close

विश्व बजारमा अर्को सातादेखि आईफोन १४ बिक्री हुँदै, नेपालमा भने नआउने

टेकपाना टेकपाना

भदौ २३, २०७९ १७:४८

विश्व बजारमा अर्को सातादेखि आईफोन १४ बिक्री हुँदै, नेपालमा भने नआउने

काठमाडौं । एप्पलले बुधबार राति ‘फार आउट’ कार्यक्रम आयोजना गर्दै आईफोन १४ सिरिज सार्वजनिक गरेको छ । यसअन्तर्गत कम्पनीले आईफोन १४, आईफोन १४ प्लस, आईफोन १४ प्रो, आईफोन १४ प्रो म्याक्स सार्वजनिक गरेकाे हाे ।

एप्पलले आगामी हप्ता अर्थात् सेप्टेम्बर १६ देखि विश्वबजारमा आईफोन १४, आईफोन १४ प्रो र आईफोन १४ प्रो म्याक्सकाे बिक्री हुने जानकारी दिएकाे छ । त्यस्तै आईफोन १४ प्लस अक्टाेबर ७ देखि बिक्री गरिनेछ ।

अन्तर्राष्ट्रिय बजारमा आईफोन १४ सिरिजका फाेन बिक्री हुने तयारी गरिए पनि नेपाली बजारमा भने तत्काल नआउने भएको छ ।

हाल नेपालमा महँगा मोबाइल आयातमाथि राेक लागेका कारण आईफोनका कुनै पनि नयाँ माेडेल आउने छैनन् । सरकारले राजपत्रमा एक सूचना प्रकाशित गर्दै सरकारले असोज २८ गतेसम्म महँगा माेबाइल आयातमा प्रतिबन्ध लगाएकाे छ ।

यसअनुसार ३०० अमेरिकी डलरमाथिका अन्य मोबाइल पनि असाेज मसान्तसम्म नेपाल भित्रिने वैधानिक बाटो बन्द भएको छ ।

यसअघि वैशाख १३ गते ६०० अमेरिकी डलरमाथिका मोबाइल आयातमा लगाएको प्रतिबन्धको सीमा विस्तार गर्दै सरकारले साउन १ देखि ३०० अमेरिकी डलर माथिका मोबाइल आयातमाथि प्रतिबन्ध लगाएको हो ।

सरकारको यस किसिमको आयात प्रतिबन्धको असर सबैभन्दा धेरै आईफोन र अन्य महँगा माेबाइल फाेनमाथि परेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३