काठमाडौं । टिकटकमा सबैभन्दा धेरै फलोअर भएका खाबी लेमले एक वर्षमै एक अर्ब रुपैयाँभन्दा बढी रकम कमाएका छन् ।
हालै फोर्बसले जारी गरेको प्रतिवेदन अनुसार लेमले टिकटकबाट सन् २०२१ मा एक करोड अमेरिकी डलर अर्थात् एक अर्ब २७ करोड रुपैयाँभन्दा बढी रकम कमाएका हुन् ।
२२ वर्षीय खाबेका हाल टिकटकमा १४ करोड ९४ लाख फलोअर छन् । उनी फोर्ब्सको २०२२ टप क्रियटरको सूचीमा आठौं स्थानमा छन् ।
सेनेगलमा जन्मिएका खाबे अहिले इटालीमा बस्छन् । कोरोना महामारीको बेला इटलीले पहिलो लकडाउन घोषणा गर्यो, तब टरेन सहरमा काम गर्ने खाबे लामेले आफ्नो जागिर गुमाए ।
नयाँ जागिरको खोजीको क्रममा रहँदा उनले त्यो महामारीको बेला समय कटाउन टिकटक बनाउन सुरु गरे । उनले सुरुमा नाच्ने, भिडिओ गेमहरू हेर्ने लगायत अन्य कमेडी भिडिओहरू बनाउन थाले ।
त्यतिन्जेल उनी त्यति चर्चित भइसकेका थिएनन् । त्यही क्रममा उनले टिकटकमा भएका लाइफ ह्याक भिडिओ अर्थात् दैनिक जीवनको कामलाई सहज बनाउनको लागि बनाइने भिडिओहरूको मजाक बनाएर टिकटक भिडिओ बनाउन सुरु गरे ।
उनका यस्ता भिडिओहरूलाई मान्छेले धेरै मन पराउन थाले र एकाएक उनी टिकटकमा चर्चित हुँदै गए । टिकटक मात्र होइन, अन्य सामाजिक सञ्जालहरूमा पनि उनको चर्चा हुन थाल्यो ।
रोचक कुरा त के छ भने आजसम्म उनले आफ्नो कुनै पनि भिडिओमा एक शब्द पनि बोलेका छैनन् । तर, पनि आज उनी टिकटकमा विश्वकै सबैभन्दा बढी फलोअर हुने व्यक्ति भएका छन् ।
यसरी टिकटककै कारण विश्वभर चर्चा कमाइरहेका खाबेले यही प्लेटफर्मबाट एक वर्षमै एक करोड डलर बढी कमाउन सफल भएका छन् ।