close

सामाजिक सञ्जालमा व्यक्तिगत कागजात शेयर गर्दा के हुन्छ ?

हिक्मत आचार्य हिक्मत आचार्य

भदौ २२, २०७९ १६:१

सामाजिक सञ्जालमा व्यक्तिगत कागजात शेयर गर्दा के हुन्छ ?

काठमाडौं । सामाजिक सञ्जाल तथा इन्टरनेटको प्रयोग बढेसँगै हामी बढी देखावटी भएका छौँ । आफूले हासिल गरेका काम वा उपलब्धिको प्रचार होस् भन्ने हेतुले ती सामग्री अनलाइनमा शेयर गर्ने प्रवृत्ति बढेकाे छ ।

कतिपय अवस्थामा शेयर गरिएका यी सामग्रीले हामीलाई केही सहयोग गरे तापनि जोखिम पनि उत्तिकै निम्त्याउन सक्छ । विशेषगरी व्यक्तिगत विवरण समेटिएका कागजात सामाजिक सञ्जालमा राख्दा विभिन्न समस्या आउन सक्छ ।

धेरै मानिसले नागरिकता, पासपोर्ट, ड्राइभिङ लाइसेन्सजस्ता अति संवेदनशील विवरण हुने कागजात बिना कुनै संकोच सामाजिक सञ्जालमा राखिरहेका हुन्छन् । त्यस्ता कागजातका फोटो पछि काम लाग्नसक्ने भएकाले उनीहरू सामाजिक सञ्जालमा राख्ने गर्छन् ।

त्यस्ता विवरणबाट साइबर अपराध वा अन्य कुनै आपराधिक क्रियाकलाप हुनसक्ने विभिन्न घटना आएका छन् ।

सामाजिक सञ्जालमा शेयर गरेको ड्राइभिङ लाइसेन्सकाे फाेटाेकै कारण गत वर्ष पुस महिनामा धादिङ गल्छी गाउँपालिका-४ स्थायी ठेगाना भएका सुरेश अधिकारी महिनौँ हिरासत बस्नुपर्‍यो ।

भएको के रहेछ भने अधिकारीले केही वर्षअघि सवारी चालक अनुमतिपत्रका लागि ट्रायल परीक्षा उत्तीर्ण गरेका थिए । त्यसको केही समयपछि ड्राइभिङ लाइसेन्स हातमा परेपछि अधिकारीले ड्राइभिङ लाइसेन्स प्राप्त भएको खुसी फेसबुकमा बाँड्न चाहे ।

उनले त्यसबेला आफ्नो ड्राइभिङ लाइसेन्सको तस्वीर फेसबुकमा राखेका रहेछन् । समय बित्दै गएपछि उनलाई उक्त फोटोको वास्ता हुन छाड्यो ।

आपराधिक मनस्थिति भएका एक व्यक्तिले अधिकारीको ड्राइभिङ लाइसेन्सको फोटोकपी तयारी पारी एक वृद्ध महिलाको चेकबाट पैसा निकाल्ने गर्दा रहेछन् ।

पछि महिलाले आफूले पैसा ननिकालेको, तर बैंकमा रहेको उनका खाताबाट लगातार पैसा घटिरहन थालेपछि उजुरी गरिन् ।

उजुरी गरेपछि प्रहरीले अनुसन्धान थाल्यो । अनुसन्धानमा उक्त चेकबाट सुरेश अधिकारीको ड्राइभिङ लाइसेन्स प्रयोग गरी पैसा निकालिएको पाइयो ।

उक्त ड्राइभिङ लाइसेन्समा भएको व्यक्ति पहिचान गर्दै जाँदा अधिकारी पक्राउ परे ।

वास्तविक रूपमा उनको सो अपराध नगरेको भएपनि प्रमाणले उनैलाई दोषी देखायो । त्यसमा बैंककै कर्मचारीको मिलेमतो भएको भन्ने पनि आएको थियो ।

तर, वास्तविक रूपमा कसले ड्राइभिङ लाइसेन्स प्रयोग गरी पैसा निकालिरहेको थियो भन्ने कुरा अहिले पनि रहस्यको विषय बनेको छ ।

घटनामा जसको संलग्नता भएपनि सामाजिक सञ्जालमा राखिएको ड्राइभिङ लाइसेन्सको दुरुपयोग कसरी हुन्छ भन्ने कुरा उक्त घटनाले छर्लङ्ग पारेको छ ।

त्यसैगरी झापाकाे एक कन्सल्टेन्सीले विद्यार्थीहरूकाे नागरिकताको दुरुपयोग गर्दै नक्कली सिम निकाली ‘वनएक्स बेट’मा सट्टेबाजी गरिरहेकाे खबर बाहिर आयो । साे धन्दामा संलग्न गिरोहलाई प्रहरीले गत भदाैकाे पहिलाे साता पक्राउ गर्‍याे ।

यी त बाहिर आएका घटना मात्र हुन् ।

वास्तवमा बाहिर आउन नपाएका, तर भित्रभित्रै ठूलो आपराधिक मोड लिने कैयौँ घटना भएको हुनसक्ने अनुमान लगाउन सकिन्छ ।

सामाजिक सञ्जालमा आफ्ना व्यक्तिगत विवरण भएका कागजात सार्वजनिक गर्दा त्यसले साइबर अपराधलाई बढावा दिइरहेको अधिवक्ता सन्तोष सिग्देलकाे बुझाइ छ ।

उनी भन्छन्, “कुनै पनि वैयक्तिक पहिचानयोग्य जानकारी (PPI-Personally Identifiable information) मा हाम्रो नाम, हाम्रो बाबाआमाको नाम, जन्ममिति, ठेगाना, नागरिकता नम्बर हुन्छ । यस्ता विवरण हाम्रो व्यक्तित्वका भाग हो । हामीले तिनै विवरण विभिन्न फाराम भर्दा वा सामाजिक सञ्जालमा विभिन्न उद्देश्यले राखिरहेका हुन्छौँ । त्यहीसँगै हाम्रो फोन नम्बर, ईमेल एड्रेस लगायतका विवरण डिजिटल परिचयको भागका रूपमा रहेका हुन्छन् । यदि हामीले यस्ता विवरण सामाजिक सञ्जालमा राख्यौँ भने आफ्नो ‘डिजिटल आइडेन्टिटी’ सबैमाझ खुला गरिरहेका हुन्छौँ । यसपछि याे विवरणकाे दुरूपयाेग गरी आपराधिक काम हुनथाल्छ ।”

डिजिटल संसारमा जन्ममितिले मात्रै ठूलो भूमिका खेल्ने उनी बताउँछन् ।

“जन्ममितिलाई पहिचानयोग्य जानकारीका रूपमा राखिएको हुन्छ । यसलाई बैंकमा ग्राहक पुष्टि गर्न, वेबसाइटमा भोटिङ विवरण हेर्न, त्यस्तै धेरै ठाउँमा जन्ममितिले पासवर्डको काम गर्ने गरेको हुन्छ,” उनले भने ।

त्यसैले त्यस्ता विवरण सामाजिक सञ्जालमा राख्दा धेरै ख्याल गर्नुपर्नेमा उनले जाेड दिए ।

“हामीले पहिचानयोग्य वैयक्तिक विवरण जति सामाजिक सञ्जालमा राख्यौँ, त्यति नै साइबर अपराधबाट पीडित हुने जोखिममा परिरहेका हुन्छौँ,” उनी थप्छन्, “यही विवरणका माध्यमबाट हाम्रो अनलाइन खाता ‘ब्रिच’ हुनसक्छ । त्यसैको आधारमा कसैले नयाँ आइडेन्टिटी बनाउन सक्छ ।”

उसाेभए जाेखिम हुँदाहुँदै पनि प्रयाेगकर्ता सामाजिक सञ्जालमा वैयक्तिक विवरण किन राख्छन् त ?

धेरैलाई डिजिटल साक्षरतासँगै भर्चुअल दुनियाँमा कसरी सुरक्षित रहने भन्ने कुरा थाहा नहुँदा पनि जोखिम निम्तिरहेको बुझाइ अर्का अधिवक्ता प्रविन सुवेदीको छ ।

“कतिपय अवस्थामा कुनै पनि घटनाका पीडितले सम्बन्धित निकाय वा पक्षलाई दिनुपर्ने व्यक्तिगत सूचना सामाजिक सञ्जालमा राखिरहेका हुन्छन्,” सुवेदी भन्छन्, “उनीहरूले त्यस्ता वैयक्तिक पहिचानयोग्य विवरण प्रहरी वा अनुसन्धान विभागलाई दिनुको सट्टा फेसबुक, मिडिया वा अनलाइन पत्रपत्रिकालाई दिँदा धेरै असर गरिरहेको हुन्छ । यसले एउटा रूपमा अनुसन्धानको कामलाई असहज बनाइरहेको हुन्छ भने अर्कोतर्फ समाजलाई अर्कै दिशातिर केन्द्रित गरिरहेको अनुभूति दिलाउँछ ।”

यस्ता विवरण सामाजिक सञ्जालमा शेयर गर्दा कानूनी प्रक्रियामा समेट समस्या ल्याउनसक्ने उनी बताउँछन् ।

“कानूनी प्रक्रियामा गइसकेका घटनाका लागि आवश्यक कागजात सामाजिक सञ्जालमा शेयर गर्दा त्यसले उक्त व्यक्तिको आत्मसम्मान, न्यायीक प्रक्रिया पनि असर गर्छ,” उनले भने ।

त्यसैले यस्ता विषय वा विवरण सामाजिक सञ्जालमा राख्दा आफूले आफैंलाई संयमित बनाउन जरूरी रहेकाेमा उनी जाेड दिन्छन् ।

कतिपय अवस्थामा हामीले अञ्जानमा आफ्ना वा अरूका वैयक्तिक पहिचानयोग्य विवरण सामाजिक सञ्जालमा राखिरहेका हुन्छौँ ।

विशेषगरी कसैको वैयक्तिक विवरण भएको कागजात जस्तै; नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्र भेटाएको खण्डमा हामी ‘मानवता’ देखाउन उक्त कागजातको फोटो खिचेर सामाजिक सञ्जालमा राखिरहेका हुन्छौँ ।

सामाजिक सञ्जालमा त्यस्ता कागजातका फोटो राख्दा हाम्रो उद्देश्य उक्त सूचना पीडित व्यक्तिसामु पुगोस् भन्ने हुन्छ । तर, सामाजिक सञ्जालमा उक्त पोस्ट पीडितले मात्र देख्दैन । त्यसरी अर्काको वैयक्तिक पहिचान बोकेको कागजात केही नगरी फोटो खिचेर राख्दा पीडितलाई थप पीडा दिइरहेको हुन्छ ।

त्यसैले त्यस्ता फोटो राख्दा वैयक्तिक पहिचानयोग्य जानकारी हुनसक्ने विवरणलाई ढाकेर वा एडिट गरी ब्लर गरेर राख्न सुवेदी सुझाव दिन्छन् ।

“हाम्रो व्यक्तिगत गोपनीयता कायम गर्ने ऐनले कसैको पनि व्यक्तिगत सूचना समाजिक सञ्जालमार्फत बाहिर ल्याउनुलाई ‘कसूर’का रूपमा परिभाषित गरेको छ,” सुवेदी अगाडि भन्छन्, “यदि कसैले व्यक्तिगत पहिचानयोग्य विवरण सामाजिक सञ्जालमार्फत बाहिर ल्याएको छ र त्यसलाई पीडितले मुद्दा दायर गरेकाे छ भने भने एक वर्षसम्म कैद वा ५० हजारसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।”

यदि कुनै पनि संस्था वा कम्पनीबाट प्रयोगकर्ताको डेटा वा विवरण अञ्जानमा बाहिर आएको छ भने वैयक्तिक गोपनीयता ऐनले त्यसलाई कसूर नमानेको सुवेदी बताउँछन् ।

“यदि हाम्रो वैयक्तिक पहिचानयोग्य जानकारी कसैले सामाजिक सञ्जालमार्फत बाहिर ल्याएको छ भने कानूनी उपचारको बाटो खाेजिहाल्नुपर्छ,” उनले भने ।

अर्काको वैयक्तिक पहिचानयोग्य विवरण सामाजिक सञ्जालमा कसरी राख्ने भन्ने कुराको सरकारी तहबाटै जनचेतना फैलाउन आवश्यक रहेकाे उनी बताउँछन् ।

“पासपोर्ट बन्यो भने नागरिकताको विवरण सहित पासपोर्ट तयार भयो भनेर सरकारी वेबसाइटमा नै आउँछ । तर, हाम्रो कानूनले नागरिकता, नागरिकता नम्बर, जन्ममिति र त्यहाँ भएका अन्य सम्पूर्ण विवरणलाई गोप्य सूचना मानेको छ । त्यसैले यस्ता वैयक्तिक पहिचानयोग्य विवरण भएका कागजात भेट्टाएको छ भने कि सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा बुझाउनुपर्ने हुन्छ । यदि सामाजिक सञ्जालमा राख्नु पर्‍यो भने वैयक्तिक पहिचानयोग्य जानकारी ब्लर गरेर राख्नुपर्ने हुन्छ,” उनले भने ।

त्यस्तै सामाजिक सञ्जालमा वैयक्तिक पहिचानयोग्य विवरण भएका कागजात शेयर गर्दा त्यसले डेटा चोरी र पहिचान चोरी हुनसक्ने साइबर सुरक्षा विज्ञ विवेक राणा बताउँछन् ।

“यस्ता विवरण सामाजिक सञ्जालमा राख्दा दुई किसिमका अपराध हुन सक्छन्,” राणा भन्छन्, “यसबाट एउटा डेटाको चोरी भइरहेको हुन्छ भने अर्को पहिचानको चोरी भइरहेको हुन्छ । विदेशी मुलुकमा पहिचानको चोरी भइरहेको पाइन्छ । नेपाल जस्तो देशमा त्यस्ता विवरणबाट डेटाको चोरी हुन्छ ।”

उनी अगाडि भन्छन्, “पहिचानको चोरी भनेको कसैले पनि तपाईँको वैयक्तिक पहिचान योग्य विवरण प्रयोग गरेर आफूलाई तपाईँ बनाइरहेको हुन्छ । त्यस्तै डेटाको चोरी भन्नाले वैयक्तिक पहिचानयोग्य विवरणको प्रयोग गरी सो व्यक्ति कहाँ बस्छ, उक्त विवरण कुन-कुन क्षेत्रमा प्रयोग भएको छ, सो व्यक्ति कुन क्षेत्रमा काम गर्छ लगायतका कुराको जानकारी चोरी हुन्छ ।”

विदेशतिर जसरी वैयक्तिक पहिचानयोग्य विवरणका माध्यमबाट पहिचान चोरी गरी साइबर अपराध हुन्छन्, नेपालमा त्यस्ता अपराध नभइसकेको राणाकाे बुझाइ छ ।

“नेपालको सन्दर्भमा भने डेटा चोरीका घटना बढी हुने छ । त्यस्ता डेटा चोरी गरेर प्रयोगकर्ताको ईमेल, अनलाइन तथा वित्तीय खातामा पहुँच पाउन सक्छन्,” उनले भने ।

सामाजिक सञ्जालमा उपलब्ध वैयक्तिक पहिचानयोग्य विवरण भएका कागजातको प्रयोग गरेर आपराधिक मानसिकता भएका व्यक्तिले त्यसमा आफ्नो वा अन्यकाे फोटो टाँसी दुरुपयोग गर्ने गरेको उनी बताउँछन् ।

“त्यसमा कसैगरी सो अपराध पुष्टि भएमा डेटा चोरी हुने मान्छे फस्न सक्छ । यसैगरी चोरी भएका नागरिकता वा पासपोर्टमा कतिपयले एडिट गरेर सो व्यक्तिले सरकारबाट वा विभिन्न निकायबाट पाउने सेवासुविधा आफूले लिनसक्छ । त्यस्तै यस्ता विवरणको दुरुपयोग गरी सिम निकालेर विभिन्न आपराधिक घटना हुनसक्छ,” उनले भने ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३