close

भारतीय दूरसञ्चार कम्पनीले फाइभजी पूर्वाधारमा २५ खर्ब लगानी गर्ने

टेकपाना टेकपाना

भदौ २६, २०७९ ११:३३

भारतीय दूरसञ्चार कम्पनीले फाइभजी पूर्वाधारमा २५ खर्ब लगानी गर्ने

काठमाडौं । भारतीय दूरसञ्चार सेवा प्रदायकले सन् २०२५ भित्र फाइभजीमा १९.५ बिलियन डलर अर्थात् करिब २५ खर्ब रूपैयाँ लगानी गर्ने अनुमान गरिएको छ ।

भारतमा हालै अक्सनबाट फाइभजी फ्रिक्वेन्सी वितरणको काम सकिएको छ । भने, केही समयपछि दूरसञ्चार सेवा प्रदायकले व्यावसायिक सुरुवात गर्ने तयारी गरेको छन् ।

यस्तोमा सन् २०२५ भित्र कम्पनीहरूले फाइभजी पूर्वाधारमा करिब २५ खर्ब लगानी गर्ने दूरसञ्चार क्षेत्रको अध्ययन गर्दै आएको अन्तर्राष्ट्रिय संस्था जीएसएमएले जनाएको छ ।

जीएसएमएले हालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार भारतका लागि फाइभजी निकै महत्त्वपूर्ण सावित हुनेछ ।

फाइभजीमार्फत भारतले सन् २०२३ देखि सन् २०४० सम्म ४५५ बिलियन डलरको फाइदा लिने अनुमान प्रतिवेदनले गरेको छ । भने, फाइभजी भारतको हरेक महत्त्वपूर्ण क्षेत्रमा प्रयोगमा आउने छ ।

विशेषगरी नयाँ एप्लिकेसन र उत्पादनमूलक उद्योगमा फाइभजीको प्रयोग उल्लेख्य रुपमा हुने अनुमान गरिएको छ । यो क्षेत्रले फाइभजीबाट भारतले पाउने फाइदाको २० प्रतिशत हिस्सा ओगट्ने बताइएको छ ।

साथै आईसीटी र कृषि क्षेत्रमा पनि फाइभजीको प्रयोग उल्लेख्य रुपमा हुने अनुमान गरिएको छ ।

तर, यसका लागि हाल दूरसञ्चार सेवा प्रदायकले प्राप्त गरेको फ्रिक्वेन्सी भने अपुग हुने जीएसएमएले जनाएको छ । जीएसएमएका अनुसार भारत सरकारले हाल दुई ओटा सेवा प्रदायकलाई ई–ब्याण्डमा २५० मेगाहर्जमात्रै उपलब्ध गराएको छ ।

यो भारतको फाइभजी बजारका लागि अवश्यक पर्ने फ्रिक्वेन्सीको तुलनामा निकै कम हो । त्यो हुँदा कम्पनीहरूले आवश्यक मात्रामा गति र गुणस्तरीय सेवा उपलब्ध गराउन नसक्ने दाबी जीएमएमएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३