close

गुगल फोटोमा इडिट गर्ने उपयोगी ७ तरिका

टेकपाना टेकपाना

भदौ ११, २०७९ १६:४२

गुगल फोटोमा इडिट गर्ने उपयोगी ७ तरिका

काठमाडौं । एन्ड्रोइड डिभाइसको डिफल्ट ग्यालरी एपको रुपमा सुरु भएको गुगल फोटोज अहिले आएर मिडिया फाइलहरू ब्याकअप गर्ने, फोटो तथा भिडिओ इडिट गर्ने लगायत मेमोरीहरू संकलन गर्ने एउटा राम्रो प्लेटफर्मका रुपमा विकास भएको छ ।

झन् गुगल फोटोजमा उपलब्ध इडिटिङ फिचरका कारण प्रयोगकर्तालाई अरू कुनै फोटो इडिट गर्ने एप इन्स्टल गर्न त्यति खाँचो हुँदैन । गुगल फोटोमा नै आफ्नो फोटो र भिडिओलाई उत्कृष्ट बनाउन सकिन्छ ।

१. फोटो चहकिलो बनाउने फिचर 

गुगल फोटोमा डिफल्ट रुपमा नै फोटो इडिट गर्ने ट्याब उपलब्ध गरिएको हुन्छ । उक्त ट्याबमा क्लिक गरेर फोटोमा लाइट थप्ने, छायाँ पार्ने, श्यामस्वेत बनाउने लगायतका फिचर प्रयोग गर्न सकिन्छ ।

यसका लागि आफूले इडिट गर्न चाहेको फोटोमा क्लिक गर्नुहोस् । स्क्रिनको तलपट्टि ‘इडिट’ बटन देख्न सकिन्छ । उक्त बटनमा क्लिक गरेर उपलब्ध फिचर प्रयोग गरी इडिट गर्न सकिन्छ । यसमा एक दर्जनभन्दा बढी फिचर प्रयोग गर्न सकिन्छ । 

२. गुगल फोटोको फिल्टर 

फोटो इडिट भन्ने वित्तिकै फिल्टरको प्रयोग अनिवार्य हुन्छ । गुगल फोटोमा पनि विभिन्न थरीका फिल्टरहरू प्रयोग गर्न सकिन्छ । फोटोको इडिट अप्सनमा गएर स्क्रिनमा बाँयातिर स्वाइप गरेपछि फिल्टर अप्सनमा देखिन्छ ।

गुगल फोटोमा पनि एक दर्जनभन्दा बढी फिल्टरहरू उपलब्ध छन् । 

३. क्रप र रोटेट फिचर

फोटोको एंगल बिग्रियो, अथवा फोटोमा भएका विभिन्न अनावश्यक वस्तुलाई हटाउनुपर्‍यो भने गुगल फोटोबाट क्रप गर्न र रोटेट गर्न सकिन्छ ।

यसका लागि फोटोको इडिट अप्सनमा गएर बाँयातिर स्क्रोल गरेपछि क्रप अप्सन देख्न सकिन्छ । सोही अप्सन भित्रबाट फोटो क्रप गर्न तथा रोटेट गर्न सकिन्छ । 

४. अन्य उपयोगी फिचर 

गुगल फोटोमा अन्य उपयोगी इडिटिङ फिचरहरू पनि उपलब्ध छन् । प्रयोगकर्ताले फोटो ब्लर गर्ने, अनावश्यक वस्तु फोटोबाट हटाउने लगायत फोटोलाई पोट्रेट मोडमा राख्ने गर्न सकिन्छ ।

फोटोको इडिट अप्सनभित्र रहेको एडजस्ट अप्सन अन्तर्गत पाेट्रेट लाइट, ब्लर, म्याजिक इरेजर, कलर फोकस र स्काइ फिचर रहेका छन् । 

५. फोटो लाइट मिलाउने फिचर 

गुगल फोटोमार्फत फोटोमा लाइट थप गर्ने, ब्राइटनेस मिलाउने, स्याचुरेसन थपघट गर्ने लगायत कलर कन्ट्रास्ट, स्किन टोन लगायतका फिचरहरू पनि उपलब्ध छन् ।

यी फिचर प्रयोग गरेर फोटोको लाइटहरू व्यवस्थापन गर्न सकिन्छ । 

६. फोटो चित्र कोर्ने अथवा टेक्स्ट लेख्ने 

गुगल फोटोमा पनि आफ्नो इच्छाअनुसार केर्न तथा टेक्स्टहरू राख्न सकिन्छ ।

यसको लागि फोटोको इडिट अप्सनमा गएर बायाँतिर स्वाइप गर्दा अन्तिममा ‘मार्कअप’ भन्ने अप्सनमा क्लिक गरेर यी फिचर प्रयोग गर्न सकिन्छ । मार्कअप अन्तर्गत पेन, हाइलाइटर र टेक्स्ट फिचर उपलब्ध छन् । 

७. भिडिओबाट आफूलाई चाहिने क्लिप मात्र निकाल्ने फिचर 

फोटोमा जस्तै भिडिओमा पनि विभिन्न इडिटिङ फिचरहरू उपलब्ध छन् । गुगल फोटोमा भएको भिडिओबाट आफूलाई चाहिने क्लिप मात्र काटेर पनि राख्न सकिन्छ ।

यसको लागि भिडिओ ओपन गरेर स्क्रिनको तलपट्टि बीचमा भएको ‘इडिट’ अप्सनमा क्लिक गरेपछि क्रप, एडजस्ट, फिल्टर लगायतका अप्सनमा देख्न सकिन्छ ।

अन्य अप्सनहरूले फोटोमा जस्तै काम गर्नेछन् भने क्रप अप्सनबाट भिडिओबाट आफूले चाहेको क्लिपमात्र काटेर निकाल्न सकिन्छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३