close

लगानीकर्तालाई अब अनलाइनबाटै सेवा

टेकपाना टेकपाना

भदौ २६, २०७९ ८:८

लगानीकर्तालाई अब अनलाइनबाटै सेवा

काठमाडाैं । विदेशी लगानीकर्ताले अबदेखि अनलाइनबाटै आफ्नो लगानी प्रस्तावको प्रक्रिया र प्रगतिबारे जानकारी लिन सक्ने भएका छन् ।

ठूला पूर्वाधार आयोजनामा वैदेशिक लगानी प्रवर्द्धन गर्दै आएको लगानी बोर्डको कार्यालयले यससम्बन्धी पूर्वाधार तयार गरिसकेको छ ।

लगानी बोर्डले २०७५ सालमा आयोजना गरेको अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा जनाएको प्रतिबद्धताअनुरूप भौतिक रूपमा एकल बिन्दु सेवा केन्द्र सञ्चालन गर्दैै आएकोमा अब यसलाई भर्चुअल (अभौतिक) स्वरूपमा विकास गरेको हो ।

उद्योग विभागले पनि त्रिपुरेश्वरस्थित आफ्नो कार्यालय परिसरमा एकल बिन्दु सेवा केन्द्र सञ्चालन गर्दै आएको छ । बोर्डले निर्माण गरेको सो प्रणालीमा विदेशी लगानीकर्ताले नेपालमा लगानी गर्न आवदेन गरेदेखि नै पहुँच पाउने छन् ।

त्यस्तो प्रस्तावमा सरोकार राख्ने सरकारी विभाग तथा निकायले पनि सोही प्रणालीमा प्राप्त आवेदन विवरण तथा कागजातका आधारमा सहजीकरण तथा अन्य नियामकीय प्रक्रिया पूरा गर्नुपर्ने छ ।

प्रणालीमा लगानी बोर्डसहित नेपाल राष्ट्र बैङ्क, अर्थ मन्त्रालय, ऊर्जा मन्त्रालय, वन तथा वातावरण मन्त्रालयजस्ता करिब १५ सरोकारवाला निकायलाई आबद्ध गरिएको छ ।

यो प्रणाली कार्यान्वयनमा आएपछि अब विदेशी लगानीकर्ताले आफूले गरेको प्रस्ताव कुन निकायले अध्ययन गरिरहेको छ र के कस्ता विषयलाई थप प्रस्टीकरण गर्नुपर्ने हुन्छ भन्ने स्पष्ट जानकारी पाउनेछन् ।

बोर्डले आगामी बुधबारदेखि राजधानीमा आयोजना गर्न लागेको दिगो पूर्वाधार लगानी मञ्चका अवसरमा यो प्रणालीको उद्घाटन गर्ने तयारी गरेको छ ।

बोर्डले ओएसएस डट आईबीएन डट ओराजीमार्फत यो सेवा दिनेछ । बोर्डले बुधबार आयोजना गर्न लागेको लगानी मञ्चमा नेपालमा बन्ने पूर्वाधारलाई दिगो र वातावरणमैत्री बनाउँदै लगानी विषयमा पनि छलफल गरिँदै छ ।

सार्वजनिक निजी साझेदारी प्रवर्द्धनमार्फत दिगो विकासलाई प्रेरित गर्दै अधिकतम लाभ सुनिश्चित गर्ने विषयमा स्वदेशी तथा विदेशी लगानीकर्ता नीति निर्माता वित्तीय साझेदार तथा अन्य विज्ञबीच परामर्श हुनेछ ।

-गाेरखापत्र

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३