close

स्टार्टअप कम्पनी खोल्नुअघि ख्याल राख्नैपर्ने ५ कुरा

टेकपाना टेकपाना

भदौ ११, २०७९ १२:४१

स्टार्टअप कम्पनी खोल्नुअघि ख्याल राख्नैपर्ने ५ कुरा

काठमाडौं । विचार कुन बेला जन्मिन्छ र कुन बेला हराउँछ, कुनै निश्चित हुँदैन । एक ठाउँबाट कुनै अर्को ठाउँमा यात्रा गर्दा मनमा अनेकन् विचार आइरहन्छन् ।

यदि तपाईं व्यापारिक कुरामा बढी केन्द्रित हुनुहुन्छ भने कुनै ठाउँमा यात्रा गर्दा त्यहाँ व्यवसायका प्रचुर सम्भावना देख्नुहुन्छ । यो मानवीय स्वभाव हो । नयाँ ठाउँमा यात्रा गर्दा जन्मेका विचार सधैँ बाँचिरहन्छन् भन्ने हुँदैन । 

यदि त्यो विचारलाई वास्तविक जिन्दगीमा लागू गरेर अघि बढ्नुभयाे भने तपाईंको व्यापारिक विचारले सार्थकता पाउनसक्छ

तपाईंको मनमा आएका सबै व्यापारिक विचार उपयुक्त नहुन पनि सक्छन् । यदि तपाईंको विचार वर्तमान र भविष्यको बजारतर्फ केन्द्रित छ भने तपाईंले त्यसलाई स्टार्टअप कम्पनीको रूप दिएर पनि सुरु गर्न सक्नुहुन्छ ।

तपाईंसँग त्यस्तो स्टार्टअपको विचार हुनुपर्छ जसले तपाईंलाई एक सफल उद्यम बनाउन सकोस् ।

यदि तपाईं आफ्नो विचारले आफूलाई उद्यमी बनाउन सक्छ भन्ने कुरामा ढुक्क हुनुहुन्छ भने त्यो विचारलाई स्टार्टअप कम्पनीमा कसरी रूपान्तरण गर्ने भन्नेबारे सोच्नुपर्ने हुन्छ ।

स्टार्टअप सुरु गर्नु भनेको आज सुरु गरेर भोलिदेखि पैसा कमाउन सकिन्छ भन्ने होइन । कुनै पनि व्यवसायलाई स्थापित गर्नको लागि धेरै उतारचढावहरूको सामना गर्नुपर्ने हुन्छ ।

एउटा सफल व्यवसायको पछाडि कडा परिश्रम, लगानी, कैयौँ अनिदो रातहरू, कैयौँ असफलताहरू हुने गर्छन् । यसलाई स्थापित गर्न तपाईंले आफ्नो अस्तित्व, रहर र समय यसैमा व्यतित गर्नुपर्ने हुन्छ । 

विश्वभर १० वर्षभित्र ७१ प्रतिशत बढी व्यवसाय असफल भएका छन् । तपाईंले आफ्नो व्यवसायलाई एउटा उचाइ दिइसकेपछि त्यो उचाइ स्थिर राख्न वा भनौँ अझ बढाउनका लागि थप कडा परिश्रम गर्नुपर्ने हुन्छ ।

स्टार्टअप कम्पनी सुरु गर्नुअघि ध्यान दिनुपर्ने कुरा 

१. व्यावसायिक योजना बनाउनुहोस् 

आफ्नै व्यवसाय गर्छु भन्ने विचार हुनु एक पक्ष हो भने एउटा वैध व्यावसायिक योजना हुनु पूर्ण रूपमा अर्को पक्ष हो । कुनै पनि स्टार्टअप व्यवसाय सुरु गर्नुअघि लगानीको कुरा सबैभन्दा अगाडि आउँछ ।

सबैभन्दा पहिले कहाँबाट कसरी लगानी जुटाउन सकिन्छ भन्ने कुरा ख्याल गर्नपर्ने हुन्छ । त्यसका लागि आफूसँग कति रकम छ, लगानी कति लाग्ने भन्ने कुराको हेक्का हुनुपर्छ ।

विभिन्न सफल स्टार्टअपको डेटा हेर्ने हो भने उनीहरूले ३६ प्रतिशत ऋण लिएर वा लगानी जुटाएर व्यवसाय सुरु गरेको पाइन्छ भने बाँकी ६४ प्रतिशत अन्य व्यवसायबाट आम्दानी गरेको पाइन्छ । सबैले यही गर्नुपर्छ भन्ने हुँदैन ।

तपाईँले सुरु गर्न चाहेको स्टार्टअप कम्पनीलाई कति लगानी आवश्यक पर्छ भन्ने कुरा मूल्याङ्कन भने गर्नुपर्ने हुन्छ । 

आफ्नो व्यवसायको आवश्यकता बुझ्ने अन्य कम्पनीबाट पनि लगानी जुटाउन सकिन्छ । लगानी कहाँबाट, अनि कसरी जुटाउने भन्ने कुरा सुनिश्चित भइसकेपछि सो व्यवसायको भविष्य कस्तो होला भन्ने कुरा अझ महत्त्वपूर्ण पक्ष हुन्छ ।

किनभने स्टार्टअप वर्तमान बजार र भविष्यको बजारलाई केन्द्रित गरी सञ्चालन गरिएको हुन्छ ।

तपाईंले व्यावसायिक योजना बनाउँदा कम्तिमा पनि ३ देखि ५ वर्षसम्मको व्यापारिक रणनीति तयार पार्नुपर्ने हुन्छ ।

 २. उपयुक्त पुँजी सुरक्षित राख्नुहोस् 

स्टार्टअप व्यवसायका लागि ठ्याक्कै कति लगानी लाग्छ भन्ने कुरा निश्चित हुँदैन । कतिपय व्यवसाय आफ्नो क्षमताले मात्र पनि अगाडि बढाउन सकिन्छ भने कतिपयलाई क्षमताका साथै पर्याप्त पुँजीको आवश्यकता पर्ने गर्छ ।

तपाईं आफ्नो क्षमताको भरमा स्टार्टअप सुरु गर्दै हुनुहुन्छ भने थोरै पुँजी पनि उपयुक्त हुन्छ । कर्मचारी राख्ने, अफिस लिने वा त्यस्ता अनेकन् खर्चबारे सोच्न थाल्यो भने पुँजी बढाउनुपर्ने हुन्छ ।

तर केही स्टार्टअप कम्पनी सीमित पुँजीको भरमा सानो कोठा र एक जनाबाट पनि सुरु गर्न सकिन्छ । यदि तपाईं सुरुवातमै स्टार्टअप कम्पनीलाई विस्तार गर्ने सोचिरहनु भएको छ भने तपाईंलाई ठूलो पुँजीको आवश्यकता पर्नु स्वभाविक नै हो ।

त्यसैले तपाईंले सुरक्षित र आफूलाई पर्याप्त हुने पुँजीको संकलन गर्नुपर्ने हुन्छ । आर्थिक पाटोको कुरा गरिरहँदा तपाईंले वित्तीय योजना बनाउनुपर्ने हुन्छ । 

वित्तीय योजनामा विशेषगरी यी कुरा पर्छन्

  • ब्यालेन्स शिट
  • बिक्रीको पूर्वानुमान
  • नाफा र घाटाको विवरण
  • क्याश फ्लो (नगदको कारोबार) विवरण 

८२ प्रतिशत भन्दा बढी व्यवसाय क्याश फ्लो अव्यवस्थित हुँदा असफल भएका छन् ।  क्याश फ्लोको विवरण भन्नाले कम्पनीमा आउने पैसा र कम्पनीबाट जाने पैसालाई बुझिन्छ ।

माथि उल्लेख गरिएका वित्तीय विवरणलाई प्रयोग गर्नुभयो भने तपाईँलाई कति पुँजी आवश्यक पर्छ भन्ने निर्धारण हुन्छ । 

पुँजी वा भनौँ लगानी कसरी संकलन गर्न सकिन्छ त? स्टार्टअप व्यवसायलाई लगानी गर्ने व्यक्तिगत रूपमा मानिसहरू डराए पनि ठूला लगानीकर्ता डराउँदैनन् ।

यदि उनीहरूले स्टार्टअपको भविष्य राम्रो देखे भने लगानी गर्न तयार हुन्छन् । यद्यपि तपाईंले सबैभन्दा पहिले कोबाट लगानी संकलन गर्ने भन्ने सोच्नुभएको छैन भने यी तपाईँका लागि उपयुक्त लगानीकर्ता हुनसक्छन् । 

– साथीहरू 

– परिवार 

– निजी लगानीकर्ता (एन्जल इन्भेस्टर) 

– भेन्चर क्यापिटल

३) उपयुक्त जनशक्ती छनौट गर्नुहोस् 

स्टार्टअप कम्पनी सुरुवात गर्दा तपाईँलाई धेरै कुराको सहयोग आवश्यक पर्छ । पहिलो चरणमा साथ दिने मानिसहरू विरलै भेटिन्छन् । सबै योजना र काम एक्लैले गर्न पनि सम्भव हुँदैन ।

समय बित्दै गएपछि वा सुरुवात गर्दा पनि तपाईंलाई सक्षम, विश्वास गर्न लायक मानिसहरूको आवश्यकता पर्छ । त्यसोभए सुरुवातमा तपाईंलाई कति कर्मचारी आवश्यक पर्छन् होला त ?

यसो त कुन कम्पनीका लागि कति कर्मचारी आवश्यक पर्छ भन्ने कुरा यकिन गर्न सकिँदैन । कर्मचारी राखेर मात्र स्टार्टअप सफल हुन्छ भन्ने पनि हुँदैन । त्यसैले कस्तो स्टार्टअप सञ्चालन गर्ने योजना बनाउनु भएको छ र त्यसमा कुन काम गर्न कति कर्मचारी आवश्यक पर्छन् भन्ने कुराको हिसाब गर्नुपर्ने हुन्छ ।

एउटा टेक स्टार्टअपका लागि कुन काममा कति कर्मचारी चाहिन्छ भन्ने कुराको उदाहरण यहाँ हेर्न सक्नुहुन्छ । तपाईंले कर्मचारी मात्र नभई विश्लेषक, योजनाकार आदिको सहयोग पनि लिनुपर्ने हुन्छ ।

स्टार्टअप सुरु गर्नुअघि त्यस व्यवसायलाई आवश्यक पर्ने विभिन्न व्यक्तिसँग राम्रो चिनजान बनाउनुहोस् । व्यवसायका लागि यी मानिसहरूको सल्लाह लिन सक्नुहुन्छ; 

– वकिल 

– लेखापाल (अकाउन्टेन्ट) 

– वित्तीय सल्लाहकार

 ४) स्टार्टअप सुरुवात गर्ने ठाउँ पहिचान गर्नुहोस् र वेबसाइट निर्माण गर्नुहोस् 

तपाईंले कुनै टेक स्टार्टअप सुरुवात गर्ने योजना बनाउनु भएको छ भने सबैभन्दा पहिले वेब एड्रेस तयार पार्नुपर्ने हुन्छ । वेब एड्रेस भन्नाले कम्पनीको इन्टरनेट ठेगाना भनेर बुझिन्छ ।

आफूले सुरुवात गर्न लागेको कम्पनीको नाम सोचेर त्यो नाममा डोमेन नेम भेटिन्छ या भेटिँदैन भन्ने कुरा ख्याल गर्नुहाेस् । तपाईंले डोमेन नेम पहिले तयार पारेपछि त्यसैबाट कम्पनीको नाम राख्न सक्नुहुन्छ ।

टेक स्टार्टअप विशेषगरी सानो ठाउँबाट नै सुरु गर्न सकिने भएकाले भौतिक स्थानको त्यति आवश्यक पर्दैन । तर, पनि विकसित ठाउँ वा भनौँ जहाँ मानिसहरूको बढी बाहुल्यता छ र तपाईंको व्यवसायको आवश्यकता छ त्यहाँ सुरु गर्दा राम्रो हुन्छ ।

डोमेन नेम तयार पारिसकेपछि वेबसाइट तयार पार्नुहोस् । तपाईंले लगानीकर्ता खोज्दा आफ्नो सबै योजना त्यही वेबसाइट मार्फत देखाउन सक्नुहुन्छ ।

इन्टरनेट प्रयोग बढ्दै गइरहेको अवस्थामा व्यवसाय प्रवर्द्धन गर्न पनि सामाजिक सञ्जाल तथा वेबसाइटको भूमिका महत्त्वपूर्ण हुन्छ ।

५) बजार अध्ययन गर्नुहोस् 

कुनै पनि स्टार्टअप कम्पनी वा भनौँ व्यवसायका लागि बजार महत्त्वपूर्ण पक्ष हो । बजार बिना न स्टार्टअपको अस्तित्व छ न त कुनै व्यवसायको नै । त्यसैले तपाईंले बढीभन्दा बढी समय बजार बुझ्नमा लगाउनुपर्ने हुन्छ ।

अरूले भनेको भरमा कुनै पनि स्टार्टअप सुरुवात गर्न सकिँदैन । त्यसका लागि स्टार्टअप गर्न चाहेको व्यक्तिले नै गहन रूपमा बजार बुझ्नु आवश्यक हुन्छ ।

टेक स्टार्टअप सुरुवात गर्न खोजिरहनु भएको छ भने तपाईंले डिजिटल मार्केटिङका बारेमा बुझ्नुपर्ने हुन्छ । 

डिजिटल मार्केटिङ कसरी प्रयोग गर्ने भन्ने कुराका लागि तल उल्लेख गरिएका मार्केटिङका पक्षबारे बुझ्न सक्नुहुन्छ;

– कन्टेन्ट मार्केटिङ 

– अफिलिएट मार्केटिङ 

– ईमेल मार्केटिङ 

– सर्च इन्जिन अप्टिमाइजेसन (एसईओ) 

– सोसल मिडिया मार्केटिङ (एसएमएम) 

– सर्च इन्जिन मार्केटिङ (एसईएम) 

– पे-पर-क्लिक एड्भर्टाइजिङ (पीपीई) 

यसरी विभिन्न माध्यमको प्रयोग गरेर बजारको अवस्थाबारे बुझ्न सक्नुहुन्छ । बजार अवस्था र त्यसको माग बुझेर त्यही अनुसार आफ्नो विज्ञता उपयोग गरेर स्टार्टअप सुरु गर्दा त्यसले सफलता पाउँछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३