close

अब अनलाइनबाटै प्रतीतपत्र र बैंक ग्यारेन्टी लिन सकिने

टेकपाना टेकपाना

भदौ १५, २०७९ १८:९

अब अनलाइनबाटै प्रतीतपत्र र बैंक ग्यारेन्टी लिन सकिने

काठमाडौं । ग्लोबल आईएमई बैंकले अनलाइनबाटै प्रतीपत्र (एलसी) तथा बैंक ग्यारेन्टी उपलब्ध गराउन थालेकाे छ ।

सामान आयात गर्दा आयातकर्तालाई आवश्यक पर्ने एलसी तथा बैंक ग्यारेन्टीलाई व्यवस्थित र ग्राहकमैत्री बनाउने क्रममा बैंकले अनलाइन सेवा सुरु गरेको हो ।

ग्राहकले अनलाइनबाटै एलसी तथा बैंक ग्यारेन्टीका लागि आवेदन दिनसक्ने र उक्त आवेदनको अवस्थाबारे जानकारी लिन सक्नेछन् ।

यसको अर्थ आवेदनपछि ग्राहकले दिएको आवेदनको प्रक्रिया कहाँ पुगेको छ भनी अनलाइनबाटै हेर्न सकिने छ ।

यो सेवा बैंकले ‘ग्लोबल कनेक्ट’मार्फत उपलब्ध गराएको छ । सेवा लिनका लागि सबैभन्दा सुरुमा तपाईंसँग कर्पोरेट अकाउन्ट आवश्यक पर्छ ।

बैंकको कर्पोरेट अकाउन्ट भएका ग्राहकले ग्लोबल कनेक्टमा उपलब्ध ‘एलसी इस्युएन्स’ र ‘बैंक ग्यारेन्टी’ मा क्लिक गरी कर्पोरेट अकाउन्टमार्फत लगइन गरी आवश्यक विवरण भरेर आवेदन दिन सक्नेछन् ।

यसरी अनलाइनबाट एलसी तथा बैंक ग्यारेन्टीका लागि आवेदन दिँदा आवश्यक पर्ने कर्पोरेट अकाउन्टका लागि समेत ग्राहकले अनलाइनबाटै आवेदन दिनसक्ने जनाइएको छ ।

त्यसका लागि ग्लोबल कनेक्टमै ‘कर्पोरेट’ भन्ने विकल्प उपलब्ध गराइएको छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३