close

आईटी क्षेत्रमा १० लाख युवालाई रोजगारी दिने क्लाउड फ्याक्ट्रीको लक्ष्य , के तयार छ नेपाल ?

टेकपाना टेकपाना

भदौ २१, २०७९ १८:४२

आईटी क्षेत्रमा १० लाख युवालाई रोजगारी दिने क्लाउड फ्याक्ट्रीको लक्ष्य , के तयार छ नेपाल ?

काठमाडौं । एआई प्रविधिमा काम गर्ने कम्पनी क्लाउड फ्याक्ट्रीले १० लाख युवालाई रोजगारी दिने लक्ष्य राखेको छ । सन् २०१० देखि सञ्चालनमा आएको क्लाउड फ्याक्ट्रीले विश्वका विभिन्न आईटी कम्पनीहरुका लागि काम गरिरहेकाे छ ।

एआई प्रविधिमा आधारित कम्पनीहरूका लागि जनशक्ति तयार पारिरहेकाे कम्पनीले विकासोन्मुख देशका १० लाख युवालाई डिजिटल-युगको काममा जोड्ने लक्ष्य राखेकाे क्लाउड फ्याक्ट्री नेपालका महाप्रबन्धक आयुष श्रेष्ठले बताए ।

“संसार एआईतर्फ अगाडि बढिरहेको छ । यो प्रविधिमा आधारित भएर काम गर्ने कम्पनीहरू पनि विकास हुँदैछन् । यसलाई सम्बोधन गर्नका लागि सीप भएका जनशक्तिलाई रोजगार उपलब्ध गराउनु नै हाम्रो मुख्य उद्देश्य हो,” उनले भने, “यही सन्दर्भमा हामीले १० लाख मानिसलाई रोजगारीसँग जाेड्ने लक्ष्य लिएका छौं । नेपालजस्तो विकासोन्मुख देशमा १० लाख मानिसलाई रोजगारी दिनु नै हाम्रो मिसन हो ।”

राेजगारीका लागि पहिलाे प्राथमकिता नेपाल नै रहेकाे उनले बताए ।

“हामीले पहिलो मौका नेपालीलाई नै दिने हो । यद्यपि हामीले काम गर्ने क्षेत्र ठूलो छ । भोलिका दिनमा कम्पनीले खोजेको सीप नेपालमा नभएको खण्डमा अन्य देशका युवालाई पनि मौका दिनेछौं,” उनले थपे ।

साथै कम्पनीले रोजगारीमात्र नदिई जनशक्तिलाई तालिम दिएर, सिक्ने र कमाउनेसँगै समाजलाई सेवा गर्न पनि सिकाउने उनले बताए ।

नेपालमा पनि पछिल्लो समयमा सूचना प्रविधि क्षेत्रमा आकर्षित हुनेको संख्या बढ्दो छ । सूचना प्रविधिका विभिन्न विषय अध्यापन गराउने शैक्षिक संस्था पनि सयाैंकाे संख्यामा छ ।

यस्तोमा विश्वमा एआई क्षेत्रमा क्रियाशील कम्पनी क्लाउड फ्याक्ट्रीको १० लाख रोजगारी उपलब्ध गराउने याेजनाले मूर्तरूप लिनसके हजाराैं नेपालीले अवसर पाउनसक्ने देखिन्छ ।

क्लाउड फ्याक्ट्रीको मुख्य काम डिजिटल संसारको वर्कफोर्स अथवा जनशक्ति व्यवस्थापन गर्ने हो । अझ विशिष्टिकृत रुपमा भन्नुपर्दा क्लाउड फ्याक्ट्रीले एआईसँग सम्बन्धित कामका लागि ‘ह्युमन-इन-लुप वर्कफोर्स’ तयार गर्ने गर्छ ।

कम्पनीले घरमै बसेर काम गर्न सकिने अथवा कार्यालयमा जाने दुवै उपाय सहितको रोजगार उपलब्ध गराउँछ ।

विश्वव्यापी रुपमा काम गर्ने र विशेषगरी अन्तर्राष्ट्रिय बजारमा काम गर्ने भएकाले जनशक्तिले आफ्नो इच्छाअनुसार आफ्नो समय र आफ्नो स्थानमा बसेर काम गर्न सक्छन् ।

कम्पनीमा डेटा इन्ट्री, डेटा एक्सट्र्याक्ट गर्ने, अडियो ट्रान्सक्रिप्सन, डेटा मोडरेसन, डेटा एनलाइसिस लगायतका काम गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३