close

त्रिविको बीआईटीमा भर्ना खुल्यो, कस्तो छ यो कोर्ष ?

टेकपाना टेकपाना

भदौ २६, २०७९ १२:३४

त्रिविको बीआईटीमा भर्ना खुल्यो, कस्तो छ यो कोर्ष ?

काठमाडाैँ । शैक्षिक सत्र २०७९ का लागि त्रिभुवन विश्वविद्यालयले ब्याचलर ईन इन्फर्मेसन टेक्नाेलाेजी (बीआईटी) मा नयाँ भर्ना खुलाएकाे छ ।

त्रिविकाे विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय, बल्खुले एक सूचना जारी गर्दै यसबारे जानकारी दिएकाे हाे ।

यस विषयमा भर्ना हुन इच्छुक विद्यार्थीले विज्ञान तथा प्रविधि अध्ययन संस्थानकाे वेबसाइटमा रहेकाे बीआईटी प्रवेश परीक्षाकाे लिङ्कमा गएर अनलाइन फाराम भर्नसक्ने छन् ।

इच्छुक विद्यार्थीले भाेलि साेमबार (भदाै २७) देखि कात्तिक १५ गतेसम्म अनलाइन आवेदन दिन सक्नेछन् ।

साथै याे समयमा भर्ना आवेदन छुटेका विद्यार्थीले कात्तिक १६ गतेदेखि कात्तिक २१ गतेसम्म दाेब्बर दस्तुरमा भर्ना गर्न सक्नेछन् ।

यस विषयकाे प्रवेश परीक्षा कात्तिक २६ गते हुनेछ ।

यस विषय अध्ययनका लागि विज्ञान पृष्ठभूमि अनिवार्य छैन । माध्यमिक तह (कक्षा ११ र १२) मा व्यवस्थापन अर्थात् १०० पूर्णाङ्कको अंग्रेजी र गणित विषय लिएर ती दुवै विषयमा ‘सी’ ग्रेडसम्म ल्याउने विद्यार्थीले पनि बीआईटी पढ्न पाउँछन् ।

त्रिभुवन विश्वविद्यालयले २०७६ सालदेखि बीआईटी कार्यक्रम सुरु गरेको हो । त्रिविले पहिलोपटक पाटन क्याम्पसमा यो कार्यक्रम सुरू गरेको थियो ।

त्रिविले सम्बन्धन दिएका देशभरका कलेजमा बीआईटी प्रोग्रामका लागि न्यूनतम ३६ जनाको कोटा निर्धारण गरेको छ ।

बीआईटी अध्ययन गर्न चाहने विद्यार्थीले इन्सिच्युट अफ साइन्स एण्ड टेक्नोलोजी (आईओएसटी) त्रिविको परीक्षा उत्तीर्ण गरी नाम निकाल्नु पर्नेछ ।

त्रिविको पाठ्यक्रम अनुसार बीआईटीमा सूचना प्रविधि बाहेकका अर्थशास्त्र तथा समाजशास्त्रजस्ता कोर्ष पनि समेटिएको छ ।

प्रत्येक सेमेस्टरको क्रेडिट आवर १५ घण्टा रहेको छ । अन्तिम सेमेस्टरमा विद्यार्थीका लागि इन्टर्नशिपको व्यवस्था पनि गरिएको छ भने ८ सेमेस्टरमा केही इलेक्टिभ कोर्ष पनि समावेश गरिएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३