close

रहेनन् सहप्राध्यापक पुरुषोत्तम खरेल

टेकपाना टेकपाना

भदौ २४, २०७९ १४:५

रहेनन् सहप्राध्यापक पुरुषोत्तम खरेल

काठमाडौं । काठमाडौं विश्वविद्यालयका सहप्राध्यापक पुरुषोत्तम खरेलको निधन भएको छ । खरेलको आज बिहान काठमाडौं सिफलस्थित आफ्नै घरमा ६४ वर्षको उमेरमा निधन भएको हो ।

काठमाडौं विश्वविद्यालयमा करिब दुई दशक कम्प्युटर विज्ञान र सूचना प्रविधि विषयमा अध्यापन गरेका खरेल ब्रेन ट्युमर र क्यान्सर रोगबाट पीडित थिए ।

नयाँ दिल्ली र काठमाडौंका केही अस्पतालमा उपचारका लागि लगिए पनि निको हुन नसकेका उनी पछिल्लो केही महिनायता घरमै स्वास्थ्य लाभ गरिरहेका थिए ।

भेटेनरी विज्ञान पृष्ठभूमिबाट आईटी क्षेत्रमा प्रवेश गरेका खरेल सन् २००० मा बीआईएस (बिजनेश इन्फर्मेसन सिस्टम) को शिक्षकका रुपमा काठमाडौं विश्वविद्यालयमा जोडिएका थिए ।

केयूमै ‘एमटेक ईन आईटी’को पहिलो ब्याचका विद्यार्थीका रुपमा स्नातकोत्तर तह पूरा गरेपछि खरेलले उपप्राध्यापकका रूपमा काम गर्न थाले । त्यस्तै उनले ई-गभर्नेन्स विषयमा विद्यावारिधि हासिल गरे ।

केयूमा सी प्रोग्रामिङदेखि सिस्टम डिजाइन एन्ड एनलाइटिक्स लगायतका विषय अध्यापन गराएका उनले कम्प्युटर साइन्स इन्ड इन्जिनियरिङ विभागको प्रमुखका रूपमा समेत कार्य गरेका थिए ।

६० वर्षे उमेर म्यादका कारण केयूबाट चार वर्षअघि अवकाश पाएका उनी पछिल्लो समय बालकुमारीस्थित नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी) मा पूर्णकालीन शिक्षकका रुपमा कार्यरत थिए ।

पशुपति आर्यघाटमा आज नै उनको अन्त्योष्टि गरिने परिवारस्रोतले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३