close

बालेनसँग जोरी खोज्दा सामाजिक सञ्जालमा छुद्र बने सांसद महेश बस्नेत

टेकपाना टेकपाना

भदौ १०, २०७९ १५:२५

बालेनसँग जोरी खोज्दा सामाजिक सञ्जालमा छुद्र बने सांसद महेश बस्नेत

काठमाडौं । यतिबेला सामाजिक सञ्जाल ‘बालेनमय’ भएको छ । पछिल्लो दुई दिनमा काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) को नेतृत्वमा अवैध रूपमा निर्मित संरचना भत्काउने काम चलिरहेको छ ।

विशेषगरी भवन बनाउँदा पार्किङ राखेर नक्सापास गराएर ९० प्रतिशत छुट लिएरका घर धनीले पार्किङलाई अन्य प्रयोजनमा लगाउने भवनमा डोजर चलिरहेको छ ।

बिहीबारमात्रै बानेश्वरको ‘अल्फाबिटा’ को पार्किङ हुनुपर्ने भुईतल्लामा मेडिकल सञ्चालनमा ल्याइएको भन्दै त्यहाँको संरचना डोजर जोतियो । सुरुमा अल्फाबिटाका सञ्चालक र बालेन बीचमा ‘नक्सा को सँग हुन्छ ?’ भन्ने विषयमा  चर्काचर्की पर्‍यो ।

पछि बालेन आफैँ आफ्नो कार्यालय पुगेर नक्सासँगै डोजर लिएर फर्किए । नक्सामा उक्त स्थानमा पार्किङ भनेर उल्लेख गरिएको पाइएपछि डोजर चलाए । बालेनको यो कदमले सामाजिक सञ्जालमा निकै प्रशंसा पाइरहेको छ ।

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले समेत बालेनको यो कदमको खुलेर प्रशंसा गरेका छन् । तर, अर्कोतर्फ एमालेका नेता तथा सांसद महेश बस्नेत भने बालेनको विरुद्ध उत्रिए । 

बिहीबार डा कल्याण सुवेदी नामका एक फेसबुक प्रयोगकर्ताले अल्फाबिटाका सञ्चालकले एमाले अध्यक्ष केपी ओली र महेश बस्नेतसँग खिचाएको फोटो शेयर गरेका थिए । सोही पोस्टको स्क्रिनशट शेयर गर्दै एमाले नेता तथा पूर्व मन्त्री महेश बस्नेतले बालेन विरुद्ध आक्रोश व्यक्त गरे ।

जसमा उनले अल्फाबिटामा डोजर चल्नुमा आफूसँग नजिक भएको वा फोटो लिएको विषयलाई जोडेका थिए । त्यस्तो भए आफूहरू समेत मिलेर सन्की र लहडी आतङ्क नियन्त्रण गर्न बाध्य हुने चेतावनी समेत दिए । 

बस्नेतको उक्त फेसबुक पोस्टमा फोटो सहित कमेन्ट गर्दै भेरिफाइड फेसबुक पेज समेत रहेका मेयर बालेन शाहले आफ्नो व्यक्तिगत अकाउन्टबाट अल्फाबिटा सञ्चालकले फोटो त आफूसँग पनि खिचेको र डोजर चलाउनुमा फोटो कारण नभई गैरकानूनी संरचना भएको उल्लेख गरेका छन् ।

साथै उनले बस्नतमाथि व्यङ्ग्य कस्दै ‘बरु हजुरको घरको नक्सा पास छ कि छैन ?’ भनी सोधेका छन् । 

त्यसपछि नेता बस्नेत बालेनले आफ्नो फेसबुक पोस्टमा गरेको कमेन्टको स्क्रिन शट मध्यरातमा शेयर गर्दै लेख्छन्, “एउटा कार्यक्रम सकेर भर्खरै घर आइपुगेँ । बालेनजीको टिप्पणी हेरेर खुशी लाग्यो । तपाँईलाई सबैको घरको नक्सा हेर्ने भुत सवार भएछ । मेरो घरको नक्सा हेर्ने मन भए काजमा सूर्यविनायक नगरपालिका आउनु । तपाँईलाई भत्काउने र ध्वंस गरेर हिरो हुन्छु भन्ने लाग्या होला । हाम्रो तिर ध्वंस होइन निर्माणको लहर चलेको छ ।”

त्यससँगै आक्रोशित हुँदै उनले आफ्नो छुद्र रूप देखाउन थाल्छन् । “यताका डोजरमा मेयर चढ्दैनन् ड्राइभर चढ्छन् । डोजर चलाउन रहर भए ड्राइभिङ सिकेर आउनु । अनि दुईचार सय फेसबुके फ्यान भए भनेर नमात्तिनु । विगतका यस्ता दुईचार सय फेसबुके फ्यान भएका मान्छे अहिले कहाँ छन् खोज्नै पर्ने भएको छ,” उनले सोही फेसबुक पोस्टमा अगाडि लेखेका छन् । 

आफूहरूमा गाली गलौजको संस्कृति नभएको उल्लेख गर्दै उनी उल्टै बालेनमाथि त्यस किसिमको प्रवृत्ति विकास र प्रोत्साहन गरेको आरोप लगाउँछन् ।  उनी अगाडि भन्छन्, “अहिले त रमाइलै होला । पछि तपाईँका विरोधीले पनि त्यही शैली अपनाए भने गाह्रो होला ।”

एमाले नेता बस्नेत यत्तिकैमा रोकिँदैनन् । उनको छुद्र रूप झन् उग्र बन्दै जान्छ । उनको फेसबुक पोस्टमा गएर धेरैले आलोचना गरेका छन् । 

आफ्नो पोस्टमा कमेन्ट गर्नेहरूलाई रिप्लाई दिँदै उनी तल्लो स्तरको गाली गलोजमा उत्रिएका छन् । सुमन वस्ति नामक फेसबुक प्रयोगकर्ताले कमेन्टमा ‘दिउँसै सांसद अपहरण गर्नेसँग डराउनु बालेन जी’ भन्दै व्यङ्ग्य गरेका छन् । त्यसको रिप्लाई लेख्दै सांसद समेत रहेका बस्नेत अभ्रद बन्छन् ।

त्यसमा उनले लेखेका छन्, “तेरो स्वास्नी पनि हराई र ?” यो त एउटा उदाहरणमात्रै हो । “नेपालमा अब तपाईँको काम छैन्” भन्दै अर्का फेसबुक प्रयोगकर्ता बिरु कार्कीले गरेको कमेन्टमा बस्नेत “तँ दलालको काम छ” भन्दै रिप्लाई दिन्छन् ।

सांसद बस्नेतले आफ्नो उक्त पोस्टमा आएका कमेन्टमा दिएका यस्ता कयौँ रिप्लाई छन् । जुन अत्यन्तै अभद्र र असभ्य देखिन्छन् । सांसद जस्तो व्यक्ति यसरी सामाजिक सञ्जालमा अभद्र, असभ्य हुँदा यसको नकारात्मक प्रभाव उनीहरूलाई फलो गर्ने आम मानिसमा समेत पर्ने देखिन्छ । 

यद्यपि सबैतर्फबाट चर्को आलोचना व्यक्त भएपछि सांसद बस्नेतले आफ्ना त्यस्ता छुद्र कमेन्ट डिलिट गरेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३