान समावेश गर्न सकिन्छ । आर्थिक पक्ष्यका लागि तपाईंले विभिन्न संस्थाबाट स्टार्टअप ऋण, अनुदान लिन सक्नुहुन्छ ।

त्यस्तै विभिन्न कम्पनी तथा व्यक्तिले स्टार्टअपमा लगानी गर्न खोजिरहेका हुन्छन् । त्यसका लागि आफू यस्ता स्टार्टअपका लागि आयोजना गरिने विभिन्न कार्यक्रममा सहभागी हुन सक्नुहुन्छ ।

स्टार्टअपका लागि राम्रो टिमको आवश्यकता पर्छ । आफ्नो स्तरको, आफ्नो विचार मिल्ने पार्टनर खोज्न सकियो भने सँगै स्टार्टअप अगाडि बढाउन सकिन्छ । कतिपय स्टार्टअप सक्षम टिम नहुँदा नै असफल भइरहेका उदाहरण छन् ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३