close

सेकेन्ड ह्यान्ड फ्रिज किन्दै हुनुहुन्छ ? यी कुरा ख्याल गर्नुहोस्

टेकपाना टेकपाना

भदौ २३, २०७९ २०:५८

सेकेन्ड ह्यान्ड फ्रिज किन्दै हुनुहुन्छ ? यी कुरा ख्याल गर्नुहोस्

काठमाडौं । हामीले आफ्नो घरायसी आवश्यकता पूरा गर्न कतिपय अवस्थामा सेकेन्ड ह्यान्ड अर्थात् प्रयोग भइसकेका उपकरण खरिद गरिरहेका हुन्छौँ ।

प्रायः नयाँ खरिद गर्दा महँगो पर्न जाने उपकरणहरू हामी सेकेन्ड ह्यान्डमा खरिद गर्न खोजिरहेका हुन्छौँ । त्यसमा धेरै सेकेन्ड ह्यान्ड खरिद गरिने उपकरणमध्ये एक हो, फ्रिज (रेफ्रिजेरेटर) ।

सेकेन्ड ह्यान्ड फ्रिज खरिद गर्दा धेरै कुरामा ख्याल राख्नुपर्ने हुन्छ, जसले गर्दा तपाईँ लामो समयसम्म प्रयोग गर्न सक्नुहुन्छ ।

सबैभन्दा पहिले आफ्नो ठाउँ मापन गर्नुहोस्

सेकेन्ड ह्यान्ड खरिद गर्दा सबै अवस्थामा रोजेर आफ्नो आवश्यकता अनुसार लग्न सकिन्छ भन्ने हुँदैन । नयाँ खरिद गर्दा आफ्नो ठाउँ खाली हुन्छ, त्यही आकारको खरिद गर्न सकिन्छ ।

तर, सेकेन्ड ह्यान्डमा त्यस्तो नहुन सक्छ । त्यसैले सबैभन्दा पहिले आफ्नो कोठा वा घरमा उक्त फ्रिजका लागि उपयुक्त ठाउँ खाली छ या छैन भन्ने कुरा मापन गर्नुहोस् ।

यदि खाली छ भने आफूले सेकेन्ड ह्यान्ड फ्रिज खरिद गर्नेबारे सोच्नुहोस् ।

मूल्य निर्धारण गर्नुहोस्

सेकेन्ड ह्यान्ड सामान विशेषगरी सस्तो परोस् भन्ने चाहनाले खरिद गरिएको हुन्छ । आफूलाई उपयुक्त हुन्छ भन्ने लाग्यो भने त्यसलाई कतिसम्ममा खरिद गर्दा ठीक हुन्छ भन्ने कुराको मूल्याङ्कन गर्नुहोस् ।

प्रयोग गरेको कति समय भयो, वारेन्टी कति बाँकी छ भन्ने कुरा ख्याल गरेर त्यही अनुसारको मूल्य निर्धारण गर्नुपर्ने हुन्छ । 

खरिद गर्नुअघि केही खोज गर्नुहोस्

सस्तो पाएँ वा नजिकै छ भन्दैमा कुनै पनि सामग्री हतार गरेर खरिद गर्न हुँदैन । यस्ता विद्युतीय उपकरण खरिद गर्दा केही खोज तथा अनुसन्धान गर्नुपर्ने हुन्छ ।

तपाईँले उक्त फ्रिजको नाम इन्टरनेटमा सर्च गरेर त्यससम्बन्धी आएका प्रतिक्रिया वा विश्लेषण अध्ययन गर्नु सक्नुहुन्छ ।

कतिपय ब्रान्डका फ्रिज लामो समयसम्म प्रयोग गर्दा बिग्रिरहेका घटना पनि हुन सक्छन् ।

त्यसैले आफूले खरिद गर्न लागेको फ्रिज कुन कम्पनीको हो, त्यसमा के-कस्ता विशेषता छन्, उल्लेख भएका फिचरमध्ये कति फिचरले राम्रोसँग काम गर्छन् भन्ने कुरा हेर्नुपर्ने हुन्छ ।

त्यसैले खरिद गर्नुअघि एकपटक मजाले त्यससम्बन्धी जानकारी लिएर फ्रिज जाँच्नुहाेस् ।

कुन ठाउँमा पाउन सकिन्छ होला ?

प्रयोग भइसकेका फ्रिज जहाँकहीँ खरिद गर्न नपाइन सक्छ । त्यसका लागि एक उपयुक्त साइट ‘हाम्रो बजार डटकम’ हुनसक्छ । फेसबुकको मार्केटप्लेसमा पनि सेकेन्ड ह्यान्ड फ्रिज बिक्रीका लागि लागिएको हुन्छ । साथै विभिन्न पसलहरूले पनि सेकेन्ड ह्यान्ड सामान राख्न सक्छन् ।

तपाईँले सेकेन्ड ह्यान्ड फ्रिज पाउने ठाउँ तपाईँको वरपर छिमेकी पनि हुनसक्छन् । फ्रिज सानो भएर वा आफू अन्तै बसाइँ सर्न लागेको भएर उनीहरूले बिक्री गर्न खोजिरहेका हुनसक्छन् ।

फ्रिज खरिद गर्नुअघि बिक्रेतासँग यी प्रश्न सोध्नुहोस्

कुनै पनि उपकरण सेकेन्ड ह्यान्डमा खरिद गर्दै हुनुहुन्छ भने सो व्यक्तिले किन बिक्री गर्न खोजिरहेको छ भन्ने कुरा बुझ्न आवश्यक छ । उसलाई पैसाको आवश्यकता भएर बिक्री गर्न लागेको छ भने छुट्टै कुरा ।

तर, यदि त्यो फ्रिज बिग्रिएको भएर बिक्री गर्न लागेको छ भने तपाईँलाई समस्या हुन्छ । त्यसैले सेकेन्ड ह्याण्ड फ्रिज खरिद गर्दा तल उल्लेख गरिएका प्रश्न सोध्न नबिर्सिनुहोस् ।

  • तपाईँ यो फ्रिज किन बेच्दै हुनुहुन्छ ?
  • यसमा केही खराबी छ ?
  • के तपाईँकै फ्रिज हो ?
  • यो कस्तो अवस्थामा छ ?
  • के यसका सबै पाटपुर्जा सही छन् ? यी पक्षबारे खोजी गर्नुहोस्

तपाईँले माथि उल्लेख गरेका कुराहरू ख्याल गर्नुभयो र खरिद गर्नेबारे सोच्नुभयो भने त्यसपछि पनि केही पक्षबारे जिज्ञासु हुनुपर्छ ।

उक्त फ्रिज खरिद गर्दा यी कुराहरू बारे बुझ्नुहोस् ।

फ्रिज प्रयोग भएको अवधि

तपाईँले सेकेन्ड ह्यान्डमा खरिद गर्न लागेको भए पनि उक्त फ्रिज अरूले थुप्रै पटक सेकेन्ड ह्यान्डमा बिक्री गरिसकेको हुनसक्छ । त्यसका लागि उक्त फ्रिज खरिद गरेको समय कति भयो, कतिपटक बिग्रियो वा कुन कुरा बिग्रिएको छ, त्यसबारे बुझ्ने प्रयास गर्नुहाेस् ।

सबैभन्दा महत्त्वपूर्ण कुरा त्यसको वारेन्टी हुन्छ । कतिपय अवस्थामा उक्त फ्रिज बनाउनुभन्दा नयाँ खरिद गर्नु नै फाइदाजनक हुन्छ ।

त्यसैले उक्त फ्रिज प्रयोगमा आएको कति भयो, त्यसको वारेन्टी छ वा छैन भन्ने कुरा ख्याल गर्नुपर्ने हुन्छ ।

त्यसमा हुने चिस्याइँको अवस्था

फ्रिज खरिद गर्नुको प्रमुख उद्देश्य नै वस्तुलाई चिसो राख्नका लागि हो । त्यसैले फ्रिजभित्र कति तापक्रम छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ ।

खानालाई सड्नबाट बचाउनका लागि फ्रिजको आन्तरिक तापक्रम शुन्य डिग्री फरेनाइट र ३८ डिग्री फरेनाइट हुन आवश्यक हुन्छ ।

त्यसबाट आउने गन्ध

यदि फ्रिजबाट एकपटक केमिकल मिसिएको दुर्गन्ध आउन थालेको छ भने त्यसबाट मुक्ति पाउन गाह्रो नै हुन्छ ।

त्यसैले सेकेन्ड ह्याण्ड फ्रिज खरिद गर्दा त्यस्तो कुनै किसिमको दुर्गन्ध नआएको सुनिश्चित गर्नुपर्छ ।

सिल ताेडिएको छ भने खरिद नगर्नुहोस्

फ्रिजमा कहिँबाट पनि बाहिरको हावाभित्र प्रवेश गर्ने ठाउँ भएमा त्यसले सही तरिकाले काम गर्दैन ।

विशेषगरी ढोका लिक भएको छ भने यस्तो समस्या आउँछ । त्यसैले सेकेन्ड ह्यान्ड फ्रिज खरिद गर्दा कतै पनि फ्रिज लिक नभएको सुनिश्चित गर्नुहोला ।
  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३