close

जथाभावी भिडिओ बनाउने १४ युट्युब च्यानलमाथि कारबाही

टेकपाना टेकपाना

भदौ १५, २०७९ १८:४१

जथाभावी भिडिओ बनाउने १४ युट्युब च्यानलमाथि कारबाही

काठमाडौं । पछिल्लो एक वर्षमा १४ युट्युब च्यानल कारबाहीमा परेका छन् । प्रेस काउन्सिल नेपालले प्राप्त उजुरी तथा गुनासाेको सुनुवाई गर्ने क्रममा यी युट्युब च्यानलमाथि कारबाही गरेकाे हाे ।

काउन्सिलले जारी गरेको विज्ञप्तिअनुसार मिडियाअन्तर्गत आबद्ध नभएका ३४ ओटा युट्युब च्यानललाई कारबाही गर्न ब्यूरोलाई पत्राचार गरिएको र मिडियाअन्तर्गत रही दर्ता भएर सञ्चालनमा रहेका १४ ओटा युट्युब च्यानललाई आचारसंहिता बमोजिम ब्यूरोमा सिफारिस गरी कारबाही गरिएको हो ।

वैयक्तिक गोपनीयताको प्रतिकूल हुने, पीडितलाई नकारात्मक असर पार्ने, न्यायिक निकायमा विचाराधीन मुद्दाको स्वच्छ सुनुवाईमा असर पार्ने, राजनीतिक दल तथा प्रतिष्ठित व्यक्तित्वहरूप्रति घृणाजन्य अभिव्यक्ति प्रसारण गर्ने, अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने कार्य गरेका च्यानलविरुद्ध कदम उठाइएको काउन्सिलकाे विज्ञप्तिमा उल्लेख छ ।

हालै काउन्सिलले ‘Birgorkhali’ (बीर गोर्खाली) नामक युट्युब च्यालनबाट ‘बाफ्रे नेता देशको कत्ति शत्रु, मरेपछि पनि भ्रष्टाचार गरिरहने योजना’ शीर्षकमा प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीसहित अधिकांश राजनीतिक दलका नेताहरूलाई गालीगलौज गरी घृणास्पद अभिव्यक्ति सामग्री राखेको र यो च्यानलले नियमित रूपमा यस्तै प्रकृतिका सामग्री सम्प्रेषण गर्दै आएको कारण आवश्यक कारबाही गर्न नेपाल प्रहरी साइबर ब्यूरोलाई सिफारिस गरिएको विज्ञप्तिमा उल्लेख छ ।

यो च्यानल मिडिया अन्तर्गत दर्ता नरहेको पनि काउन्सिलले जनाएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३